अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान रहेको बिहीबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा बताइएको छ।
'निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्छ। जुन यसपटक देखिएको पनि छ' प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले भने, 'निजी क्षेत्रले विगत एक वर्षदेखि अपेक्षाकृत काम गर्न सकेको छैन। उद्योग, व्यापार र निर्माण क्षेत्र त ऋणात्मक नै छ।'
महासंघको प्रतिवेदनले निजी क्षेत्रले ८५ प्रतिशत रोजगारी प्रदान गरेको देखाएको छ।
ढकालले पछिल्लो समय निजी क्षेत्र समस्यामा परेकै कारण ८ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित भएको समेत बताए।
राजस्व करिब १६ प्रतिशतले घट्दा सरकारलाई चालु खर्च धान्न पनि कठिन भइरहेको उनको भनाइ छ। निजी क्षेत्रले रोजगार दिन नसक्दा अहिले ९ महिनामै ६ लाख युवा कामका लागि विदेशिएको उनको दाबी छ।
उनले विभिन्न खोलाहरूमा गिटी ढुंगा बालुवा थुप्रिएका र यसको उपयोगबाट वार्षिक करिब दुई अर्ब डलर आर्जन गर्न सकिने सम्भावना एक अध्ययनले देखाएको बताएका छन्।
उनले वातावरणीय प्रभाव न्यूनीकरण गरी यस्ता खानीहरू पनि पहिचान गरी यी तुलनात्मक लाभका वस्तुहरूलाई प्रवर्द्धन गर्नुपर्ने बताए।
महासंघले ५० करोडभन्दा बढी लगानी भएका र सय जनाभन्दा बढीलाई रोजगारी दिने उद्योग एवं पर्यटन क्षेत्रलाई पूर्वाधार निर्माण आयकर लगायतमा सहुलियत दिनुपर्ने, कृषिका मुख्य पाँच वा दश वस्तुको पहिचान गरेर विशेष कार्यक्रम ल्याउनुपर्ने बताएको छ।