घटस्थापनादेखि हवाई यात्रामा अधिकतम भाडामात्र, कहाँको भाडा कति?


दशै आएसँगै गाडीमात्र होइन जहाजबाट उपत्यका बाहिरको यात्रा गर्न कठिन बन्दै गएको छ। काठमाडौंबाट बाहिरका सहरमा उडान भर्ने अधिकांश एयरलाइन्सहरुका सिट बुक भइसकेका छन्।

घटस्थपानादेखि पछिका प्रायः सिटहरु बुक भइसकेको उनीहरुले जानकारी दिएका छन्। काठमाडौंबाट विराटनगर, भद्रपुर, तुम्लिङटार, भैरहवा र भरतपुर रुटमा उक्त समयका अधिकांश टिकट बुक भइसकेको एयरलाइन्सहरुले जानकारी दिएका छन्।

पश्चिमका भैरहवा र भरतपुरबाहेक नेपालगन्ज र धनगढीमा भने त्यति धेरै  चाप छैन। दैनिक ९० उडान गर्ने (आतेजाते) बुद्ध एयरका भद्रपुर, भरतपुर, सिमरा, तुम्लिङटार, विराटनगरजस्ता रूटमा ९० प्रतिशतभन्दा बढी टिकट बुक भइसकेको म्यानेजर बिनिता थापाले  जानकारी दिइन्। नेपालगन्ज र धनगढीमा भने उक्त समयमा टिकट तुलनात्मकरुपमा कमै बुक भएका छन्।

त्यस्तै यति एयरका पनि सोही रूटमा ९० प्रतिशतजति टिकट बुक भइसकेको यतिका मिडिया म्यानेजर भिमराज राईले जानकारी दिए।

विमान धेरै  थपिँदा दशै अगाडिको समयमा प्रतिस्पर्धा धेरै हुँदा भाडा सस्तो भएको भन्दै हौसिएका उपभोक्ताहरुको लागि भने दुःखद खबर छ किन भने यो अवधिमा कुनै पनि रूटमा एउटैमात्र भाडादर लागू हुने एयरलाइन्सहरुले जानकारी दिएका छन्।

टिकट नै नपाइने यो समयमा सस्तो दरको टिकट नहुने र सबैलाई एउटै दरको मात्र उपलब्ध हुने बुद्धकी बिनिता थापाले जानकारी दिइन्।

एयरलाइन्स एसोसिएसन अफ नेपालले तय गरेको र क्यानले स्वीकृत गरेको भाडादरमा नै यात्रुहरुलाई सेवा दिइने यतिका भिमराज राईले जानकारी दिए।

कहाँ जान कति छ भाडाः

  • काठमाडौं–विराटनगर- ७ हजार १०४ रूपैयाँ
  • काठमाडौं–भद्रपुर- ८ हजार ६७६ रूपैयाँ
  • काठमाडौं–भैरहवा- ५ हजार ९१३ रूपैयाँ
  • काठमाडौं–धनगढीको- १२ हजार ११९ रूपैयाँ
  • काठमाडौं–नेपालगन्ज- ८ हजार ३६५ रूपैयाँ
  • काठमाडौं–पोखरा- ४ हजार ७ सय रूपैयाँ
  • काठमाडौं–जनकपुर-३ हजार ९४८ रूपैयाँ
  • काठमाडौं–सिमरा- ३ हजार ५ सय रूपैयाँ
  • काठमाडौं–भरतपुर- ३ हजार ४ सय ५३ रुपैयाँ
  • काठमाडौं–तुम्लिङटार-भाडा ५ हजार ६२३ रूपैयाँ

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.