गोल्छा समूहले नवलपुरको देवचुलीमा औद्योगिक तथा अटोमोबाइल लुब्रिकेन्ट उत्पादन गर्ने 'सर्भो प्लान्ट' सञ्चालनमा ल्याएको छ।
इन्डियन आयल कर्पोरेसनसँगको सहकार्यमा स्थापना गरिएको उक्त उद्योग बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
समूहका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत उत्पादन सुरू भएको जानकारी दिँदै नेपालमा उच्च गुणस्तरका लुब्रिकेन्ट उत्पादन गर्ने बताएका छन्।
देवचुलीस्थित उक्त प्लान्टले प्रत्यक्ष रूपमा करिब १५० जनालाई रोजगारी दिने उल्लेख छ।
यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै सीप विकास र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने विश्वास गरिएको छ।
यो उद्योग सञ्चालनसँगै लुब्रिकेन्टजस्ता अत्यावश्यक औद्योगिक सामग्रीको आयातमा केही हदसम्म कमी आउने अपेक्षा गरिएको छ।
दीर्घकालमा यसले देशको औद्योगिक आत्मनिर्भरता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएको छ।