एसियन पेन्टस्ले आफ्नो रंगमा लिडको मात्रा बढी नभएको जनाएको छ।
एसियन पेन्ट्सद्वारा उत्पादित रंगमा लिडको मात्रा बढी भएको समाचार प्रकाशित भएपछि विज्ञप्ति जारी गर्दै उसले ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर रंग उत्पादन नगरेको एसियन पेन्टसका कन्ट्री म्यानेजर बुद्धदित्या मुखर्जीले बताएका छन्। मुखर्जीले समाचारमा रामचरित्र साहलाई उदृत गर्दै लेखिएको समाचारमा सत्यता नभएको पनि जनाएका छन् ।
काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले एसियन पेन्टससहित गौरीशंकर, जस्मिन, जेजिस, एपोलो, अर्ति, जी–७, अमेरिकन पेन्ट इण्डष्ट्री, पशुपति पेन्टस, तथा नेपाल पेन्टस इण्डष्ट्रीका रंगमा तोकेको मापदण्डभन्दा धेरै गुणाबढी लेड पाइएको बताएका थिए।
उनले अनुसार , ‘नेपालमा वर्षेनी पाँच वर्ष मुनिका बालबालिकामा हुने लेड असरबाट एक खर्ब ५६ अर्ब रुपैयाँ बराबरको क्षति हुन्छ । त्यसैले लेडरहित कलरमात्र भित्तामा प्रयोग गर्नुपर्छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र तथा लिडर्स नेपालले काठमाडौं उपत्यकालगायत पश्चिम नेपालका केही बजारबाट संकलन गरिएका १८ पेन्टस उद्योगको ३७वटा रंगको नमूनाको प्रयोगशाला परीक्षण गर्दा ५९.४६ प्रतिशत रंग सरकारले तोकेको ९० पिपिएम मापदण्डभित्र रहेको र बाँकी रंगमा अत्यधिक सिसा प्रयोगमा रहेको जनाएको छ ।
त्यस्तै काठमाडौं उपत्यकाका ३१२ बालबालिकासहित वीरगञ्जका विद्यालयका ५० छात्रछात्रामा गरिएको अध्ययनअनुसार ती बालबालिकाको रगतमा लेडको मात्र ९० पिपिएमभन्दा बढी पाइएको सो केन्द्रले जनाएको छ ।
६० प्रतिशत बालबालिकाको रगतमा ९० पिपिएमभन्दा बढी लेड पाइएको थियो ।