प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निजी क्षेत्रसँग अर्थपूर्ण र प्रभावकारी सहकार्यका लागि सरकार तयार रहेको बताएका छन्।
नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा 'इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल' मा प्रचण्डले प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा सुरू भएको अन्तर्राष्ट्रिय लगानी सम्बन्धी सम्मेलन उपयुक्त समयमा सुरू भएको उनले बताए।
सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था यसअघि नै गरेको उनको भनाइ छ।
'हाम्रा विकासका लक्ष्य हात पार्नका लागि चाहिने वित्तीय स्रोतको ग्याप पूरा गर्नका लागि लगानीको उपयुक्त अवधारणाको खोजीमा यो सम्मेलन केन्द्रित हुनेछ। यसले हामीलाई मार्गदर्शन गर्नेछ' उनले भने।
यो पटकको कार्यकालमा आफू निजी क्षेत्रसँग अर्थपूर्ण र प्रभावकारी सहकार्यका लागि तयार रहेको उनले बताए। विकासका लक्ष्य हात पार्नका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक हुने र त्यसलाई उत्प्रेरित गर्नका लागि सरकार तत्पर रहेको उनको भनाइ छ।
उक्त अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई स्रोत र साधनको आवश्यकता भएकोमा कुनै शंका नरहेको बताए। उद्घाटन शत्रमा बोल्दै महतले नेपालमा सम्भावना र आकर्षक वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धता अहिलेसम्म आवश्यकता अनुसार नभएको बताए।
उदार अर्थतन्त्र, लोकतान्त्रिक व्यवस्था र अहिलेसम्म कहिलै डिफल्ड नभएको र कुनै पनि विदेशी कम्पनीको प्रतिफल नरोकिएको जस्ता आकर्षक ऐतिहासिक ट्रायाक नेपालसँग भएको उनको भनाइ छ।
आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था अहिले पनि रहेको र आवश्यकता अनुसार सरकारले सुधार गर्न तयार रहेको उनको भनाइ छ।
'लगानीको ग्याप पूरा गर्नका लागि आवश्यक स्रोतको पूर्तिका लागि कुनै पनि नवीन वित्तीय स्रोतको मोडललाई हामी स्वागत गर्छौं। त्यसका लागि नीतिगत र संरचनागत सुधारका लागि हामी प्रतिबद्ध छौं। स्रोत आएपछि कसरी उत्कष्ट परिचालन गर्छौं भनेर हामी देखाउँछौं' मन्त्री महतले भने।
सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने हो भने अहिले लगानी आवश्यक रहेको काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार अर्थशास्त्री प्रा.डा. अच्युत वाग्लेको भनाइ छ।
मुलुकको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि स्वदेशी स्रोत र उपकरणबाट मात्र होइन सरकारले लगानी गरेर पनि नहुने उनको भनाइ छ।
दिगो विकासका लागि आवश्यक स्रोतको अहिले नै गणितीय ग्याप उच्च रहेको र यसलाई पूरा गर्नकै लागि पनि सरकार र निजी क्षेत्र मिलेर स्रोतको खोजी र परिचालनको मोडलमा जानुपर्ने उनको भनाइ छ।
'अहिलेसम्म सरकारले शुत्रबद्ध विदेशी सहायता परिचालन गर्दै आएको छ। निजी क्षेत्रको विदेशी स्रोत माथिको पहुँच न्यून छ। यस्तोमा अब निजी तथा सरकारी क्षेत्रले संयुक्त रुपमा लगानीका स्रोत तथा उपकरणको खोजी गर्नैपर्छ' उनले भने।
कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष डस्टिडारले नेपालमा लगानीको सम्भावना र आवश्यकता पनि भएको उल्लेख गरे। नेपालमा लाभदायक क्षेत्रहरू पनि उत्तिकै भएको र आवश्यकता पनि उत्तिकै भएको उनको भनाइ छ।
