जहाँ १११ थरी चिया पाइन्छ


गाउँभरी हल्ला फैलिएछ, ‘अश्विनीले चिया पसल खोल्यो रे!’

‘राम्रै लेख्थ्यो। विचरा! काठमाडौंमा बाँच्न चिया पसलै चलाउनुपरेछ।’

गाउँकै एक काका काठमाडौं आएको बेला अश्विनी कोइरालालाई फोन गरेर भेट्न अनुरोध गरेछन्। उनले ‘चियापान’ बोलाए।

अश्विनीले काकालाई ‘पर्ल ह्वाइट टी’ पियाउँदै थिए। चिया पिउँदै गर्दा सोधेछन्, ‘खोई त, तेरो चिया पसल भन्या?’

चियापसल भनिए पनि सहरका ‘स्ट्यान्डर्ड मानिने’ रेष्टुरेन्टको जस्तो साजसज्जा, चमकधमक देखेपछि काकाले पत्याएनन्। जब अश्विनीले काकाका लागि दूध चिया मगाए, तब छक्क परेछन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेट नम्बर ३ अगाडि खुलेको यो ‘चियापान’मा न मःम पाइन्छ, न चाउमिन। रक्सीको त कुरै छोडौं, यहाँको मेनुमा ‘कोल्ड ड्रिंक्स’ नामले परिचित कोक, फ्यान्टा, पेप्सीजस्ता पेय पदार्थसमेत छैनन्।

मात्र पाइन्छ, चिया, १११ थरी।

चिया– आमनेपालीको बुझाइमा तलतल मेट्ने पेय पदार्थ। दूध चिया धेरैको ‘फेभरेट’ हुनसक्छ। उच्च रक्तचाप, पेटको समस्या, मधुमेहजस्ता रोगीहरु भने प्रायः कालो चिया पिउँछन्।

उद्देश्य एउटै छ, तलतल मेटाउने।

चिया हरेकका लागि तलतल जरुर होला, तर यसको उद्देश्य यति मात्र होइन। चिया औषधी हो। चिया सुन्दरता हो। तर, यस्तो सुन्दरता– जसले बाहिरी छाला मात्र चम्काउँदैन, दिमागलाई समेत ताजा बनाउँछ।

कान्तिपुर साप्ताहिकका पाठकमाझ परिचित अश्विनी कोइराला सुरुमा चियाका लती थिए। लेख्न बस्दा चिया नभई नहुने। कफीका पारखी भएनन्। न त रक्सीको लतमा कहिल्यै परे। लेख्दाको छटपटीले चुरोट–खैनी कहिल्यै मागेन। चियाको लतले लेख्न सघायो। ‘त्यसैले मेरो लेखाईमा अधिकांश पात्र चियाका लती हुन्छन्, अरुका हुँदैनन्’, अश्विनी भन्छन्।

कुर्सीमा बसेमध्ये दायाँबाट पहिलो अश्विनी कोइराला

जतिखेरै दूधको चिया पिउने भएपछि ‘ग्यास्ट्रिक’ बढ्यो। कालो चियाको स्वादले तलतल नमेटे पनि धित मार्न दूधबाट कालोतिर सरे। स्वस्थवर्धक चियाको बारेमा सुनेका थिए। त्यो वैकल्पिक चियाको नाम थियो, ‘ग्रिन टी।’ अहिलेसम्म यही नाम प्रचलित छ। तर, चियाका अनेक किसिम हुन्छन् भन्ने उनलाई थाहा थिएन।

जब उनले ग्रिन टी प्रयोग गर्दै गए, उनलाई फरक–फरक चियाको स्वाद लिने रहर लाग्यो। उनी जहाँ पुगे पनि चियाका नयाँ–नयाँ स्वाद चाख्न छुटाउँदैनथे। एउटा भाँडोमा चिया हालेर पानी थप्दै पिउँदै लेख्ने उनको बानी बस्यो। यसरी उनले कालो र दूध चियाबाहेक ग्रिन टी, ह्वाइट टी, गोल्डेन टीजस्ता विविध नाम भएका चिया पनि हुने थाहा पाए।

चियाका बारेमा थप चासो उत्पन्न हुँदै गएपछि गुगल गरे। नेपालको चिया भनेर खोज्दा गुगलले दार्जीलिङको चिया धेरै देखायो। बिभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित चियाबारे लेखहरु पढे। तब पो उनले थाहा पाए, ‘दार्जीलिङ चिया’ नामले संसारभर प्रख्याती कमाएको चियामा नेपाली चियाको ठूलो मात्रा हुन्छ।

