‘साइकलको फलफूल व्यवसायलाई सटरमा ल्याएँ’


पाँच वर्षअघि राजधानीको सडकमा साइकलमा डुलाएर फलफूल बिक्री गर्न थालेँ। मैले आफ्नो व्यवसाय नै त्यसरी सुरु गरेको हुँ।

नयाँ बानेश्वर क्षेत्रमा साइकलमा डुलाएर मैले फलफूल बेच्थेँ। साँझपख चोकमा बसेर बिक्री गर्थेँ।

६ महिनादेखि मैले सटर नै भाडामा लिएर व्यवसाय गर्न थालेँ। सटरमा व्यवसाय गरेपछि भाडा पनि तिर्नुपर्यो। साइकलबाट पनि मैले करिब दैनिक २ हजार रुपैयाँको फलफूल बेच्थेँ।

साइकलबाट बेचेको फलफूलको नाफा जोगाउँदै गएँ। पछि अलि ठूलो व्यवसाय गर्ने हिसावले सटर भाडामा लिएँ।

सटर लिइसकेपछि मेरो व्यवसाय फलफूलमा मात्रै सीमित भएन। मैले यहाँ सबै फलफूलको जुस तथा लस्सी बनाएर बेच्ने गर्छु। प्याकेटमा तयारी जुसहरु पनि बेच्ने गर्छु। गर्मी सिजनमा जुस र लस्सीको राम्रो व्यापार हुन्छ।

सटर भाडामा लिएर व्यवसाय गरेपछि दैनिक ५ हजारजतिको कारोबार हुन थालेको छ। जाडो सिजनमा फलफूल र जुसको व्यापार कम हुन्छ। हिजोआज गर्मी सिजन सुरु भएसँगै जुस र लस्सीको व्यापार बढेको छ।

सबैजसो लस्सीको मूल्य प्रतिगिलास ६० रुपैयाँ छ। उखुको जुस पनि धेरै बिक्छ।

फलफूल व्यवसायमा अलि बढी नै जोखिम छ। स्टोर गर्न नजानेमा फलफूल बिग्रन सक्छ। फलफूल बिग्रिएमा धेरै नै नोक्सान हुन्छ। अर्कोतर्फ ग्राहकले छनौट गर्दा नङले कोट्याउने, थिच्ने गर्छन्। यसले फलफूल बिग्रन्छ।

फलफूल व्यवसाय गर्नका लागि ठूलो सटर पनि चाहिँदैन। मैलेजस्तै साइकलमै व्यवसाय गरेका साथीहरु पनि छन्। साइकलबाहेक सुरुमा ८÷१० हजारको लगानीबाटै यस्तो व्यवसाय गर्न सकिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.