(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले पढ्न मिल्ने गरी खुला गरेका छौं।)
भाग ३
सपनाबाट दस गज मात्रै पर थिए, सोहन वली।
‘तँ सपनाको सहर छिर्नै लागिस्, कति निन्याउरो अनुहार लगाउँछस्? अब त खुसी हो!’
साथीले सोहनको पिठ्युँमा बाक्लो हत्केला बजारे। ढ्याप्प धाप मारे।
विशालकाय पर्खाल पछाडि उभिएका थिए, सोहन।
‘हँ! यत्रो एक बाँस अग्लो पर्खाल पो नाघ्नुपर्ने!’
भीमकाय पर्खालमा आँखा पर्नासाथ सोहनको मनमा एक तमासको स्याँठ चल्यो। चिसो सिरेटोसँगै सपनामाथि छपप्कै तुसाराले ढाक्ने हो कि भनेर मन कुँजो पनि भयो।
उनलाई चार फिट नाघ्न पनि मुस्किल पर्थ्यो, ३० फिट अग्लो पर्खाल कसरी नाघ्नु!
तर आत्तिनै परेन।
दुई पाइला अगाडि के बढेका थिए, पर्खालको टुङ्ग्याउँनी देखियो, जहाँ एउटा पर्खाल टुंगिएर अर्को सुरू भएको थियो। दुई पर्खालको बीचमा होडे परेको भाग थियो, जहाँ एउटा पैताला मुस्किलले अटाउँदो हो। त्यही करायेँ परेको खाली ठाउँबाट मानिसहरू फुत्तफुत्त भित्र छिरिरहेका थिए। पातला ज्यानकाहरू सुलुत्त सुलुत्त छिर्थे। बाक्लो-चाक्लो ज्यानकाहरू बीचमै अड्कन्थे। अनि पछाडिकाले दुई मुक्की लगाएर भित्र घचेट्थे।
स्वाद लिई लिई हेरिरहेका थिए सोहनले यो दृश्य।
‘के ट्वाल्ल परिरा... भित्र छिरिहाल्!’
साथीले हप्काइहाले।
‘ए! सपनाको सहर पस्ने ढोका यही पो रहेछ!’
चित खाँदै सोहन हुलमुलमा मिसिए। अरूका पैताला पछ्याउँदै अगाडि सरे।
छरितो ज्यानका सोहन सियोले धागो पसेको चाल नपाएझैं सुत्तै भित्र पसे।
एघार महिनाको नित्य कामनापछि उनी सपनाको दुनियाँमा प्रविष्ट भए।
यो कथा शृंखलाको अघिल्ला दुई भागमा हामीले तल्लो बाटो हुँदै अमेरिका जानेहरूको लर्कोले रित्तिँदै गरेको सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसी भेगको कथा प्रस्तुत गरेका थियौं। यसपालि लुकिछिपी अमेरिका छिर्न सफल व्यक्तिहरूको कथा सुनाउँदैछौं। यसका लागि हामीले नेपालबाट विभिन्न देश हुँदै अमेरिका पुगेका झन्डै १० जनासँग कुरा गर्यौं।
उनीहरू कसरी अमेरिका पुगे? अमेरिकी सीमा नाघेपछि उनीहरूको सपना पूरा भयो कि भएन? उनीहरू के गर्दैछन् त्यहाँ? के उनीहरू एकै प्रयासमा अमेरिकी भूमि टेक्न सफल भएका थिए?
सोहन वलीको कथा उनीहरूको साझा भोगाइ हो।
उनी पहिलोचोटि ३० फिट अग्लो पर्खाल छिचोलेर अमेरिका छिरेको २०७७ मध्य–मंसिरमा हो।
त्यसरी सजिलै अमेरिका छिर्न पाएपछि उनले सम्झिएजति भगवानलाई धन्यवाद दिएका थिए। चालीस लाख ऋण पत्याउने बैंक र ३० लाख ऋण पत्याउने साहुलाई झन् धेरै धन्यवाद दिएका थिए। ती उनलाई भगवानभन्दा अग्ला लागेका थिए।
उनले आकाशतिर आँखा फर्काए, अनि दुवै हात फिजाउँदै शिरमाथि पुर्याएर अनन्य कृतज्ञ भावले नमस्कार गरे।
काँडाले पनि नकोरी पस्न पाएकोमा पैतालामुनिको अमेरिकी माटोप्रति पनि माया उम्लिएर आयो।
‘ल ल धेरै नफुर्की, अब अमेरिकन प्रहरी आउँछ, कस्टडीमा हालेपछि चाल पाउँछस्, सजिलै छिरियो कि दुःख सुरू भयो!’
‘प्रहरी हिरासत....!’
थाप्लामा चट्याङले हानेझैं झल्याँस्स भए सोहन।
जस्केलाबाट अमेरिका होइन, दुःखको गर्तमा छिरेझैं लाग्न थाल्यो उनलाई।
हिरासतभित्र भोग्नुपर्ने सम्भावित दृश्यको कल्पनाले उनलाई चक्कर लाग्लाझैं भयो। घरपरिवारको सम्झना तीखो भएर आयो। च्वास्सच्वास्स मुटु घोच्न थाल्यो।
‘आमाबाको एक लबटो पनि नभेटेको छोरो जेलभित्र बन्दी बन्ने भो!’
उनलाई त्यही चौरमा घोप्टिएर क्वाँक्वाँ रून मन लाग्यो।
‘के सबै हिरासत क्रूर र यातनादायी नै हुन्छन् र? अन्तर्वार्ता पास भएर भोलि नै बाहिर निकाल्दियो भने त अमेरिका बस्ने बाटो खुलिहाल्यो नि! आहा! म त अमेरिकी नागरिक!’
