जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करीब तीन करोड रुपैयाँको मह विक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा मह उत्पादन पाँच टन बढेको छ । मह प्रतिकिलो ९ सय रुपैयाँदेखि एक हजारसम्ममा विक्री हुन्छ । दुई वर्षअघि २० जना व्यावसायिक मौरीपालक किसानले एक लाख ८० हजार रुपैयाँका दरले सरकारी अनुदान पाएका थिए । युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदान पाएपछि किसानले मौरीपालनलाई विस्तार गरेका हुन् ।
हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मौरीका घार वितरण गर्दै आएको छ । कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीका अनुसार जिल्लाभर करीब चार हजार उन्नत घारमा मौरीपालन भइरहेको छ । परम्परागत घारमा मौरी पाल्ने किसानको संख्या पनि उत्तिकै छ ।
‘कार्यालयबाट वितरण भएका उन्नत घारमात्रै चार हजारभन्दा बढी छन्, स्थानीय घारको संख्या यकिन छैन’, उनले भने । गत आवमा उत्पादन भएको ३० हजार किलो महमध्ये अधिकांश जिल्लाभित्रै खपत भएको थियो ।
अनुदान पाएपछि माहुरीपालनलाई किसानले उद्यमको रूपमा अघि बढाएका छन् । कम लगानीमा मनग्य आम्दानी हुनथाले पछि किसान मौरीपालनतर्फ आकर्षित हुँदै गएका छन् । अनुदानले किसान उत्साहित छन् । जिल्ला कृषि विकास कार्यालयले २५ प्रतिशत अनुदानमा यस वर्ष ५५० वटा घार वितरण गरिसकेको छ । किसानले रु दुई हजार ६०० पर्ने घार अनुदान सहयोगमा रु एक हजार ९५० मा प्राप्त गरेका छन् । रासस