एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तनका सवालमा चासो राखेका छन्।
अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर खनालसँग बिहीबार भएको भेटमा राजनीतिक परिवर्तन र सुशासनको विषयमा चासो राखेका थिए।
अर्थमन्त्री खनालले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण बनाउन दृढ रहेको बताए।
उनले एशियाली विकास बैंकले खासगरी पूर्वाधार विकासका क्षेत्रमा नेपाललाई लामो समयदेखि गर्दै आएको योगदान प्रशंसनीय रहेको बताए।
मन्त्री खनालले एशियाली विकास बैंकको लगानीमा हाल निर्माण भएका ठूला पूर्वाधार आयोजनाबारे जानकारी समेत दिएका थिए। उनले अध्यक्ष कान्दालाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन्।
अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा चासो राखे। उनले उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको जानकारी गराएका छन्।
अर्थमन्त्री खनालले बिहीबार नै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहका गभर्नरहरूको बैठकमा नेपालमा जलविद्युत् उत्पादन र सूचना प्रविधि पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरे।
विकास आयोजनाको कार्यान्वयनमा ढिलाइ भएको चर्चा गर्दै मन्त्री खनालले विश्व बैंकलाई आयोजना कार्यान्वयनका मापदण्ड र निर्देशिकालाई थप सरल बनाउन सुझाव दिए।
मन्त्री खनालले वित्तीय क्षेत्रको स्थायित्वका लागि तयार गरिने विश्वव्यापी मापदण्ड बनाउन आवश्यक रहेको बताए।
तर, कार्यान्वयनका क्रममा कुनै देश विशेषको स्थानीय आवश्यकता र परिवेशलाई पनि उत्तिकै ध्यान दिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आग्रह गरे।