मनले मनैलाई सम्झाएपछि पुलकित भए सोहन।
डेढ घन्टापछि अमेरिकी प्रहरीको गस्ती भ्यान आयो। भ्यानबाट चार-पाँच जना प्रहरी ओर्लिए र अंग्रेजीमा के-के भन्न थाले।
सोहनले उनीहरूको रफ्तारको अंग्रेजी बुझेनन्।
‘ह्वेर आर यू फ्रम?’ उनले यति मात्रै अड्कल काटे र टुटेफुटेको अंग्रेजीमा भने, ‘फ्रम नेपाल।’
प्रहरीले खासै ध्यान दिएनन्।
कर्यापझ्याप पारेर भ्यानमा खाँदिहाले।
सोहनको साथमा पासपोर्ट र अरू कागजात थिए। जर्मनीबाट मेक्सिको हुँदै आएको प्रमाण पासपोर्टमा जीवित थियो। त्यही देखेर अमेरिकी अध्यागमनले उनलाई भोलिपल्टै टिकट काटेर जर्मनी डिपोर्ट गरिदियो।
यसरी जर्मनीबाट मेक्सिको हुँदै अमेरिका छिर्न खोज्ने समूहमा उनीसँगै दस जना थिए। अमेरिकी अध्यागमनले ती सबैलाई जर्मनी फिर्ता पठाइदिएको थियो।
सोहनले अमेरिकी सपना बोकेर नेपालबाट जर्मनी पुग्न पनि कम सास्ती भोगेका थिएनन्। उनको आँखासामु वर्षदिनयताका घटना कहाली बनेर नाच्न थाले।
बिना खानापानी नेपाली लगायत सयौं आप्रवासी पैदल यात्रा गरेर अमेरिका पुग्ने गरेका छन्। यात्रा गर्दा कतिपयले बाटोमा ज्यानसमेत गुमाउने गरेका छन्। तस्बिर: भालेरी म्याकन/एएफपी२०७६ को माघेठन्डीमा आँखा चिसा पार्दै घर छाडेका थिए, सोहनले। घरको संघार नाघेर सपनाको जँघार पस्नुअघि उनलाई आमाले भनेकी थिइन्, ‘विदेशमा चाहिँ पैसा टिप्ने रूख हुँदैन, दुःख परे घर छँदैछ। धक नमानी फर्कनू!’
देशको पो सिमाना हुन्छ, दुःखको किनारा कहाँ भेट्नू!
देश छाडेपछि थाप्लामाथि दुःखका कति बादल मडारिए, त्यसको साँधीसीमा थिएन।
दलालका हातमा पाँच लाखको गड्डी थमाएर दुबईको भिसा लगाएका सोहनले सोचेका थिए — एक महिनाभित्र अमेरिका ओर्लिन्छु! त्यसपछि नाथे पैसा त आकाशबाट फुरौलासरी बर्सन्छ!
दुबई विमानस्थलमा ओर्लिएपछि नै उनले आधाआधी थाहा पाइहाले — मरूस्थलतुल्य विदेशमा पैसा होइन, पाइलैपिच्छे कष्ट सिवाय केही बर्संदो रहेनछ!
‘आजभोलि भन्दाभन्दै एजेन्टले सात महिना अल्झायो। फर्कौं आधाआधी पैसा बुझाइसकेको छु, बसौं एक महिना लामा दिन कसरी बिताउनू!’ उनले त्यति बेलाका दुःख सुनाए।
अमेरिकाको सपनाले रिंगाएर दुबई ओर्लिएका थिए उनी। त्यहाँबाट रूसको भिसा लगाउनुपर्थ्यो। दलालको ओठमा भोलि–भोलि सिवाय अरू झुन्डिएको थिएन। नसक्ने भए फर्काइदिनू भनेर उनले अनुनय नगरेका पनि होइनन्। कतिञ्जेल जाँचकीको आँखा छल्नु! जाँचकी छिरेपिच्छे कति शरीर कुर्सीमुनि लुकाउनु! नक्कली टिकट देखाएर जाँचकीको आँखामा कति छारो हाल्नु!
हत्तुहैरान नै भए उनी।
बगलीमा एक हजार अमेरिकी डलर बोकेका थिए। फारो नगरे बेखर्ची हुने भय त्यत्तिकै थियो। चौबीस घन्टामा एकपटक फुक्का पाउरोटीको भरमा प्राण अड्याए।
‘साढे सात महिनापछि रूसको भिसा लगाएछ। बल्ल साढे सातको दशा काटेझैं भयो,’ उनले आफ्नो पीडा पोखे।
उनी दुबईबाट पर्यटक भिसामा रूसको मस्को अवतरित भए। त्यहाँबाट जर्मनीको भिसा लगाउने, ट्रान्जिट मेक्सिको राख्ने र त्यहीँबाट अमेरिका छिर्ने दलालले देखाएको बाटो थियो।
महिनादिनभित्र अमेरिका छिराएको दृष्टान्त सुनाउँदै दलालले उनको कानमा चिनी हालेका थिए।
दलालले चखाएको गुलियो चिनीले फुरूंग परेका सोहनको सपनामा दुबईमै ठेस नलागेको होइन। तै पनि रूस पुगेपछि दलाल बदलिने हुँदा उनको अनुहारको सन्नाटा पनि बदलिएको थियो।
के को हुन्थ्यो!
