निर्माण व्यवसायी आन्दोलनमा, देशभरका निर्माण कार्य ठप्प

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यापछि बानेश्वरको सिभिल अस्पतालमा नाराबाजी गर्दै सडक बन्द गराउन निस्कन लागेका आक्रोशित ब्यवसायी । तस्बिर: नारायण महर्जन/सेतोपाटी


नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा निर्माण व्यवसायीहरूले देशभरका निर्माण कार्य ठप्प पारेका छन् ।

महासंघको सोमबार साँझ बसेको बैठकले देशभरका निर्माण कार्य स्थगन गर्ने निर्णय गरेको महासंघका उपमहासचिव विष्णु बुढाथोकीले जानकारी दिए।

बोलपत्र बहिष्कार गर्ने र देशभर रहेका निर्माण व्यवसायीको कार्यालय बन्द गर्ने उनले बताए। महासंघले तत्काल हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेको छ ।

निर्माण व्यवसायीहरूले सोमबार साँझ गृहमन्त्री जर्नादन शर्मा प्रभाकरलाई गृहमन्त्रालयमा भेटेका छन् ।

गृहमन्त्रीसँगको भेटमा व्यवसायीहरूले आफूहरूमाथि सुरक्षा चुनौती बढेको बताए । सो क्रममा गृहमन्त्री शर्माले छिट्टै अपराधीलाई कानूनी कठघरामा ल्याइने बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.