श्री एयरलाइन्सको व्यवसायिक उडान सुरु


निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि व्यवसायिक उडान सुरु गरेको छ। बिहीबार पहिलो विमान ल्याएको करिब पाँच महिनापछि विमान संचालन प्रमाणपत्र(एओसी) पाएको श्रीले आजदेखि व्यवसायिक उडान थालेको हो। गएको असार २० मा प्रुभिङ फ्लाइट गरेको श्रीले बिहीबार व्यवसायिक उडान अनुमति पाएको थियो।

आज श्रीले पहिलो उडान काठमाडौंबाट भैरहवा गरेको थियो। विहान साढे ११ बजे नेपाली कल साइन नाइन एन एमसी भएको सिरजे–२०० बाट गरेको थियो। उक्त विमानले आजै नेपालगंज र धनगढी पनि उडान गरेको श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए।
हालको लागि प्रचलित भाडादरमा उडान सुरु गरेको श्रीले केही समयभित्रै प्रबद्र्धनात्मक योजना ल्याइ भाडा समायोजन गरिने श्रीले जानकारी दिएको छ। शनिबारदेखि विराटनगर र भद्रपुर पनि उडान गर्ने मानन्धरले जानकारी दिए।

नेपालदेखि अफ्रिकासम्म हेलिकोप्टर सेवा दिइरहेको श्री एयरलाइन्सले फिक्स्ड वींङको अनुमति अघिल्लो साउनमै पाएको थियो। उसले गएको चैत ३१ गते र वैशाख १६ गते दुई सिआरजे–२०० सिरिजका जेट विमान नेपाल ल्याइसकेको थियो भने तेस्रो विमान सिआरजे–७०० असार ९ गते ल्याएको थियो।

क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका जेट विमानबाट नेपालका यात्रुलाई गुणस्तरीय, आरामदायी हवाई सेवा दिने बताएको छ।

नागरिक उड्डयन प्राधिकरणले इन्सपेक्सन गरिसकेको र त्यसको रिपोर्ट अध्ययनको क्रममा रहेकोले छिट्टै उडान अनुमति पाउने आशमा आफूहरु रहेको मानन्धरले बताए।

कुल दुई अर्ब लगानी थप गरेर तीन वटा विमानबाट सेवा सुरु गर्ने योजना बनाएको श्रीले नेपालको आन्तरिक हवाई उडानमा गुणस्तरिय यात्रा अनुभव, सस्तो सहुलियत सेवा दिइने मानन्धरले दाबी गरे।

श्रीका विमान लामो समयदेखि विमानस्थलमा पार्किङ शुल्क र ऋणको ब्याज, अरु खर्च गरी करोडौं खर्च भइरहेको बताएको थियो। यो अवधिमा श्रीले पार्किङ शुल्कमात्र २५ लाखभन्दा माथि बुझाइसकेको छ। उसका सिआरजे–२०० काठमाडौं र सिआरजे–७०० नेपालगंज पार्किङ गरिराखेको थियो।

५० सिट क्षमताका दुई वटा सिआरजे–२०० विमान ल्याएको श्रीले पहिलोको लागि ‘९ एन–एमसी’ र दोस्रोको लागि ‘९ एन–एएमए’ नेपाली कलसाइन पाएको छ। त्यस्तै असारमा आएको श्रीको तेस्रो जेट विमान ७८ सिट क्षमताको भए पनि त्यसलाई ७० सिटको बनाउने श्रीको योजना छ। श्रीको सिआरजे–७०० विमानलाई प्राधिकरणले ‘९ एन–एमबी’ दर्ता नम्बर दिएको छ।

सुगम क्षेत्रमा मात्र उडान गर्ने योजना बनाएको श्रीका तीन वटा विमानले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी रूटमा नियमित उडान गर्नेछन्। त्यस्तै काठमाडौंबाट नै माउन्टेन फ्लाइट पनि गर्नसक्ने उसको योजना छ।

२४ सिटे एमआई–१७ र एयरबस हेलीकप्टर्स ‘एएस३५० बिथ्रिई’ चार वटा छन्। नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी श्रीले अन्तरिक सँगै अन्तर्रा्ष्ट्रिय (क्षेत्रीय) उडान गर्ने योजना पनि बनाएको छ।

श्रीसँग तीन वटा विमानमा कूल १७० सिट क्षमता हुने छ भने उसले पाँच स्थानमा काठमाडौंबाट उडान गर्ने योजना बनाएको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.