कतार एयरवेजले शुक्रबारदेखि दोहा–काठमाडौंको उडान संख्या थप गर्ने भएको छ। नेपालमा सेप्टेम्बर तथा ओक्टुबर महिनामा पर्ने चाडपर्वका कारण बढ्ने उडान संख्याको मागलाई सम्बोधन गर्दै एयरवेजले भोलिदेखि उडान संख्या थप्न लागेको हो।
थप हुने उडान संख्याका लागि कम्पनीले एयरबस ए३२०को ब्यवस्था गरेएको छ। सेप्टेम्बर १ देखि दोहाबाट १:२५मा छुटेर सो विमान काठमाडौंमा ८:५५मा अवतरण गर्ने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ। थप गरिएको उडानले चाडपर्वका लागि नेपाल भ्रमणका लागि निस्कने यात्रुलाई सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य छ।
‘चाडपर्वका लागि नेपाल फर्कन चाहने नेपाली तथा अन्य यात्रु मार्फत बर्षेनी हामीलाई बढ्दो संख्यामा माग हुँदै आइरहेको छ । मागको समाधान स्वरुप उडान संख्या थप गरी यात्रुलाई सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ’, कतार एयरवेज ग्रुप चिफ एक्जेक्यूटिव महामहिम अकबर अल बाकरले भने ‘थप गरिएको उडानले हाम्रा यात्रुलाई नेपाल भ्रमण तथा अनुभवका लागि थप अवसर प्रदान गर्ने हामीले विश्वास लिएका छौँ ।’
सेप्टेम्बर १ देखि थप गरिने उडानका साथमा कतार एयरवेजले दोहा र काठमाडौंको दैनिक चार उडान भर्ने कम्पनीले जानकारी दिएको छ। यसले यात्रुलाई आफ्नो आवश्यकता अनुसार उडान तालिका छनोटको अवसर समेत प्राप्त हुने कम्पनीको विश्वास छ।
थप उडान सेवा प्रदान गर्न सञ्चालनमा ल्याइने एयरबस ए३२०मा १२ विजनेश क्लास सिट र १ सय ३२ ओटा ईकोनोमी क्लासका सिटहरु रहेका छन् ।
कतार एयरवेजले हालै श्रीलंका र बंग्लादेशमा रहेको बढ्दो मागको सम्बोधनका लागि कोलम्बो र ढाकाका लागि समेत उडान संख्या थप गरेको थियो।
थप गरिएका उडान तालिकाःक्यूआर ६४८ दोहा (डीओएच)बाट काठमाडौं (केटीएम) छुट्ने ०१:२५ अवतरण ०८:२५
क्यूआर ६४९ काठमाडौं (केटीएम) बाट दोहा (डीओएच) छुट्ने ०९:५५ अवतरण १२:१०