जेन–जी प्रदर्शनपछिको पुनर्निर्माण र राहतका लागि कतिपय व्यक्ति तथा संस्थाले पनि पैसा उठाउन थालेपछि अर्थ मन्त्रालयले सबैलाई सचेत गराएको छ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सहिद भएकाहरूको परिवारलाई राहत र घाइतेहरूको उपचारका लागि संकलित सहयोग रकम विभिन्न गैरसरकारी संस्थामा अपारदर्शी तरिकाले जम्मा भइरहेकोमा अर्थले चासो राखेको सूचना मार्फत जानकारी गराएको हो।
समानान्तर ढंगले स्रोतको प्रयोग हुन नदिन, संकलित रकमको दुरूपयोग हुनबाट रोक्न र त्यसलाई पारदर्शी तथा जबाफदेही तरिकाले परिचालन गर्न आग्रह गरिएको छ। यसका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ।
यस कोषमा जम्मा भएको रकम राहत र पुनर्निर्माणका साथै जेन–जी सहिद तथा घाइते परिवारका प्रतिनिधिहरूको सहभागितामा नै प्रयोग गरिने उल्लेख गरिएको छ।
योगदान रकम जम्मा गर्ने खाताको नाम भौतिक पूर्वाधार पुनर्निर्माण कोष हो। यसको खाता नम्बर राष्ट्रिय वाणिज्य बैंकको १९६०१०११०२०७०००४ र स्विफ्ट कोड RBBANPKA छ।
अर्थ मन्त्रालयले यो सूचना दोस्रो पटक सार्वजनिक गरेको हो।
विभिन्न व्यक्ति तथा संस्थाले पुनर्निर्माण गर्ने भनेर पैसा उठाउने गरेपछि संकलित रकम दुरूपयोग हुन नदिन र सबैलाई सरकारी खाताको जानकारी दिन सूचना निकालिएको अर्थका अधिकारीले बताएका छन्।