नेपाल र नेपालीलाई हवाईमार्गबाट जोड्ने बुध्द एयरले आज आफ्नो २० वर्षे यात्रा पुरा गरेको छ । हवाई सुरक्षाको जोखिमहरुलाई न्यूनिकरण गर्दै यात्रुहरुलाई आरामदायी हवाई यात्राको अनुभुति गराउने मुख्य लक्ष्यका साथ बुध्द एयरले आफ्नो सेवा थालेको थियो ।
बुध्द एयरले आफ्नो प्रथम उडान अमेरिकामा निर्मित नयाँ जहाज बीच १९००‘डी’ बाट पर्वतीय श्रृंखलाको मनोरम यात्राबाट शुभारम्भ गरेको थियो । सो उडान करिब १ घण्टाको थियो । उक्त उडानलाई ‘एभरेष्ट एक्सपेरियन्स उडान’ले चिनिन्छ । अहिलेसम्म देशी विदेशी गरि लाखौं–लाखले अनुभव लिईसकेका छन् ।
मुलुकका सुगम विमानस्थलहरुमा उडान भर्ने बुध्द एयरले ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ । यस सफलताका पछाडि यात्रु, सरोकारवाला निकाय/वित्तिय संस्थाहरुका साथै बुध्द एयरमा कार्यरत ८६५ जना कर्मचारीहरु नै हुन् ।
एउटा विमानबाट आफ्नो सेवा शुरु गरेको बुध्द एयरसँग हाल २ वटा बिचक्राफ्ट, ७ वटा एटीआर एयरक्राफ्ट रहेका छन् । अर्को एटीआर जहाज २०१८ जनवरीको दोस्रो साता आइपुग्नेछ भने थप अर्को जुन महिनाभित्र ल्याउने योजना रहेको मार्केटिङ तथा सेल्स निर्देशक रुपेश जोशीले बताए ।
विगतका दुई दशकमा आरामदायी तथा जोखिमरहित यात्राका लागि बुध्द एयर कुनै प्रकारको सम्झौता गरेको छैन ।
दक्षिण एसियाकै उत्कृष्ट ह्यांगर तथा यसका जनशक्तिलाई अद्यावधिक तालिमका लागि देशविदेश पठाउने गरेको छ । हवाई सेवालाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय मान्यता अनुरुप उडानका लागि आन्तरिक परीक्षणका साथै विदेशी संस्थाहरुलाई पनि अडिटका लागि खटाउने गरेको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै बुध्द एयरले अन्तर्राष्ट्रिय हवाईजहाज उत्पादन गर्ने युरोपिले संस्था एयरवससँग पनि आन्तरिक सल्लाह र तयारी गरिरहेको छ ।
उडानका लागि बुध्द एयरले एयरबसका ३२० फेमिलि सिरिजका जहाज पनि ठम्याईसकेको छ ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित समयमै पूरा हुने आश गर्दै सन् २०२१ को अगस्त १ देखि ३ वटा एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्ने हाम्रो योजना रहेको’ बुध्द एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेत बताउँछन् ।
साथै आगामी १० वर्षमा ३२० सिरिजका २० विमानबाट सेवाहरु विस्तार गर्ने पनि योजना रहेको बस्नेतले बताए ।