पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार नगरसभामा बजेट वक्तव्य वाचन गर्दैगर्दा आर्थिक विकास महाशाखाले बजेट लेख्दै थियो।
उपप्रमुख गुरूङले बजेट वक्तव्य पढिसक्दा समेत महाशाखाले आगामी आर्थिक वर्ष आफ्नो क्षेत्राधिकारको बजेट लेखेर सकेन। बजेट वक्तव्य वाचनमा महाशाखाको वार्षिक कार्यक्रम र बजेट छुट्यो। वक्तव्यमा महाशाखाले हेर्ने कृषि, पशुपंक्षी, पर्यटन लगायतका विषय छुट्यो। महानगरले साँझपख वक्तव्यमा नआएको विषय समेटेर बजेट प्रकाशित गर्यो।
उपमेयर गुरूङले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिन्। बजेट पढ्दै गर्दा पनि नगर सभामा अस्वाभाविक दृश्य देखियो।
उनले बजेट वाचन गर्दैगर्दा कर्मचारीहरू कागजका पाना लिएर उपमेयरलाई रोक्दै अर्को पाना थमाउँदै थिए। यो पाना पढ्नुस्, त्यो नपढ्नुस् भनिरहेका थिए। उपमेयर गुरूङले भने सबै पाना पढिन्। कुनै दोहोर्याइन्। सिङ्गो आर्थिक महाशाखा छुट्यो।
बजेटमा आगामी आर्थिक वर्ष कति रकम पुँजीगत खर्च हुन्छन्, कति रकम चालु खर्चका लागि विनियोजन गरिएको छ भनेर अहिलेसम्म छुट्याइएका छैनन्। जबकी, बजेटमा चालु र पुँजीगत खर्च अनिवार्य विनियोजन गर्नुपर्ने हुन्छ।
महानगरका वित्त महाशाखा प्रमुख जयराम पौडेलले महानगरका जनप्रतिनिधिहरू र विषयगत समितिहरूले समयमा कार्यक्रम नबनाउँदा यस्तो कमजोरी देखिएको बताउँछन्। कर्मचारीलाई दोष दिनभन्दा पनि बजेट निर्माण प्रक्रिया चरणबद्ध नहुनु र अन्तिम समयमा हतारो गर्दा यस्ता कमजोरी देखिएको उनले बताए।
आगामी आर्थिक वर्षको बजेट बनाउन जेठ मसान्तभित्र प्रस्तावित कार्यक्रम पेस गर्न महानगरका विषयगत समिति, महाशाखाहरू र वडा कार्यालयहरूलाई पत्राचार गरेको उनले बताए। तर कसैले पनि उनले पत्राचार गरे अनुसार जेठ मसान्तभित्र वार्षिक कार्यक्रम र बजेट प्रस्ताव गरेनन्। वार्षिक कार्यक्रम र बजेट नेपाल सरकारले उपलब्ध गराएको सफ्टवेयर ‘सूत्र’मा प्रविष्ट नगराउँदा चालु र पुँजीगत बजेट छुट्याउन नसकिएको उनले बताए।
‘चालु र पुँजीगत खर्च निकाल्न बजेट बनाउँदा नै वार्षिक कार्यक्रम र बजेट सूत्रमा प्रविष्ट गर्नुपर्ने हुन्छ, बजेट ल्याउँदासम्म प्रविष्ट गर्न सकिएन,’ उनले भने, ‘बल्ल कार्यक्रम प्रविष्ट गरिँदैछ, सूत्रमा सबै कार्यक्रम प्रविष्ट भएपछि मात्र चालु र पुँजीगत रकम निकाल्न सकिन्छ।’
बजेट ल्याउनुपूर्व नै गर्नुपर्ने कार्य बजेट ल्याइसकेपछि गर्नुपरेको उनले बताए। बजेट ल्याउन हतार भएकाले कमजोरी देखिएको उनको स्वीकारोक्ति छ।
बजेट बनाउँदा विषयगत समिति, महाशाखा र वडाहरूलाई तोक्नुपर्ने सिलिङ तोक्न ढिलाइ भएको, बजेट तर्जुमा समितिको बैठक पनि बजेट ल्याउने दिन बस्नुपरेको लगायतका कारण पनि बजेटमा बेथिति देखिएको जनप्रतिनिधिहरू नै बताउँछन्।
महानगरका एक अधिकृतका अनुसार, आइतबार नै बजट तर्जुमा समितिको बैठक बसेर सिलिङ तोक्ने र बजेटको अंक निर्धारण गरिएको थियो। जबकी, उक्त बैठक जेठभित्र बसेर वडादेखि विषयगत समिति र महाशाखाहरूलाई बजेटको सिलिङ तोकेर वार्षिक बजेट तथा कार्यक्रम बनाउन निर्देशन दिनुपर्ने हुन्थ्यो।
महानगरका मेयर धनराज आचार्यको बेवास्ताले बजेट तर्जुमा समितिको बैठक बस्न ढिलाइ भएको जनप्रतिनिधिहरू बताउँछन्। जसले गर्दा बजेट वक्तव्यमा छुट्नै नहुने आर्थिक महाशाखाका वार्षिक कार्यक्रम र बजेट नै छुट्यो। बजेटमा चालु र पुँजीगत खर्च छुट्टिएन।
पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले पर्याप्त तयारी नगरीकन हतारमा बजेट ल्याउनुपर्दा लतारपतार भएको बताए। महानगरका मेयर आचार्यले चीन भ्रमणमा जान यस्तो हतारो गरेको उनले बताए ।
‘मेयरसाब चीन जान हतारो गर्नुभयो, समयमै बजेट बनाउन चासो दिनुभएन,’ उनले भने, ‘हतारमा लतरपतर गरेर बजेट आयो।’
महानगरका मेयर आचार्य बजेट ल्याएकै दिन आइतबार चीन जानका लागि पोखराबाट काठमाडौं हानिएका थिए ।
बजेट ल्याउन मेयर आचार्य बिहान बजेट तर्जुमा समितिको बैठकबाट बजेटको सिलिङ तोकेका थिए। बजेटको अंक निर्धारण गरी बार्षिक कार्यक्रम स्वीकृति गर्न दिउँसो कार्यपालिका बैठक राखे। कार्यपालिका बैठक दिउँसो १ बजे सकिएको थियो। लगत्तै दिउँसो २ बजे बोलाइएको नगरसभामा उनले वार्षिक नीति तथा कार्यक्रम पेस गरे। द्रुत गतिमा नीति तथा कार्यक्रम पेस गरेर मेयर आचार्यकै हतारोले सोही दिन आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको थियो।
बजेट प्रस्तुति सकिएलगत्तै मेयर अचार्य र प्रमुख प्रशासकीय अधिकृत हेम आचार्य चीन जान नगरसभाबाट सिधै विमानस्थल पुगेका थिए।
‘मेयर साब र हाकिम साब चीन जान झोला बोकर आउनुभएको रहेछ, नगरसभा हतारहतार सकेर उहाँहरू सिधैं एयरपोर्ट जानुभयो,’ महानगरका एक अधिकृतले भने, ‘कार्यबाहक मेयरको पत्र पनि एयरपोर्ट गएर हस्ताक्षर गराउनुपरेको थियो।’
मेयर आचार्यले चीनको ल्हासामा आयोजित कार्यक्रममा भाग लिन चीन गएको फेसबुकमा स्टाटस लेखेका छन्।
चीनको सिजाङ पिपुल्स एसोसिएसन फर फ्रेण्डसिप विथ फरेन कन्ट्रीजले आयोजना गरेको बैठकमा नेपालका ९ वटा नगरपालिका र बागमती प्रदेश सरकार सहभागी भएको आचार्यले जानकारी दिएका छन्।
‘भगिनी सहरहरूबीच आपसी सहयोग र आदानप्रदान बढाउने महत्वपूर्ण अवसरमा सहभागी हुन पाउँदा हामी निकै उत्साहित भएका छौं,’ उनले लेखेका छन्।
हतारमा बजेट ल्याएको महानगरले ल्याएको बजेटमा आन्तरिक आयको अनुमान पनि अस्वाभाविक रूपमा बढाएको छ। राजस्व परामर्श समितिले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक आय हुने प्रक्षेपण गरेको थियो।
चालु आर्थिक वर्षमा १ अर्ब ५१ करोड आन्तरिक आय हुने अनुमान गरेकोमा उक्त लक्ष्य नभेटिने भएपछि संशोधन गरेर १ अर्ब १८ करोड आन्तरिक आम्दानीको लक्ष्य राखिएका थियो। जेठ मसान्तसम्म ९५ करोड मात्र आन्तरिक आम्दानी भएपछि आगामी आर्थिक वर्षमा पनि चालु वर्षको आयमा ३० प्रतिशत बढाएर आन्तरिक आयको प्रक्षेपण गरिएको उपप्रमुख गुरूङ बताउँछिन्।
राजस्व परामर्श समितिका संयोजकसमेत रहेकी गुरूङले उक्त प्रस्ताव गरे पनि बजेट ल्याएकै दिन आइतबार मेयर आचार्यले आन्तरिक आम्दानी दोब्बर बढाएर ३ अर्ब २५ करोड आय हुने अनुमान पेस गरेका हुन्। यसरी बजेट बढाएर कार्यक्रम समावेश गर्दा खर्च गर्ने पैसाको अभाव हुने उपमेयर गुरूङले बताइन्।
‘बजेट बनाउँदा पनि उहाँले पर्याप्त समय दिनुभएन, हतार हतारमा बनाउनुपर्यो,’ उनले भनिन्, ‘बजेट बनाइसक्दा पनि प्रक्षेपणभन्दा दोब्बर आय हुने अनुमान गरेर वार्षिक कार्यक्रम राख्नुभएको छ, आम्दानी भएन भने भुक्तानी गर्न सकिँदैन।’