मस्कोमा पनि उही दशा आइलाग्यो।
दलालले दुई दिनमै जर्मनीको भिसा लाग्छ भनेका थिए। दस दिनमा पनि भिसा झर्ने छाँट देखिएन।
नियतिले दुबईकै दशा सामुन्नेमा ल्यायो।
दुबई विमानस्थलमा झैं अनेकानेक हर्कत गरेर जाँचकीको आँखा छल्नुपर्ने भयो।
‘दिनको एकपटक चेक गर्न विमानस्थलमा खटिएका सुरक्षाकर्मी आउँथे। फेला पारिहाले दलालले मिति परिवर्तन गर्दै पठाएका नक्कली टिकट देखाउँथ्यौं र उम्कन्थ्यौं। पत्ता लगाए पक्राउ परिने डर हुन्थ्यो। सकेसम्म सिटमुनि लुकेर जोगिन्थ्यौं,’ उनले त्यहाँको दुःख सुनाए।
कल्पनाको उडान भर्दै दुःखको भासमा पुगेकाहरू मस्को विमानस्थलमा दस-बीसको आँकडामा होइन, सयौंको संख्यामा थिए। उनीहरूको अनुहारको कलेवर भिन्न भए पनि आँसुका रङ साझा थिए। अमेरिका पुगिछाड्ने सपना र संघारका दुःख साझा थिए।
‘रूस पुग्दा अरू दस–बीस लाख खर्च भइसकेको थियो,’ उनले निरूपाय भाव पोखे, ‘दलालको चंगुलमा परिसकेकाहरू कसरी उम्कन सक्छन् र दाइ?’
लुकिछिपी बिताउनुपर्ने रातको कहर अझै कहालीलाग्दो छ। अधिकांश रात उनीहरूले सिटमुनि बिताए। जाँचकी आउने भय बढेका बेला शौचालयभित्र ढोका लगाएर जोगिनुपर्थ्यो।
यसरी साढे तीन महिनाको कहर काटेपछि बल्ल जर्मनीको भिसा लाग्यो। त्यहाँबाट मेक्सिको ट्रान्जिट पारेर सपनाको देश पसेका सोहन आखिरमा डिपोर्ट भएर जर्मनी नै फर्काइए।
घुमिफिरी रूम्जाटारको नियति हात लाग्यो!
दलालले भनेका थिए, ‘कथम् डिपोर्ट भइहाले, त्यही पैसामा अमेरिकी सीमा कटाइनेछ। बाँकी बाटो आफैं खोज्नू!’
मेक्सिको सीमाको संघार पुग्नुअगावै दलालले कबोलेजत्तिको रकम लिइसकेको थियो — पूरापूर ६० लाख रूपैयाँ।
फेरि त्यति नै पैसा थप्नुपरेको भए सातपुस्ता घरङ्घाट हुन्थ्यो। बिक्रीयोग्य जायजेथा बैंकमा धितो राखेर र महँगो व्याज काढेर उनले सपनाको उडान भरेका थिए। पैसा थप्नुपर्ने भए कहाँबाट जुटाउनु!
सम्झेरै खङ्ग्रङ्ग भएका थिए उनी।
यस्तो अवस्थामा दलालले पहिले बुझाइसकेकै पैसामा पुनः मेक्सिको बोर्डर कटाइदिने आश्वासन दिएपछि बल्ल उनको कण्ठ उघ्रियो। लामो सास फेरे।
तर एकचोटि डिपोर्ट भइसकेका सोहन अब फेरि कसरी अमेरिका पस्न सक्थे? यो चाहिँ नियतिलाई बाहेक अरू कसैलाई थाहा थिएन। आफैंले हिँड्न चाहेको बाटोको दुःख अब नभोगी सुख पनि थिएन।
पहिलो प्रयास विफल भएपछि दलालले दोस्रो बाटो पहिल्याए — जर्मनीबाट अफ्रिकी देश गाम्बिया पुर्याउने र त्यहाँबाट स्पेन हुँदै पुनः मेक्सिको ट्रान्जिट पार्ने।
गाम्बियामा नेपालीलाई अनअराइभल भिसा दिइने हुनाले दलालले सहज उपाय निकालेका थिए।
‘उनीहरूको योजनाअनुसार नै गाम्बियाको भिसा लाग्यो। त्यहाँ गएर हामी १५ दिन बस्यौं,’ सोहनले सुनाए।
अफ्रिका पुगेपछि ल्याटिन अमेरिकी देश क्युबाको भिसा लगाइयो र टर्की हुँदै क्युबा पुर्याइयो।
क्युबा पुगेपछि नेपालको टिकट राखेर स्पेनको भिसामा छाप लाग्यो।
‘अब बोलिभिया हुँदै हिँडेर मेक्सिको पुग्नुपर्ने भयो,’ दुई साता स्पेन बसेपछि दलालले भने।
अमेरिकी सपनाको चंगुलमा परेका सोहनले दुर्लंघनीय दुःख व्यहोर्न बाँकी नै थियो।
निरूपाय हुँदै उनी दलालले डोर्याएको बाटोमा हिँडिरहे।
स्पेनबाट उनीहरू जहाजमार्फत् बोलिभिया झरे। बोलिभियामा पनि नेपालीलाई अनअराइभल भिसा दिइन्छ। त्यसैले प्रक्रिया झन्झटिलो हुने कुरा भएन।
अनअराइभल भिसा दिए पनि त्यहाँबाट अर्को देश जाने सुविधा भने हुँदैन। एउटा देशबाट अर्को देश पुर्याउने काम दलालहरूले लुकाइछिपाइ नै गर्छन्, सोहनले आफ्नो यात्रा वृत्तान्त सुनाउँदै भने, ‘यसरी देश फेर्दा आफूलाई चिन्न सहज होस् भनेर ठाँवैपिच्छे फोटो खिचेर दलाललाई दिनुपर्छ। देशको सीमा नाघ्दा कहीँ हिँडेर जानुपर्छ, कहीँ बसमा, कहीँ त मोटरसाइकलमा पनि कुदाइन्छ।’
उनको जहाजसँगको यात्रा बोलिभिया पुगेर टुंगिएको थियो। त्यहाँबाट अगाडिको यात्रा अझ दुस्तर थियो।