‘नेपालमा उत्पादित चियाको दुई प्रतिशत मात्र यहाँ खपत हुँदो रहेछ,’ अश्विनी भन्छन्, ‘बाँकी सात प्रतिशत युरोप/अमेरिकालगायतका देशमा र ९१ प्रतिशतचाहिँ भारत जाँदो रहेछ। अर्को चाखलाग्दो कुरा के भने युरोप÷अमेरिकामा जुन सात प्रतिशत खपत हुन्छ, त्यहाँसम्म पुर्‍याउने व्यापारीको आर्थिक अवस्था निकै माथि छ।

भारत खपत हुने ९१ प्रतिशत चियाका किसान भने जहाँको तहीँ छन्। हाम्रो चिया भारतले लैजान्छ। तर, किसानको आर्थिक अवस्था कहिल्यै उकासिँदैन। फेरि उही भारत, हाम्रो चियालाई आफ्नो बनाएर बेच्छ र प्रख्याती कमाउँछ।’

यसपछि उनको मनले सोच्यो, ‘नेपाली चियालाई ब्रान्डिङ गर्न के गर्नुपर्ला?’

यो उनी र उनीजस्ता दुई–चार जनाले गरेर हुने काम पनि थिएन। तर, केही त उनीहरु गर्न सक्थे, जसले नेपाली चियाको ‘ब्रान्डिङ’मा थोरै भए पनि सघाओस्।

इलामदेखि काठमाडौं चिया भित्र्याउने केही व्यवसायीहरु उनका साथी थिए। भेट हुँदा चिया नै खाए, चियाकै गफ गरे। लामो समयको छलफलपछि एउटा निर्णय निकाले, ‘चिया पसल खोल्ने। चिया मात्र बेच्ने। तर व्यवस्थित।’

६ जना मिलेर सुरु गरे, चियापान।

अश्विनीका भनाइमा बालुवाटारबाट सुरु भए पनि काठमाडौं उपत्यकाका ११ ठाउँमा चियापानका शाखा खुल्नेछन्।

चियापानको मेनुमा चियाको किसिमअनुसार दस भागमा वर्गिकरणण गरिएको छ। प्रत्येक शीर्षकअन्तर्गत ११ थरी चिया पाइन्छन्। यहाँ ११ रुपैयाँदेखि एक हजार एक सय ११ रुपैयाँसम्मका चिया पाइन्छ।

करिब ७० लाखमा तयार भएको चियापानको ठ्याक्कै पछिल्लो भागमा बाँसैबाँसको एउटा घर ठडिँदैछ। अश्विनीका अनुसार दुई तले यो घरलाई रेष्टुरेन्ट बनाउन लागिएको हो। ‘यो पुरै मौलिक नेपाली घर हुनेछ,’ अश्विनी भन्छन्, ‘गाउँका मौलिकभन्दा मौलिक चिजबिज देख्न सकिन्छ। जस्तै, जाँतो, ढिकी यहीँ हुन्छ। यही जाँतो, ढिकीमै पिसिएको पिठोबाट रोटी पाक्छ। हामी सहरभित्रै गाउँले खान्कीको स्वाद दिने तरखरमा छौं।’

अगाडि भने चिया मात्र पाइने उनी बताउँछन्। भित्र एउटा लामो हल छ। ५० जनासम्म अटाउने हलको एकछेउमा लाइब्रेरी पनि छ। बाहिर फराकिलो ठाउँ छ। यी सबै चिया पारखीका लागि हुन्।

चिया पिउने संस्कृति बसाल्ने ध्येयले बिभिन्न योजना ल्याइने अश्विनी बताउँछन्। जसमध्ये एक हो, वार्षिक ग्राहक योजना। जुन सुरु भइसकेको छ। २५ हजार रुपैयाँ तिरिसकेपछि ग्राहकले चियापानको एउटा कार्ड पाउँछन्। जुन कार्ड लिएर आएपछि आफू मात्र होइन, आफ्ना जति पनि साथीले वर्षभरि चिया खान पाउने सुविधा यो योजना अन्तर्गत पर्छ। ‘दिनमा जतिपटक आए पनि हुन्छ, अधिकतम चार जना साथी ल्याउन पाइन्छ,’ अश्विनी भन्छन्, ‘हामी त धेरैभन्दा धेरैले चिया पिउन् र स्वस्थ बनून् भन्ने चाहन्छौं।

यति मात्र होइन, चियापानको सदस्य बनिसकेपछि जन्मदिन, बिहे एनिभर्सरीजस्ता कार्यक्रमका लागि पनि हामी पुस्तक, चिया उपहार दिनेछौं। छुट्टै चिया लगेमा २५ प्रतिशत छुटको पनि व्यवस्था छ।’ एक वर्षभित्र एक हजार नियमित ग्राहक तयार पार्ने योजना रहेको अश्विनी बताउँछन्।

