(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले पढ्न मिल्ने गरी खुला गरेका छौं।)
२०७८ असोज १० गते।
सुमना ढकालको खुसी दुगुना थियो।
बबरमहलस्थित एनएमबी बैंकको केन्द्रीय कार्यालयले उनलाई जागिरको नियुक्तिपत्र लिन बोलाएको थियो।
सुमना खुसीले रातभर राम्ररी निदाउन सकिनन्।
उनी बिहान सबेरै उठिन्। दस बजे पुग्नुपर्ने भए पनि ८ बजे नै घरबाट निस्किन्। भक्तपुरको बालकोटबाट बबरमहल पुग्दा बैंक खुलेकै थिएन। त्यसैले वरपर डुलेर समय काटिन्। आँखाले भ्याएसम्म आफ्नो काम गर्ने ठाउँ नियालिन्।
जसै बैंक खुल्यो, उनी हतार हतार म्यानेजरको कोठामा पुगिन्। म्यानेजरले सामान्य कुराकानीपछि उनलाई नियुक्तिपत्र थमाए र सोधे, 'कहिलेबाट काम सुरू गर्नुहुन्छ?'
सुमनाको खुसी उत्कर्षमा थियो। म्यानेजरको प्रश्न भुइँमा खस्न नपाउँदै उनले भनिन्, 'आजैबाट सुरू गर्छु।'
जबाफ सुन्नेबित्तिकै म्यानेजरले उनलाई क्यास काउन्टरमा लगे र त्यहाँका गतिविधि हेर्न लगाए।
सुमना लगभग दुई घन्टा काउन्टरमै बसिन्। अरू कर्मचारीले कसरी नोट गन्छन्, ग्राहकसँग कसरी कुराकानी गर्छन्, कसरी पैसा मिलाएर राख्छन् र भौचर तथा चेक साट्दा के-के कुरामा ध्यान दिन्छन् भन्ने राम्ररी नियालिन्।
त्यो बेला नजिकिँदो दसैंले बैंकमा ग्राहकको भीडभाड थियो। काउन्टरका कर्मचारी हाँपदाँपमा थिए। त्यसैले भर्खरै नियुक्तिपत्र पाएकी सुमनालाई पनि मद्दत गर्न भनियो।
सुमनाले पहिलोपटक क्यास काउन्टरभित्र छिरेर बैंक कर्मचारीका रूपमा आधिकारिक काम थालिन्।
सुरूमा उनले चेक-भौचर हेर्न र चेकमा लेखिए बराबरको पैसा गन्न मद्दत गरिन्।
अलि बेरपछि म्यानेजरले उनलाई थप काम दिए।
त्यो कामबारे सुन्दा सुरूमा त उनी झसंग भएकी थिइन्। मुखले भने सहर्ष स्वीकार गरिन्।
म्यानेजरले उनलाई क्यास काउन्टरबाट अर्को कोठाबाट लगे। त्यो कोठामा नयाँ नयाँ नोट खात मिलाएर राखिएका थिए।
सुमनाले जिन्दगीमा पहिलोपटक त्यति धेरै पैसा देखेकी थिइन्।
उनलाई म्यानेजरले लगाएको थप काम थियो, एटिएममा राख्नलाई पैसा गन्ने।
उनले लामो सास फेरिन् र हजार-हजार रूपैयाँका बिटा गन्न थालिन्। हरेक बिटोमा एक लाख रूपैयाँ छ कि छैन भनेर उनले परीक्षण गर्नुपर्ने थियो।
सुमनाले त्यस दिन लाख-लाख रूपैयाँको सयवटा बिटो गनिन्। अर्थात्, एक करोड रूपैयाँ।
'ती नोटका बिटा अरूले नै गनेर राखेका थिए। ठिक छ कि छैन भनेर परीक्षण गर्न मात्र दोस्रोपटक गन्न लगाइएको थियो,' सुमनाले भनिन्, 'नयाँ कर्मचारी भएकाले पहिल्यै गनिसकेको नोट गनाएर अभ्यास गराउन खोजिएको हुनसक्छ!'