सोहनले अमेरिका पुग्ने मृत्युमार्गबारे थाहा नपाएका होइनन्। हरर चलचित्रका मुटु कमाउने दृश्यजस्तो दुर्लंघ्य बाटोबारे पनि नसुनेका होइनन्। तर त्यो आफ्नै भागमा पर्ला भनेर उनले चिताएका थिएनन्।
उनीहरूलाई बोलिभियाको एउटा होटलमा राखिएको थियो। सहरको पार्श्व भागमा रहेको कुनै ग्राम्य इलाकामा।
दस–बाह्र दिन त्यहाँ बसेपछि उनीहरू दलालको आदेशानुसार होटलबाट बाहिर निस्किए। कम्पाउन्डमा मात्र के आइपुगेका थिए, तीन–चार जना अपरिचित आएर उनीहरूलाई झ्यापझुप गाडीमा हाले।
वायुवेगमा दौडाए।
‘त्यसरी गाडीमा कोच्दा हामीले अपहरणमा पर्यौं भन्ठानेका थियौं। गाडीभित्र बसेपछि पो थाहा भयो, ती त दलालहरू नै रहेछन्। प्रहरीले सुइँको नपाओस् भनेर त्यसरी दौडाएको रे!’ उनले अचम्भित हुँदै सुनाए।
दलालहरूले बोलिभियाबाट बस चढाएर १ हजार ४ सय ६८ किलोमिटर टाढा पेरू पुर्याए। पेरूबाट इक्वेडर र इक्वेडरबाट कोलम्बियासम्मको यात्रा पनि बसमै हुँदो रहेछ। कसै-कसैलाई घोडा र मोटरसाइलमा हालेर पनि पुर्याइन्छ। बसबाट ओर्लिएर दुई-चार ठाउँमा सुरक्षा जाँच पार गर्नुपर्ने हुन्छ। बाटामा तैनाथ सुरक्षाकर्मीले मानवीय सहायता दिँदैनन्। घोडा र मोटरसाइकल प्रयोग चाहिँ सुरक्षाकर्मीको आँखा छल्न गरिँदो रहेछ।
कोलम्बियाबाट पानामा पस्ने ठाउँ संसारकै खतरनाक मानिन्छ। त्यो ठाउँको खास नाम ‘डेरियन ग्याप’ हो। अवैध बाटोबाट अमेरिका पस्ने नेपालीहरूले त्यसलाई मृत्युमार्ग नामकरण गरेका छन्। चारकोसे झाडी र धापको बीचमा आकण्ठ जाकिँदै यात्रा गर्नुपर्ने। करोडौं पैतालाले खुँदेर धाप तुल्याएको बाटामा गाडिएर कैयनका इहलिला त्यहीँ टुंगिएका छन्। घामसमेत पस्न डराउने जंगलमा जीवजन्तुको भय हुने नै भयो।
‘त्यस्तै परे त्यसरी अमेरिका हिँडेकाहरूका साथबाट रूपैयाँ–पैसा सबै लुटिन्छ। हामी चाहिँ त्यस्तोमा परेनौं। तर कैयन नेपालीहरू त्यसरी लुटपाटमा परेको हामीलाई सुनाउँथे,’ उनले त्यहाँको कहर सुनाउँदै भने, ‘बाटोमा सजिलो होस् भनेर दलालहरूले ठाउँ-ठाउँमा त्रिपाल त टाँगेका हुन्छन्, तर बाह्रैमास पानी परिरहने ठाउँमा कहीँ पनि अडिएर बस्न सकिँदैन। जंगली जनावर आएर खाइदिने भय हुन्छ। सकी-नसकी हिँड्नैपर्ने हुन्छ।’
यति मात्र होइन, दलालहरूले एकसरो ओढ्ने प्लास्टिक र एकजोर प्लास्टिकको बुट पनि थमाएका हुन्छन्। तर दर्के झरी त्यसले ओत्दैन। काँडेदार वन-बुट्यानमा घस्रिएर हिँड्नुपर्ने भएकाले दस पाइला हिँड्नेबित्तिकै चाल्नु भइहाल्छन्। शरीर निथाचुर्ण हुन्छ।
सातादिनसम्म त्यही भिजेको लुगामा गन्तव्यकृत हुँदै उनीहरूले अमेरिकी सपना जीवित राख्छन्।
उनका अनुसार घना जंगलबीच एउटै नदी दसौंपटक तर्नुपर्ने हुन्छ। दूधे शिशु कोखिलामा च्यापेर आमाहरू सकी-नसकी हिलोमा पैताला घिसारिरहेका हुन्छन्। काखे शिशुका कारूणिक चित्कार र क्रन्दनले बाटै चहर्याइरहेको भान हुन्छ। वन-बुट्यानका जरामा खुट्टा अल्झिएर मुटु नै बाहिर आउलाजस्तो हुन्छ।
कसैले त हिरिकहिरिक गर्दै त्यहीँ आफ्नो अन्तिम सास फेर्छन्।
‘हात समातेर हिँडेको श्रीमानलाई खोलाले चुँडेर लान्छ। श्रीमती त्यही खोलामा आँसुको भल मिसाउनबाहेक केही गर्न सक्दिनन्,’ सोहनले आँखोदेखा हाल सुनाए, ‘काखमा जतनले च्यापेको शिशु फुत्त खोलामा खस्छ। उसको च्याँ च्याँ आवाज नदीमा सेलाउँदै जान्छ। आमा आफ्नै भाग्यलाई धिक्कार्दै दौडेर अलि तलसम्म पुग्छिन्।’
जति दौडिए पनि धमिलो पानीमा बगिरहेको शिशु छोप्न सकिँदैन। नदीमा खसेको शिशुलाई धमिलो आँखाले ठम्याउन छाडेपछि आमा आकाशतिर हात फैलाएर सम्झिएजत्ति भगवानलाई सराप्छिन्।
र, लुगाको फेरले आँसु पुछ्दै अमेरिकाको सपना पछ्याउन थाल्छिन्।
मृत्यु सँगसँगै हिँडेको आभाष हुने धापमा अडिएर रूने फुर्सद नै कसलाई हुन्छ र!
