चालु आर्थिक वर्ष २०८१/८२ को फागुनमा देशभर ४६ हजार ६१ संख्यामा घरजग्गा कारोबार भएको छ।
यो अघिल्लो महिनाको तुलनामा स्थिर हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार माघमा देशभर ४६ हजार ६९ संख्यामा घरजग्गा कारोबार भएको थियो।
घरजग्गा कारोबार स्थिर भए पनि माघको तुलनामा फागुनमा राजस्व भने ६.३९ प्रतिशतले वृद्धि भएको छ।
माघमा घरजग्गा कारोबारबाट सरकारलाई तीन अर्ब ८७ करोड राजस्व प्राप्त भएको थियो भने फागुनमा चार अर्ब १२ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।
आर्थिक वर्ष २०८०/८१ फागुनको तुलनामा भने यो वर्ष फागुनमा घरजग्गा कारोबार घटेको देखिन्छ।
गत वर्ष फागुनमा देशभर ५० हजार नौ सय ९८ संख्यामा घरजग्गा कारोबार भएको थियो भने यो वर्ष फागुनमा भएको कारोबार ९.६८ प्रतिशतले न्यून हो।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ।
त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।