'मैले जिन्दगीमा त्यति धेरै नोट गन्नु त टाढाको कुरा, देखेको पनि थिइनँ,' उनले अगाडि भनिन्, 'कटकट बज्ने नयाँ नोट गन्दा छुट्टै आनन्द आउँदो रहेछ। ती नोट सर्लक-सर्लक चिप्लिने खालका थिए। छुँदा पनि दाग लाग्लान् जस्ता! त्यसमाथि नयाँ नोटको त बास्नै छुट्टै! हामीले थोरै थोरै नोट गन्दा बास्ना खासै थाहा हुँदैन। तर धेरै नोट छ भने गज्जबकै मिठो सुगन्ध आउँदो रहेछ। त्यो सुगन्ध कस्तो हुन्छ भनेर म शब्दमा बयान गर्न सक्दिनँ।'
त्यसअघि सुमनाले एनआइसी एसिया बैंकमा ६ महिना काम गरेकी भए पनि एकैचोटि त्यतिविधि नोट गनेकी थिइनन्। पहिलो दिन एक करोड रूपैयाँ गनेर बैंकबाट निस्कँदा अँध्यारो गुफाबाट बाहिर आएजस्तो महसुस भएको उनी बताउँछिन्।
'साँझ कोठा पुग्दा पनि लुगामा नयाँ नोटकै बास्ना आइरहेको थियो,' उनले भनिन्, 'पैसाको बास्नाले मेरो मन फुरूंग थियो।'
एनएमबी बैंकले सुरूका दुई महिना सुमनालाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको राजस्व संकलन डेस्कमा राख्यो। त्यहाँ उनको काम सेवाग्राहीबाट पैसा लिने थियो। पैसाकै कारोबार गर्नुपरे पनि बढीजसो खुद्रा पैसा गन्नुपर्थ्यो। दुई महिनापछि उनी क्यास काउन्टरमा सरूवा भइन्। त्यहाँ प्रयोग हुने सिस्टम (सफ्टवेयर) सिक्न दुई साता लागेको उनको अनुभव छ।
क्यास काउन्टरमा बस्दा सुरू सुरूमा बढी पैसा दिइने हो कि वा भौचरमा गल्ती हुने हो कि भनेर उनी खुब डराउँथिन्। बिस्तारै उनलाई बानी पर्दै गयो। दिनहुँ लाखौं रूपैयाँ गन्दै जाँदा उनी पैसाको बास्नासँग अभ्यस्त हुँदै गइन्।
सुमनालाई त्यो बास्नाको कतिसम्म बानी लाग्यो भने, उनी शनिबार घर बस्नुपर्दा न्यास्रो मान्थिन्। दिनै खल्लो खल्लो लाग्थ्यो।
'आज पनि क्यास काउन्टरमा आउने पैसाको बास्नाले मेरो मुड बन्छ,' उनले भनिन्, 'शनिबारको दिन त कहिले बित्ला जस्तो हुन्छ।'
क्यास काउन्टरमा सुमना ढकाल। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीसुमनाले बैंकमा काम गर्न थालेको दुई वर्ष पूरा भइसक्यो। उनी अहिले पनि क्यास काउन्टरमै छिन्। बिहान पौने १० देखि साँझ ६-७ बजेसम्म पैसा गनेरै उनको दिन बित्छ। दिनभरिजसो ग्राहकको चेक र नगद लिनेदिने काममा खटिएकी हुन्छिन्। चेक र भौचर हेर्ने, ग्राहकलाई पैसा दिने र उनीहरूसँग गर्नुपर्ने कुराकानीले उनलाई सधैं व्यस्त राख्छ।
'दिनमा सय जनाभन्दा बढी ग्राहकसँग कुराकानी हुन्छ होला,' उनले भनिन्, 'चाडपर्वमा त ग्राहक र पैसा दुवैको चाप बढ्छ।'
हामीले उनको कामको प्रकृतिबारे पनि थोरै कुराकानी गर्यौं।
सुमनाले आफ्नो काम यसरी वर्णन गरिन् —