एसडिजी उद्देश्य, जलवायु परिवर्तन र दिगो विकासका लागि लगानी आवश्यक भएको उनको भनाइ छ। यसका लागि स्रोतको खोजीमा सिर्जनशील बन्नका लागि सम्मेलन आयोजना भएको उनले बताए।
यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बोर्डले रणनीतिक योजना अन्तर्गत नै यो सम्मेलन आयोजना गरेको जानकारी दिए। धेरैभन्दा धेरै लाभदायक सम्भावनाको खोजीमा यो सम्मेलन केन्द्रित हुने उनको भनाइ छ।
'बोर्डले अहिले नै ऊर्जा क्षेत्रमा ठूलो विदेशी लगानी व्यवस्थापन गरिरहेको छ। अझै पनि अबको तीन/चार वर्षभित्रमै अर्बौंको लगानी ल्याउने लक्ष्य लिएका छौं। त्यसका लागि पनि यो सम्मेलनमा हुने बहस उपयोगी हुनेछ' उनले भने।
सम्मेलनमा नेपालका लागि आवश्यक वित्तीय स्रोतको खोजी, अहिलेसम्मका अभ्यास र आगमी दिनमा सरकारले लिनुपर्ने नीतिका बारेमा सरोकारवालाहरूबीचमा छलफल हुनेछ।
नेपालका लागि सम्भावित लगानीका उपकरण र स्रोतका बारेमा निजी क्षेत्र, सरकार र दातृ निकायलाई एकै ठाउँमा राखेर छलफल गर्ने उद्देश्यसहित सम्मेलन आयोजना भएको हो।
यो कन्फ्रेन्समा चारवटा विषयमा छलफल हुनेछ। पहिलो सेसनमा वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानीका विषयमा छलफल हुनेछ।
दोस्रो शत्रमा लगानीका लागि शासकीय व्यवस्थाका बारेमा छलफल हुनेछ। नेपालमा लगानीका लागि भएका कानुनी, संस्थागत र संरचनागत व्यवस्था र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ।
तेस्रो शत्रमा विकास परियोजनाहरूमा लगानीका उपकरणका बारेमा छलफल हुनेछ। विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन र अहिलेसम्मका विकल्प र उदयीमान अन्य उपकरणका बारेमा यो शत्रमा छलफल हुनेछ।
चौथो तथा अन्तिम शत्रमा लगानी तथा वित्त परिचालनका बाधक र त्यस्ता बाधक हटाएर सहजीकरण गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने कार्यकातालिका रहेको छ।
सम्मेलनमा विभिन्न निकायका जिम्मेवार सरकारी अधिकारीहरू, विकास साझेदार निकायका प्रतिनिधि, अर्थशास्त्री, विकास विज्ञहरूको सहभागिता हुनेछ।
निजी क्षेत्र, सरकार तथा दातृ निकायलाई एकै ठाउँमा ल्याएर लगानीका उपकरण तथा स्रोतका सम्भावनाका बारेमा छलफल हुनेछ।
नेपालमा हालसम्म लगानीका परम्परागत उपकरण मात्र परिचालन हुँदै आएको छ। वैदेशिक ऋण तथा साहयता र निजी लगानीका रुपमा वैदेशिक स्रोतको परिचालन भइरहेको छ।
अहिलेसम्मका लगानीका स्रोत र उपकरणहरूले नेपालको विकासका लागि आवश्यक स्रोतको माग धान्न कठिन भइरहेको छ। सार्वजनिक तथा निजी क्षेत्रका लागि पुँजी परिचालनको माग बढ्दै गएको तर अन्तर्राष्ट्रिय क्षेत्रमा उदय भएका लगानीका स्रोत तथा उपकरणमाथि पहुँच पुग्न सकेको छैन।
सम्मेलनमा विश्वमा उदय भएका सफल अभ्यास र लगानीका सम्भानाको खोजी, दीर्घकालीन परियोजनाका बारेमा छलफल हुनेछ।
लगानी बोर्डका सहसचिव अमृत लम्सालले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रमा थुप्रै चुनौती देखिएको र यस्तोमा लगानीको आवश्यकता अझ बढे पनि स्रोतको संकुचन कायमै रहेको बताए।
यस्तोमा लगानीका नयाँ उपकरणमा ब्लेन्डेन्ड फाइनान्स तथा लगानीका नयाँ समाधानमुखी उपकरण आवश्यक रहेको उनको भनाइ छ। यो सम्मेलन त्यस्ता सम्भावनाको खोजीमा केन्द्रित हुने उनले बताए।