सात दिन लामो डेरियन ग्यापको यात्रामा यस्ता विदारक दृश्य त कति हो कति आँखामा आउँछन्। ती दृश्यले अहिले पनि सोहनको मुटु मसक्क कस्सिन्छ।
यसरी पानामाको क्याम्प-१, क्याम्प-२ छिचोल्दै कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै तल्लो बाटो अमेरिका हिँडेकाहरू मेक्सिकोको तापाचुला पुग्छन्।
पानामाको क्याम्प-१ र क्याम्प-२ छिचोलेपछि कैयन आप्रवासीहरू उत्सव मनाउँछन्। यात्रामा रहेका युगलहरू प्रेम पस्किएर आस्वादित हुन्छन्।
‘अमेरिका पुगियो भनेर होइन, धन्न बाँचियो भनेर!’ उनले भने, ‘मेक्सिकोको तापाचुला पुगेपछि पनि दुःख त सकिँदैन।’
तापाचुलामा हरेक समय हजारौं संख्यामा आप्रवासीहरू हुन्छन्। झन्डै सातादिन त्यहाँ राखेपछि ठूलो लरीमा मेक्सिको सिटी पुर्याइन्छ।
‘एउटा ट्रकमा तीन–चार सय मानिस चढाउँदा रहेछन्। दलाल राम्रो पर्यो भने उनीहरूका मान्छेले सिट पनि पाउँदा रहेछन्। हामीले त उभिन पनि पाएनौं,’ उनले भने, ‘झन्डै आठ घन्टा त्यसरी यात्रा गर्नुपर्यो!’
पानामाको जंगलपछि सबभन्दा कष्टदायी यात्रा त्यही हो।
लरीको यात्राअघि सामान्य खानेकुरा दिइन्छ। दलाल गतिलो परेन भने त्यही पनि पाइँदैन। दिसापिसाब नलागोस् भनेर औषधि पनि दिइन्छ। त्यसरी औषधि खाएकाहरू मेक्सिको सिटी पुग्दासम्म आलसतालस भइसक्छन्। डम्म पेट फुलेका कति त हल न चलको अवस्थामा पुग्छन्।
मेक्सिको सिटीमा अर्को तीन–चार दिन होटलको बास हुन्छ। त्यसपछि अमेरिकाको सीमामा पुर्याएर उनीहरूसँग कबोलेबमोजिम रकम असुलिन्छ।
‘मेक्सिको बोर्डर पुग्नअगाडि नै पैसा बुझाइसकेको भए पनि थप पैसा मागेर हैरान गर्छन्,’ सोहनले सुनाए, ‘नदिनेलाई कुटपिटसमेत गर्दा रहेछन्।’
यस्ता अनेक दुःख, हन्डर र गोता छिचोल्दै कबोलेभन्दा १० लाख बढी, अर्थात् ७० लाख भुक्तान गरेपछि २०७९ भदौ ४ गते सोहन फेरि अमेरिकी सीमाछेउ पुगे।
२०७६ माघमा घरबाट निस्केको ३० महिनापछि उनी दोस्रोपटक अमेरिका छिर्दै थिए।
सामुन्ने नाली थियो। त्यहाँबाट पार हुनासाथ अमेरिका पुगिन्थ्यो। अघिल्लोभन्दा सहज ‘चोर बाटो’ थियो त्यो। तर खोई किन हो, उनलाई क्वाँक्वाँ रून मन लाग्यो! मृत्युमार्गमा हिँडाउने सपनालाई धिक्कार्न मन लाग्यो।
थर्रर कामेको मुटु काबुमा राखेर उनले नाला नाघे।
र, अमेरिका छिरे।
डेढ घन्टाजति चौरमा बसेपछि अमेरिकी प्रहरीहरू आइपुगे। उनीहरूले कागजपत्र मागे। सोहनसँग शरीरमा एकसरो लुगा र अर्को एकसरो लुगा राखिएको झोलाबाहेक केही थिएन।
प्रहरीले उनलाई नियन्त्रणमा लियो। भ्यानमा राखेर एउटा कोठामा राख्यो। नाम, थर, वतन र देश सोध्दै अध्यागमनका अधिकारीले एउटा फारम भरे। त्यसपछि उनलाई अर्को कोठामा पुर्याइयो, जहाँ चोर बाटो अमेरिका छिरेकाहरूको हुलै थियो। त्यो भीडमा नेपालीहरू पनि थुप्रै हुँदा हुन्। थकानले लखतरान उनले अरूको अनुहारमा आँखा पुर्याउन सकेनन्।
यसपटक पनि डिपोर्ट हुनुपर्ला भन्ने भयले मुटु पहिलो दिनदेखि नै कुँजो थियो। तर अमेरिकामा सरकार परिवर्तन भएको र राष्ट्रपति जो बाइडनको मौजुदा सरकारले आप्रवासीप्रति नरम नीति लिएको दलालहरूले बताएकाले उनी केही हदसम्म ढुक्क थिए। अघिल्लोपटक उनी डिपोर्ट हुँदा आप्रवासीप्रति कडा नीति लिएका डोनाल्ड ट्रम्पको सरकार थियो।
एक महिनापछि अध्यागमनले उनलाई जर्जिया स्टेटको हिरासतमा सार्यो।
त्यहाँ सुत्न र ओढ्न एक प्रकारको झिलझिले (कागज) दिइएको हुन्थ्यो। घरपरिवारसँग सम्पर्क गर्न टेलिफोन सुविधा पनि दिइएको थियो। बेला बेला अध्यागमनका प्रहरी आउँथे। उनीहरूले दुर्व्यवहार त गर्दैनथे, तर ‘नेपाली होइनौ, मेक्सिकन माफिया हौ कि क्या हो?’ भन्दै तिखा प्रश्नले घोच्थे।
‘त्यति बेला भित्तापट्टि फर्किएर धरधरी रून्थेँ,’ उनले भने, ‘पछि त त्यो पनि छाडेँ। कति रूनु!’