'क्यास काउन्टरमा बस्दा ग्राहकले ल्याएको चेक, भौचर र पैसा जाँच गर्नुपर्छ। भौचरमा मिति, हस्ताक्षर र रकम सही छ कि छैन भन्ने ध्यान दिनुपर्छ। ग्राहकले चेक ल्याएको छ भने त्यसमा भरेको रकम, मिति र हस्ताक्षर राम्रोसँग हेर्नुपर्छ। चेक कतै पनि केरिएको हुनुहुँदैन। भौचर भने कतै केरकार गरिएको भए पनि हस्ताक्षर गरेपछि बैंकले लिन्छ।'
'बैंकले चेक र भौचर ल्याउने ग्राहकलाई दुई ठाउँमा हस्ताक्षर गर्न लगाउँछ। त्यसको दुइटा अर्थ हुन्छ — पहिलो अर्थ, ग्राहकले ल्याएको चेक बैंकले स्वीकार गर्यो। दोस्रो अर्थ, चेक वा भौचरमा तोकिएजति रकम ग्राहकले लिइसके वा बैंकले दिइसक्यो।'
दुई वर्षदेखि क्यास काउन्टरमा बसेर पैसाकै वरिपरि दिन बिताएकी सुमनासँग हामीले पैसाकै बारेमा बढी कुराकानी गर्यौं।
उनका अनुसार क्यास काउन्टरमा बस्नुको सबभन्दा ठूलो फाइदा सधैं नोटको इर्दगिर्द बस्न पाउनु र अर्गानिक बास्ना सुँघ्न पाउनु हो। नोट जति पुरानो हुँदै गयो, बास्ना हराउँदै जान्छ। एउटा हातबाट अर्को हातमा सर्दै जाँदा धेरै मानिसको सम्पर्कले बास्ना मर्ने उनी बताउँछिन्। यसरी धेरैको सम्पर्कमा आएको नोट कुनै कुनै त अमिलो गनाउने उनको अनुभव छ।
'मलाई त्यस्ता पुराना नोटको गन्ध फिटिक्कै मन पर्दैन,' सुमनाले नाक खुम्च्याउँदै भनिन्।
क्यास काउन्टरमा बस्नुको घाटा पनि छ — दिनभरि नोटको इर्दगिर्द बसे पनि र अर्गानिक बास्ना सुँघ्न पाए पनि बेलुकी घर फर्किँदा हात रित्तै हुन्छ!
यो रित्तोपना सुमनाले धेरै अनुभव गरेकी छन्।
'मैले धेरैचोटि आफू पैसा नै पैसाको बीचमा बसेको सपना देखेकी छु। बिहान भयो, विपनामा केही हुन्न,' उनले भनिन्, 'यस्तो कुरा सम्झिएर हाँस्ने बाहना भने सधैं हुन्छ।'
बैंकिङ अनुभवले उनलाई नोट हेरेरै नक्कली र सक्कली छुट्याउने दक्षता पनि दिएको छ। नक्कली नोट पातलो र रंग उडेको हुन्छ भन्ने उनको भनाइ छ।
ग्राहकले बैंकमा बचत गर्न ल्याएको पैसा नक्कली हो कि होइन भनेर जाँच्ने काम सबभन्दा पहिला क्यास काउन्टरमा बस्ने कर्मचारीले नै गर्नुपर्छ। यसरी जाँच्दा नक्कली नोट भए मेसिनमा निलो रंग बल्छ भने सक्कली नोट भए हरियो बल्छ। तर निलो बल्दैमा सिधै नक्कली भन्न मिल्दैन। शंकास्पद मानेर ल्याउने व्यक्तिको विवरणसहित फारम भराइन्छ। त्यसपछि नोट सक्कली हो कि नक्कली पुष्टि गर्न नेपाल राष्ट्र बैंक लगिन्छ।
'नक्कली नोट स-साना व्यापारीले बढी ल्याउँछन्,' सुमनाले भनिन्, 'खुद्रा व्यापार गर्ने र फुटपाथमा व्यापार गर्नेहरूले सक्कली र नक्कली नोट चिन्दैनन्। त्यसैले उनीहरू आफैं नक्कली नोट भिडाउने ग्राहकबाट ठगिन्छन्।'
सर्वसाधारणले खुट्याउन नसक्ने नक्कली नोट सुमना आफैंले पनि पहिला चिन्दिन थिइन्। अहिले भने पैसाको रंग र महत्त्व बिस्तारै बुझिरहेकी छन्।