चिया आफैंमा जडिबुटी हो। तर, चियापानमा चिया मात्र होइन, अन्य जडिबुटीका चिया पनि पाइन्छन्। कुश, तुलसी, जमरा, कागती, गुलाफ, चमेलीजस्ता जडिबुटी तथा वनस्पतिलाई परिकारअनुसार शुद्ध त कहिले चियाअनुसार मिसाएर तयार पारिने अश्विनीको भनाइ छ। तयारी चिया मात्र होइन, यस्ता जडिबुटी र चियाका पात पनि बेचिने अश्विनी बताउँछन्। चियाको थोक विक्रीसमेत हुने उनले बताए।

अश्विनी पहिले आफू चिया पिउँथे मात्र, अरुले चियालाई कसरी बुझ्छन् थाहा थिएन। चियापान खोलेपछि उनी अनेक व्यक्तिको सम्पर्कमा पुग्छन्। चियाबारे कुरा गर्छन्। त्यसबाट उनले के अनुमान लगाए भने अधिकांश मानिसहरु प्रेसर, सुगरजस्ता रोग लागेपछि मात्र मानिसहरु दूध या कालो चिया छोडेर ग्रिन टी सेवन गर्न थाल्दा रहेछन्।

‘मेरो अनुमानमा चियालाई बुझेर खाने त नेपालमा एक प्रतिशत पनि छैनन्,’ अश्विनी भन्छन्, ‘तर, खुसीलाग्दो कुरा के भने मान्छेमा चियाप्रतिको चासोचाहिँ बढ्दैछ है। म चियापानमा बस्न थालेदेखि हरेक दिन कोही न कोही चियाबारे बुझ्न आइरहेकै हुन्छ। चियाबारे बुझिसकेपछि उनीहरु चिया पिउने बानी पार्न चाहन्छन्।

अहिले हाम्रो सम्पर्कमा आएपछि करिब डेढ सय नयाँ मानिसहरु नियमित रुपमा चिया पिउँछन्। त्यति मात्र होइन, उनीहरुले आफ्ना छिमेकी, साथीहरुलाई पनि चियाबारे सजग गराउँदैछन्। ग्रिन टी एकथरी मात्र होइन, धेरै थरी हुन्छ र फरक–फरक चियाको स्वास्थ्यका लागि पनि फरक–फरक भूमिका हुने बुझ्दै गएका छन्। चिया उपहार दिने चलन पनि सुरु भइसकेको छ। यो सानो समूहभित्रै भए पनि चियाको संस्कृति बन्दैछ भन्ने संकेत हो।’

उनका अनुसार मानिसको स्वभावअनुसार, समयअनुसार, शारिरिक तथा मानसिक अवस्थाअनुसार खाइने चिया पनि फरक–फरक हुन्छन्। ‘जस्तोः म लेख्दैछु भने मैले त्यही किसिमको चिया खानुप¥यो, शरीर आलस्य भएका बेला, बैठकको बेला, प्रेमिकासँग भएको बेला खाइने चिया नै फरक–फरक हुन्छन्,’ उनी भन्छन्, ‘जसरी मानिस समय, ठाउँ र परिस्थितिअनुसार फरक–फरक रुपमा प्रस्तुत हुन्छ, चियाको स्वभाव पनि फरक–फरक छ।’

चियापानलाई चिया पिउनेहरुको केन्द्रका रुपमा स्थापित गर्ने योजना रहेको अश्विनीको भनाइ छ। ‘चिनियाँहरु पानीको सट्टा चिया नै खान्छन्, उनीहरुको बोत्तलमा चिया नै हुन्छ,’ अश्विनी भन्छन्, ‘अरु देशमा चिनियाँजसरी जतिखेरै चिया खाने नभए पनि नियमित चिया पिउनेहरुको क्लब नै हुँदो रहेछ।

चिया पिउने व्यक्ति भन्नुको मतलब स्वास्थ्यमा सचेत भन्ने बुझिन्छ। हामी चाहन्छौं, नेपालमा पनि चिया पिउनेहरुको क्लब बनोस्। हामी त्यसका लागि पहल पनि गर्नेछौं। तर, त्यसका लागि केही समय लाग्ला। अहिले चियापानलाई चिया पिउनेहरुको हबको रुपमा स्थापित गर्ने हाम्रो उद्देश्य हो।’

तस्बिरहरु- नारायण महर्जन

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.