उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधारमा ध्यान दिइनु पर्ने बताएका छन्।
मेक इन नेपाल स्वदेशी सम्मेलनको उद्घाटनका क्रममा उनले पूर्वाधार विकासबाट औद्योगिक वातावरण बन्ने भन्दै सरकारको ध्यान त्यतातर्फ केन्द्रित हुन बताए।
'लगानी मैत्री औद्योगिक वातावरणको निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक स्रोतको सदुपयोगको लागि आवश्यक वातावरण बनाउनका लागि नेपाल सरकार प्रतिबद्ध छ' मन्त्री रिजालले भने।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य थप प्रभावकारी रूपमा हुन आवश्यक रहेको उनले बताए।
औद्योगिकरणको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार, आवश्यक वातावरण निर्माण प्रतिस्पर्धात्मक क्षमताको विकास, दक्षता अभिवृद्धि र स्वदेशी वस्तुहरूको उत्पादन उपभोग र निर्यात प्रवर्द्धनको वातावरण निर्माण लगायतका क्षेत्रमा मन्त्रालयले प्रभावकारी भूमिका निभाउनेमा उनको प्रतिवद्धता छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीहरूको अभिभावकको रूपमा काम गर्ने उनले बताए।