हुन त तेह्रथुमको छथर गाउँपालिका-५ मा जन्मिएकी सुमनालाई पैसाको महत्त्व सानैदेखि थाहा थियो। उनी बाल्यकालमा चाडपर्वमा पाएको दक्षिणा जम्मा गरेर राख्थिन्। धेरै पैसा हुँदा पटक पटक गनिरहने र हेरिरहने गर्थिन्।
'धेरै पैसा देख्दा खुसी लाग्थ्यो,' बाल्यकाल सम्झिँदै उनले भनिन्, 'संयोगले त्यस बेलादेखि अहिलेसम्म मसँग पैसा नभएको रेकर्ड छैन। म धेरै-थोरै पैसा खुद्रा बनाएर राखिरहेको हुन्छु।'
सानोमा पैसा हेरेरै रमाउने बानी भएकाले होला, ठूलो भएपछि सुमनाले पैसासँग जोडिएको 'बिबिए' विषय पढिन्। त्यही विषयसँग जोडिएर अहिले पैसा गन्ने र बन्डल बनाउने काम गर्दा उनलाई रोचक लाग्छ।
![Bank-(2)-1714474805.jpg](https://www.setopati.com/uploads/posts/Bank-(2)-1714474805.jpg)
यो काम जति रोचक छ, त्यति नै झनझटिलो पनि छ।
'क्यास काउन्टरमा बस्दा बन्डल र लुज (खुद्रा पैसा) मिलाएर राख्नुपर्छ। हजारको सयवटा नोट (एक लाख) भयो भने एक बन्डल भनिन्छ। त्यस्तै, एक लाखको सयवटा बन्डल भए प्याकेट बन्छ,' उनले भनिन्, 'सुरूआतदेखि नै पैसा मिलाएर राख्यो भने साँझ हिसाब-किताब मिलाउन सहज हुन्छ। साँझ पैसा पुगेन वा हिसाब मिलेन भने व्यक्तिले स्वयं व्यहोर्नुपर्छ।'
यो समस्याबाट बच्ने उपाय बताउँदै सुमनाले भनिन्, 'पैसा राख्न र झिक्न आउने व्यक्तिको विवरण राख्ने र रकम नआत्तिकन मिलाएर राख्ने हो भने त्यस्तो समस्या झेल्नुपर्दैन। कहिलेकाहीँ भीडभाड भयो वा ग्राहकहरूले हतार गरे भने क्यास काउन्टरमा बस्ने मान्छेबाट गल्ती हुने सम्भावना हुन्छ।'
सुमनाले अहिलेसम्म त्यस्तो समस्या भोग्नुपरेको छैन। उनले हामीलाई बैंकका केही नियम पनि सुनाइन्।
बैंकको नियमअनुसार कुनै पनि ग्राहकले एक लाख रूपैयाँभन्दा कम पैसा निकाल्न विवरण चाहिँदैन। त्योभन्दा बढी निकाल्नुपरे ग्राहकको नागरिकता, प्यानकार्ड, पासपोर्ट लगायत कुनै सरकारी परिचयपत्र चाहिन्छ। त्यही बैंकको ग्राहक हो भने खाता नम्बर लेखिदिए मात्र पुग्छ।
ग्राहकले एक दिनमा १० लाख (एक रूपैयाँ कम) निकाल्न मिल्छ। धेरै पैसा निकाल्दा के प्रयोजनका लागि निकालिएको हो भनेर विवरण भर्नुपर्छ। बचत गर्दा भने जति रकम पनि राख्न पाइन्छ। धेरै पैसा जम्मा गर्दा स्रोत भने खुलाउनुपर्छ।
अहिले धेरैजसो बैंकिङ कारोबार डिजिटल हुन्छ। त्यसमा पनि कुनै ग्राहकले धेरै कारोबार गरेको देखिए बैंकले सोधपुछ गर्छ। पैसा कारोबार गर्दा ग्राहकले पारदर्शी रूपमा गरेको हुनुपर्ने उनले जानकारी दिइन्।
'पैसाको धेरै अनुहार हुन्छ,' सुमनाले हाँस्दै भनिन्, 'पैसा साथमा हुनासाथ मानिसको हाउभाउ नै फरक हुन्छ। उनीहरूले अरूलाई गर्ने व्यवहार, उनीहरूको जीवनशैली, चमकधमक, चालढाल र लवाइखवाइ नै फरक हुन्छ।'
क्यास काउन्टरमा बस्दा दिनभरि थरीथरीका ग्राहकसँग जम्काभेट भइरहने हुँदा हामीले सुमनासँग ग्राहकहरूको व्यवहारबारे पनि कुराकानी गर्यौं।
