तिहार लागेसँगै मसला पसलहरूमा भाइ मसला किन्नेको भीड बढ्न थालेको छ। भाइ मसला बिक्री कुकुर तिहारको दिनदेखि अत्यधिक बढेको व्यापारीहरू बताउँछन्।
राजधानीको पुरानो तथा व्यस्त व्यापारिक थलो असनदेखि साना -तिना फुटपाथ पसलसम्म भाइ मसला किन्नेको भीड उत्तिकै बाक्लो देख्न सकिन्छ। कुकुर तिहारको दिन मात्र आफूले करीब २ सय पोका भाइ मसला बेचेको मैतिदेवीका व्यापारी बिक्रम जैसवाल बताउँछन्।
‘मैले ५० रुपैयाँ पर्ने र १ सय ५० रुपैयाँ पर्ने मसला बेच्छु, सस्तो मसला किन्न खोज्नेहरू म कहाँ आउँछन्’ जैसवालले भने। तिहारको बेलामा आफूले डेढ लाख रुपैयाँसम्मको मसला बेचेको घट्टेकुलोस्थित अधिकारी मसला उद्योग संचालक विवेक अधिकारी बताउँछन्।
‘मैले मसलाको व्यापार गर्न थालेको १२ वर्ष भयो, पछिल्लो समय ग्राहकले धेरै परिमाणमा मसला लान थालेका छन्’ उनले भने। यो वर्ष काजु र सुकुमेलेमा मूल्य वृद्धि भएपनि अरुको खासै नबढेको अधिकारीले जानकारी दिए। तिहारको भाइ मसलामा प्रयोग हुने अधिकांश सामग्रीहरू विदेशबाट आयात हुने गरेका छन्।
यस्तो भाइ मसलामा प्रयोग हुने बदाम अमेरिकाबाट र चीनबाट धेरै मात्रामा आउने गरेको छ।यो वर्षको तिहारमा भाइ मसलाको बजार भाउ यस्तो छ।
मसलाको प्रकार मूल्य (प्रति केजी)
काजु १ हजार ७ सय
आल्मण्ड (हाडेबदाम) १ हजार २ सय
पेस्ता १ हजार ३ सय ५०
ओखर ६ सय
नरिवल ४ सय
मिश्री १ सय ७०
अन्जिर १ हजार २ सय
खुपार्नी १ हजार
पान बुट्टे मिश्री ४ सय
मखन(फुला) ६ सय
दालचिनी ४ सय ५०
ल्वाङ १ हजार ५ सय
सुकुमेल २ हजार
सुपारी ६ सय
छोकडा (पहेँलो) १ सय ८०
माथिको मूल्य सूची काठमाडौंका केही खुद्रा मसला पसलहरूको मूल्यको आधारमा तयार पारिएको हो। यो मूल्य पसल अनुसार सामान्य घटबढ हुन सक्छ।