तीन महिनापछि उनी हिरासतमुक्त हुने भए।
अध्यागमनले सम्पर्क व्यक्ति को छ भनेर सोध्यो।
उनले गाह्रो गरी आफन्तको नाम भने।
‘कष्टकर यात्रा र हिरासतको बसाइले मेरो मन थिलोथिलो भइसकेको थियो। अमेरिका बस्न पाउँदैछु भन्दा पनि मेरो मन रमाएन,’ सोहनले मन अमिल्लिएको कुरा सुनाए।
आफन्तले टिकट काटिदिएपछि उनी सिधै टेक्सासको अस्टिन पुगे।
उनी त्यत्तिकै हिरासतमुक्त भएका भने होइनन्। त्यसका लागि ५ लाख ३३ हजार नेपाली रूपैयाँ धरौटी बुझाउनुपरेको उनी बताउँछन्।
यो त भयो सोहनको नेपालदेखि अमेरिकासम्मको यात्रा वृत्तान्त।
यसरी नेपाल लगायत मुलुकहरूबाट अवैध बाटो अमेरिका छिराउन अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ, जसले संसारभर आफ्नो सञ्जाल विस्तार गरेको छ। नेपालको दूरदराजसम्म ती सञ्जालका सदस्य फैलिएका छन्। तिनै दलालहरूको चंगुलमा सिन्धुपाल्चोकको भोटेकोसी, बाह्रबिसे, रूकुम, रोल्पा, दाङ, म्याग्दी लगायत जिल्लाका युवा परिरहेका छन्।
दलालहरूलाई पैसा बुझाउने सिलसिला नेपालबाटै सुरू हुन्छ। पाँचदेखि दस लाख रूपैयाँ र पासपोर्ट बुझाएर सुरू हुने सिलसिला रूटमा पर्ने देशैपिच्छेका दलाललाई पैसा भुक्तान गर्दै मेक्सिकोको सीमामा पुगेर टुंगिन्छ। एउटा देशबाट अर्को देशको सीमामा प्रवेश गरेपछि दलालहरूको समूह बदलिन्छ। त्यसरी देशैपिच्छे भुक्तान गर्दै जाँदा एक जनाले ७० देखि ८० लाख रूपैयाँसम्म बुझाउँछन्।
संयुक्त राज्य अमेरिकामा शरण खोज्ने आप्रवासीहरू सन् २०२३ डिसेम्बर ५ मा मेक्सिकोको चिहुआहुआ राज्यको सिउडाड जुआरेजबाट रियो ग्रान्डे पार गर्दै। तस्बिर: हेरिका मार्टिनेज/एएफपीअब प्रश्न उठ्छ — जुन सपना साँचेर उनीहरू अमेरिका पुग्छन्, के अमेरिका पुग्नासाथ त्यो सपना साकार हुन्छ?
के सोहनले अमेरिकी भूमिमा टेक्नासाथ पैसा टिप्ने रूख भेटे? कि आमाले भनेजस्तो पैसा टिप्ने रूख कहीँ हुँदैन रहेछ भन्ने चाल पाए?
हामीले यही प्रश्न सोध्दा सोहन साह्रै खिन्न सुनिए।
उनी खिन्न हुनुको कारण छ — किनभने, दुस्तर यात्रा छिचोल्दै अस्टिन पुगेपछि उनलाई तावाबाट झरेर भुंग्रोमा परेजस्तो भान भएको थियो।
गाउँको विद्यालयबाट बाह्र कक्षा उत्तीर्ण गरे पनि सोहनको अंग्रेजी सुरूदेखि नै राम्रो थिएन। अमेरिकाको ३० महिना लामो दुस्तर यात्रामा बचेखुचेको अंग्रेजी पनि स्वाहा भइसकेको थियो।
अमेरिकाको संघार पस्नेबित्तिकै भाषाको कठिनाइ सुरू भइहाल्यो।
‘फर्रर अंग्रेजी बोल्न नआउँदा जहाँ पनि मुन्टो लुकाएर हिँड्नुपर्ने भयो,’ उनले पीडा सुनाए।
यति मात्र होइन, तल्लो बाटो अमेरिका जानेलाई त्यहाँ ‘दोस्रो दर्जा’ को मान्छेका रूपमा हेरिँदो रहेछ र त्यसैअनुसार निकृष्ट व्यवहार गरिँदो रहेछ।
उनले दुई महिनासम्म त केही कामै पाएनन्।
‘६० लाख ऋण आमाबाबुको थाप्लोमा हालेर अमेरिका गएको छोराले फेरि घरबाट पैसा माग्नुपर्दा मलाई कस्तो भयो होला दाइ?’ उनले भावुक हुँदै भने, ‘मरेकै जुनी हुँदैन त!’
सबभन्दा ठूलो कुरा त, तल्लो बाटो अमेरिका जानेहरूको श्रम इजाजत र सामाजिक सुरक्षा नम्बर हुने कुरा भएन। यी दुवै नभएकाले अमेरिकामा काम पाउन दुरूह छ। त्यसरी अवैध ढोकाबाट छिर्नेहरूलाई अमेरिकीहरूले कामै दिँदा रहेनछन्। एसियनहरूकै भर पर्नुपर्दो रहेछ।
श्रम अनुमति पाएका, सामाजिक सुरक्षा नम्बर पाएकाहरूले मासिक ५ हजार ५ सयदेखि ६ हजार डलरसम्म कमाउँछन्। श्रम इजाजत नपाएकाहरूले भने त्यसको आधा कमाउन पनि मुस्किल हुन्छ। अमेरिकामा श्रम इजाजत पाउन कम्तिमा १८० दिन लाग्छ।
‘अवैध बाटोबाट अमेरिका आएकालाई चिनियाँ, भारतीय, कोरियन, जापानिज आदिले मात्रै काम दिँदा रहेछन्। श्रम अनुमति पाएकाले घन्टामा १५–१६ डलर कमाउँदा रहेछन्,’ उनले भने, ‘अनुमति नपाएकाले बढीमा १०–१२ डलर मात्रै पाउँदा रहेछन्!’