उनका अनुसार कहिलेकाहीँ बैंकका ग्राहकहरू आपसमा झगडा गर्छन्। एकै व्यक्तिले धेरै चेक वा भौचर ल्याएको छ भने उसको भौचर वा चेक हेरेर पैसा दिन वा राख्न समय लाग्छ। यसले अर्को ग्राहकलाई धेरै समय पर्खाउनुपर्ने हुन्छ। यो उनीहरूको झगडाको कारण बन्छ।
'धेरै पैसा हुनेहरूले थोरै जम्मा गर्न वा झिक्न आएकालाई हेप्ने गरेको पनि पाइन्छ। पैसा हुनेहरूले जे पनि गर्न मिल्छ भन्ने घमण्ड देखिन्छ,' उनले भनिन्, 'कम पैसा हुनेहरू बरू सरल हुन्छन्। उनीहरू सजिलै आक्रोशमा आउँदैनन्। अरूसँग झगडा पनि त्यति गर्दैनन्।'
नियमित आइरहने ग्राहकले पनि खासै झगडा नगर्ने सुमना बताउँछिन्। ग्राहकको भावना र मुडअनुसार बोल्दा र व्यवहार गर्दा धेरै झगडा कम हुने उनको अनुभव छ।
'आफूले सम्झाएर पनि सकिएन भने अपरेसन इन्चार्ज वा अन्य व्यक्तिले सम्हाल्छन्,' उनले भनिन्।
उनले छ-सात महिनाअघिको एउटा घटना हामीलाई सुनाइन् —
टोकन लिएर लाम बसिरहेकी एक महिलाले चर्को स्वरमा सुमनामाथि आक्रोश पोखिछन्। एकछिन त उनी के भयो भनेर अलमलमा परिन्। पछि थाहा भयो, ती महिला आफूलाई ढिलो भएको र बीचमा आफ्नो मान्छे छिराएको भनेर कराएकी रहिछन्। तर बीचमा छिर्ने ती व्यक्तिलाई सुमनाले चिनेकी थिइनन्। उनले बिनाकारण गाली खानुपरेको थियो।
त्यस्तै अर्को घटना पनि सुमनाले हामीलाई सुनाइन्।
गत दसैंको कुरा हो। एकै जनाले धेरै चेक र भौचर लिएर आएका थिए। त्यसले अरू ग्राहकको काममा अलमल भयो। उनीहरू आफूलाई समय नदिएको भन्दै सुमनालाई गाली गर्न थाले।
'त्यति बेला मैले स्थिति सम्हाल्नै सकिनँ,' उनले भनिन्, 'बैंकको सुपरभाइजर नै बोलाउनुपरेको थियो।'
सुमनालाई अचेल यस्ता गाली खाने बानी परिसकेको छ। पैसा मिलाउन वा हिसाब-किताब गर्न थालेपछि उनको रिस त्यसै छुमन्तर हुन्छ। त्यस्तो बेला रिसाउँदा हिसाब बिग्रिएर घाटा हुने डर हुन्छ। त्यही भएर उनी मन काबुमा लिएर काममा घोत्लिन्छिन्।
क्यास काउन्टरमा काम गर्दा पैसा दिने र लिने मात्र नभई ग्राहकको खाता खोलिदिने वा एटिएमसम्बन्धी काम पनि गर्नुपर्छ। यसरी एकैचोटि सबै क्षेत्रमा काम गर्नुपर्दा गाह्रो हुने सुमना बताउँछिन्।
हामीले बैंकिङ क्षेत्रमा १५ वर्ष बिताएकी मेरिना श्रेष्ठसँग पनि कुरा गरेका थियौं। उनको अनुभव पनि सुमनासँग मिल्दोजुल्दो छ।
मेरिना श्रेष्ठमेरिना अहिले क्यास काउन्टरमा छैनन्, तर दिनहुँ पैसा चलाउन पाउँदा खुसी लाग्ने उनको अनुभव छ। पन्ध्र वर्ष बैंकमा बिताउँदा आफूले खर्बौं रूपैयाँ गनेको उनी दाबी गर्छिन्।
