मलेसियाको क्वालालाम्पुरस्थित ट्रेक भन्ने स्थानमा नेपालीहरुले द चाइना बार नामक रेष्टुरेन्ट खोलेका छन्। द चाइना बार हङकङ, बाजेको सेकुवा नेपालले मलेसियाकै एक जना स्थानीयसँग सहकार्य गरी केएलसिसि नजिकै ८ करोडको लगानीमा रेष्टुरेन्ट खोलेका हुन् ।
रेष्टुरेन्टको विशेषता भनेको विश्वभर पाइने कक्टेलको स्वाद लिन सकिने संचालक चेतन भण्डारीले बताए। यसका साथै द चाइना बार हङकङ र बाजेको सेकुवा नेपालको फ्युजन गरेर त्यस रेष्टुरेन्टमा खानेकुरा पाइन्छ।
पहिलो तल्लामा क्लव र माथिल्लो तल्लामा रेष्टुरेन्ट संचालन गरिएको छ। बाजेको सेकुवाका पारखीहरुले पनि अब मलेसियामै रहेको द चाइनाबारबाट स्वाद चाख्न सकिने भण्डारीले बताए।
अहिले मलेसियामा रहेका नेपालीहरुले कम लगानीमा एक दर्जन रेष्टुरेन्ट खोलेका छन् । यो नेपालीहरुले खोलेकोमध्ये सबैभन्दा यो ठूलो रेष्टुरेन्ट भएको भण्डारीले दाबी गरे।
नेपालीहरुले संचालन गर्न लागेको द चाइनाबार यही कात्तिक १० गतेबाट संचालनमा आउने भएको छ। बारमा ३ सयभन्दा बढीको क्षमता छ।
विदेश काम गर्न मात्र जाने होइन अब युवा पुस्ताले व्यवसाय पनि गर्नुपर्छ भन्ने सोचका साथ द चाइना बार खोलिएको बताउँदै संचालक भण्डारीले यसबाट युवा पुस्ताले केही सिक्नु पर्ने बताए।
मलेसियापछि अष्ट्रेलियामा पनि रेष्टुरेन्ट खोल्ने तयारीमा आफूहरु रहेको भण्डारीले बताए।
हङकङमा चाइना बार र नेपालमा बाजेको सेकुवा स्थापित नाम हो ।
मलेसिया नेपालबाट नजिकै रहेको र त्यहाँको ब्यापार व्यवसाय फस्टाउदैँ जाने वातावरण बनिरहेकाले त्यहाँ लगानी गर्न आफूहरु इच्छुक भएको भण्डारीले बताए। मलेसिया पर्यटकिय देश हो। अष्ट्रेलिया जानेहरुको ट्रान्जिट प्वाइन्ट पनि मलेसिया नै प्रमुख हो ।