यसबाहेक अरू दुःख पनि छ।
अवैध बाटोबाट अमेरिका गएकाहरूले न्यूनतम वेतनमा प्रायः ग्यास स्टेसन (पेट्रोल पम्प), स्टोर, रेस्टुरेन्ट आदिमा मात्र काम पाउँछन्।
‘मैले दुई महिनापछि बल्लबल्ल रेस्टुरेन्टमा काम पाएको थिएँ,’ सोहनले अमेरिकाको दर्द सुनाए, ‘तर भनेजस्तो पैसा नपाएपछि दुःख उस्तै! बाह्र–चौध घन्टा काममा जोत्तिँदा पनि ऋण तिर्न र खान धौधौ हुन थाल्यो!’
दुई महिनाअघि मात्रै श्रम इजाजत पाएका सोहनले अहिले स्टोरमा काम पाएका छन्। सातै दिन काममा जोतिनुपर्छ। एकछिन उभिएर ढाड सीधा पार्न पनि समय पाउँदैनन्। हरेक क्षण ग्राहकले घेरिएका घेरियै हुन्छन्।
‘दिनमा १२ घन्टा काममा फालीझैं जोत्तिँदा पनि साता दिनमा एक हजार डलर कमाउन मुस्किल हुन्छ,’ उनले रूँलाझैं गर्दै भने, ‘अमेरिका हेर्दा सुख, भोग्दा दुःखै दुःख पो रहेछ दाइ!’
उनका अनुसार न्यूयोर्कको तुलनामा टेक्सास सस्तो छ। पछिल्लो महँगीले त्यहाँ पनि आकाश छोएको छ। आप्रवासीहरू थपिँदै गएकाले कोठा पाउनै मुस्किल भएको अर्का नेपाली लकेश श्रेष्ठले सुनाए।
‘मासिक १५ सयदेखि २ हजार डलरसम्म कोठालाई नै बुझाउनुपर्ने हुन्छ। ६–७ सय डलर खानामा खर्च हुन्छ। बीमा लगायतको खर्च कटाउँदा मासिक दुई हजार डलर बचाउन पनि धौधौ हुन्छ,’ उनले भने, ‘यति कमाएर ऋण कसरी तिर्नु!’
जहाँसम्म श्रम इजाजत लगायतका कागजपत्रको कुरा छ, वैध बाटोबाट अमेरिका छिरेकाहरूलाई कागजपत्र मिलाउने झन्झट हुँदैन। त्यहाँको प्रणालीले उनीहरूलाई चिनिहाल्छ। त्यहीअनुसार श्रमसम्बन्धी सर्त तय हुन्छ। अवैध बाटो रोज्नेहरू भने अमेरिका छिर्नेबित्तिकै कागजपत्रको झन्झटमा पर्छन्। मेक्सिको सीमामा पासपोर्ट च्यातेर छिर्ने हुनाले अमेरिका पस्नासाथ कागजातको खाँचो परिहाल्छ। त्यसका लागि पाँच सयदेखि हजार डलरसम्म खर्च हुने सोहन बताउँछन्।
पासपोर्ट लगायतका कागजात जुटेपछि बैंकमा खाता खोल्ने प्रक्रिया सुरू हुन्छ। त्यसपछि बल्ल उनीहरू वैधानिक कामदारका रूपमा दरिन्छन्।
कामदारका रूपमा दरिएपछि पनि कर प्रणालीले सातो खान्छ।
‘मासिक १३ सय डलर कमाउनेले सात सय डलरभन्दा बढी त करै बुझाउनुपर्दो रहेछ। यसरी अमेरिकी सिस्टमको हिस्सा बनेर कर तिर्दै, पैसा कमाउँदै गर्दा हातमा बच्ने त कति हुन्छ र!’ उनले भने, ‘मैले महिनाको साढे दुई लाख रूपैयाँ हाराहारी सावाँ–ब्याज बुझाउनुपर्छ। जति हाड घोटेर काम गर्दा पनि यहाँ कमाएको पैसाले ऋण तिर्ने भनेको कहिले हो कहिले!’
‘त्यसैले धेरैका लागि अमेरिकी सपना सपनामै परिणत हुन्छ,’ उनले भने।
सोहनले पछिल्लो डेढ वर्षमा आफ्नो ऋण जम्माजम्मी दस लाख घटाएका छन्। अझै ६० लाख तिर्न बाँकी छ। आफ्नै ऋणको बाँधा भएर कतिञ्जेल अमेरिकामा घोटिनुपर्ने हो, उनलाई थाहा छैन।
‘आज मेरो खातामा कसैले ५० लाख हाल्दिन्छ भने म तुरून्तै नेपाल आउँथेँ दाइ! त्यति छाती पोलेको छ। अमेरिका भनेर हुन्छ र, यहाँको दुःख कि भगवानलाई थाहा छ कि मलाई थाहा छ,’ २३ वर्षकै उमेरमा भुक्तमान भइसकेका र अमेरिकी सपनाले थलिएका सोहनले भने।
उनले छाती चिर्ने अर्को वेदना पनि सुनाए —
दुई महिनाअघि मात्रै दाङका उनका साथीकी आमा बितिन्। घरबाट तुरून्तै आउनू भन्ने खबर आयो। घरको एक्लो छोरो भएकाले परिवारले जोडबल गर्नु अस्वाभाविक थिएन। तर तल्लो बाटो अमेरिका गएर शरणार्थीको दर्जामा बसिरहेका उनी कसरी नेपाल फर्कनसक्थे!
आखिर परिवारले छोराबिनै आमाको दाहसंस्कार गर्यो। कोराभित्र पनि अरू नै बस्नुपर्यो!