'मैले बैंकमा जागिर गर्ने बेला पुरूषहरू महिलालाई आर्थिक कारोबारको जिम्मा दिनु हुँदैन, सक्दैनन् भन्थे। महिलाहरू एकसाथ धेरै पैसा देखेर डराउँछन् वा हडबडाउँछन् भन्थे,' उनले भनिन्, 'त्यस्तो सामाजिक धारणा अहिले चिरिँदै छ। महिलाहरू पनि यो क्षेत्रमा अब्बल छन् भन्ने धारणा विकास हुँदैछ।'
मेरिना बैंकमा काम गर्ने रहर राखेर नै यो क्षेत्रमा आएकी हुन्। त्यति बेला निजी कलेजहरूले बिबिए पढाउन सुरू गरेका थिए। उनले एभरेस्ट कलेजमा बिबिए पढ्दा ६० जनाको कोटामा जम्मा ७ जना केटीको नाम निस्किएको थियो। त्यसमा उनी पनि थिइन्।
उनले सन् २००८ मा बिबिए सकिन्। त्यसलगत्तै एक वर्ष नबिल बैंकमा इन्टर्नसिप गरिन्।
'बैंकमा काम गर्ने मेरो एक जना काकी चिटिक्क सारी लगाएर हिँड्नुहुन्थ्यो,' उनले भनिन्, 'त्यसरी नै हिँड्ने रहरले बैंकमा काम गर्ने इच्छा जागेको थियो।'
छ महिना इन्टर्नसिप गर्दा मेरिनालाई बैंकको काम यति रमाइलो लाग्यो, उनले आफै प्रस्ताव राखेर इन्टर्नसिप ६ महिना थपिन्। त्यही अनुभवका आधारमा क्लीन इनर्जी डेभलपमेन्ट बैंकमा काम गरिन्।
त्यहाँ सुरूआती दिनमा उनी ग्राहकहरूको सोधपुछ डेक्समा बसेकी थिइन्। ग्राहकको गुनासो सुन्नेदेखि खाता खोलिदिने, एटिएमबारे जानकारी दिने काम गर्थिन्। १८ महिना त्यसरी काम गरेपछि उनी क्यास काउन्टरमा सरूवा भइन्।
बैंकमा सबभन्दा धेरै व्यस्त हुने नै क्यास काउन्टर हो। बैंक कर्मचारीहरू यसलाई 'टेलर' भन्छन्। धेरैभन्दा धेरै पैसा कारोबार हुने र काउन्टर सम्हाल्न सके आत्मविश्वास बढ्ने हुँदा यो कामलाई मेरिना चुनौतीपूर्ण मान्छिन्।
'क्यास काउन्टरमा सुरू सुरूमा डर लाग्छ। हिसाब-किताबमा गडबड भयो कि भन्ने हुन्छ। झन् नयाँ नोटको सिजनमा त झुक्किने समस्या हुन्छ। तर त्यहाँ काम गर्नुको मजा बेग्लै छ,' उनले भनिन्।
मेरिनाले क्यास काउन्टरमा नौ महिना काम गरिन्। दिनभर काउन्टरमा बसेर पैसा गन्दा सुमनाले जस्तै आफूले पनि सपनामा पैसा देखेको उनको अनुभव छ। जति नै पैसा नै पैसाबीच रहे पनि त्यसले आफूमा लोभलालच भने नजगाएको उनी बताउँछिन्।
'क्यास काउन्टरमा पैसा नै पैसा देख्दा लोभ लाग्नुको साटो ग्राहकले हामीलाई विश्वास गरेर राख्न दिएको पैसाको सुरक्षा गर्नुपर्छ भन्ने भावना जाग्थ्यो,' मेरिनाले भनिन्।
क्लीन इनर्जी डेभलपमेन्ट बैंक सन् २०१५ मा एनएमबी बैंकसँग गाभियो। त्यसपछि मेरिनाले एनएमबी बैंकको विभिन्न शाखामा अपरेसन इन्चार्जका रूपमा काम गर्दै आएकी छन्। अहिले आफूले क्यास काउन्टरमा बस्नेहरूले भन्दा एकमुष्ठ ठूलो परिमाणमा पैसा गन्नुपर्ने उनी बताउँछिन्।
'पैसा गन्ने बानी पनि नशाजस्तै हो,' उनले हाँस्दै भनिन्, 'पैसा छुँदा र गन्दा बेग्लै आनन्द हुन्छ। भलै त्यो पैसा आफ्नो कुनै काममा नआओस्!'
सुमना र मेरिना दुवैलाई खाली पैसाको बास्नासँग लगाव छ — कटकट नोटको मगमग बास्ना!
***