अमेरिकाबाट यो सब सुनिरहेका छोराको मन कसैगरी थामिएन। उनी ‘आमाको दूधको भारा कसरी तिर्नू’ भन्दै भक्कानिइरहे। बलिन्द्रधारा आँसु बगाइरहे।
‘आमाको आत्माले मलाई कत्ति खोज्यो होला! आमा मर्दा पनि नआउने छोरो के काम भनेर समाजले भन्यो होला। थुक्यो होला! ऊ यसै भन्दै अहिले पनि सपनामा बर्बराइरहन्छ,’ बेलसरी पोखिए सोहन, ‘मैले उसलाई त सम्झाउन सकेको छैन, आफ्नो ललाटमा पनि त्यस्तै लेखिएको छ कि भनेर झसंग झसंग भइरहन्छु।’
‘अब भन्नुस् हाम्रो के हालत छ?’ सोहनले प्रश्न गरे।
जस्तो हालत बेहोर्नुपरे पनि अमेरिका छिर्नेहरूको एक मात्र सपना ग्रिनकार्ड हो। आफूले जस्तोसुकै दुःख भोग्नुपरे पनि एकचोटि ग्रिनकार्ड हात परेपछि सन्तानको भविष्य सप्रिन्छ भन्ने आसमा उनीहरू बत्तीमा पुतली झुम्मिएझैं गोलचक्कर काटिरहन्छन्।
ग्रिनकार्ड पाउनु सोचेजस्तो सजिलो भने छैन।
अवैध बाटो अमेरिका जानेलाई ग्रिनकार्ड दिलाउने भनेर कानुनवेत्ताहरू ठाउँठाउँमा कार्यालय खडा गरेर बसेका हुन्छन्। भारतीय र नेपाली वकिलको प्रतिस्पर्धै छ, कार्यालय खडा गर्नेमा। एक हजार डलर भुक्तान गरेपछि उनीहरूले कागजात जुटाएर अदालती प्रक्रिया सुरू गर्छन्। तर अदालती प्रक्रिया पार गरेर ग्रिनकार्ड हात पर्नु भनेको उही पानामाको जंगल हिँडेजस्तै हो, एउटै खोला बीसौंपटक तर्नुपर्ने।
संयोग मिल्यो भने कसैको कार्ड छिट्टै बनिहाल्छ। नबन्नेहरू भाग्यलाई धिक्कार्दै वकालत केन्द्र धाइरहन्छन्।
‘मैले पनि वकिललाई ग्रिनकार्डका लागि सम्पूर्ण काजगात बुझाइसकेको छु। वकिलले हुँदैछ त भन्छ, तर अदालतमा कहिले सुनुवाइ हुन्छ, प्रक्रिया कहाँ पुगेको छ, केही थाहा हुँदैन,’ सोहनले विलौना गरे, ‘अमेरिका होइन दाइ, कुहिरोभित्र बाटो नपाएको कागझैं भएको छु। कहिलेकाहीँ त सोच्छु, धत् कहाँ आएर फसेँ!’
ग्रिनकार्डको गोलचक्करबाट उम्किएर कमै मानिसहरू इष्टमित्र–नरनाताको सम्पर्कमा पुग्न पाउँछन्। यसबीच श्रम इजाजत र भरपर्दो कामसँग जोडिएपछि घर र गाडीको मोहले तानिहाल्छ। टाढा श्रम क्षेत्र हुनेका लागि त गाडी अनिवार्य हुन्छ। र, जब घर-गाडी जोडिन्छ, तब किस्ताको जीवन आरम्भ हुन्छ।
‘सामान्य सुविधाको गाडीलाई पनि २० हजार डलरभन्दा बढी पर्छ। अवासका लागि तीसवर्षे किस्तामा घरहरू पाइन्छन्। एउटा घरको मूल्य पाँच लाख डलरभन्दा माथि नै पर्छ,’ उनले भने, ‘किस्तामा घर र गाडी लिएपछि जीवनको रफ्तार त बढ्छ, तर सुख–चैन क्षीण हुँदै जान्छ।’
‘मान्छे मेसिनमा परिणत हुन्छ,’ उनले अगाडि भने, ‘साँवा–व्याज तिर्दैमा मान्छे बूढो भइसक्छ!’
तल्लो बाटो हुँदै अमेरिका छिरेकाहरू सबै जना मोटामोटी यस्तै जीवन बाँचिरहेको सोहन सुनाउँछन्। अस्टिन क्षेत्रमा मात्र आफूजस्ता तीन सय बढी नेपाली रहेको उनको भनाइ छ।
उनका अनुसार अहिले दलालहरूले बाटो थोरै बदलेका छन्। एयरलाइन्स कम्पनीसँग सेटिङ मिलाएर मेक्सिकोबाट अमेरिका छिराउने क्रम बढेको छ। गत कात्तिक २८ गते अमेरिकी अध्यागमनको हिरासतमै मृत्यु भएका सिन्धुपाल्चोक बाह्रबिसे–६ का सुवास श्रेष्ठ मेक्सिको ट्रान्जिट राखेर नेपालबाट जापान उडेका थिए। अपराध अनुसन्धान महाशाखाले पनि नक्कली कागजात खडा गरेर भिजिट भिसामा विभिन्न देश पठाउन अध्यागमन र एयलाइन्स कम्पनीका कर्मचारीहरू नै संलग्न रहेको जनाएको छ।
अहिले पनि दुबईमा झन्डै तीन सय नेपालीहरू तल्लो बाटो अमेरिका जान विभिन्न देशका भिसा कुरिरहेका छन्। उनीहरूमध्ये कोही पानामाको जंगल हुँदै हिँडेर, कोही मेक्सिको ट्रान्जिट पारेर अमेरिका छिर्न तपस्या गरिरहेका छन्।
शृंखलाको आगामी भागमा हामी मानव तस्करको सञ्जाल कसरी नेपालका गाउँबस्तीमा पुग्यो र यो सञ्जालले कसरी काम गर्छ भन्नेबारे चर्चा गर्नेछौं।
(मुख्य पात्रको अनुरोधमा हामीले नाम परिवर्तन गरेका छौं।)
***
यो शृंखलाका अन्य स्टोरीहरू पढ्नुस्ः