पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, साँझबाट सहजरुपमा तेल पाइने


आयल निगमले व्यवसायीलाई दिने प्राविधिक नोक्सानीबापतको रकम बढाएपछि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले हिजोदेखि जारी आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ।

व्यवसायीले आयल निगमका डिपोहरुबाट तेल ढुवानी गरेर पम्पसम्म ल्याउँदा हुने प्राविधिक नोक्सानीबापतको उचित भरपाई हुनुपर्ने माग राख्दै हिजोदेखि पेट्रोल आयात गरेका थिएनन्। आन्दोलनका कार्यक्रम फिर्ता गरेपछि कारोबार सुचारु भएको छ।

निगमको संचालक समितिले पेट्रोलियम पदार्थ बिक्री वितरणका सम्बन्धमा प्राविधिक नोक्सानीको परिमाणमा हाल दिँदै आएको प्रति चार हजार लिटर पेट्रोलमा दश लिटर तथा सोही परिणामको डिजेलमा तीन लिटर थप गर्ने निर्णय गरेको थियो।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले आशिंकरुपमा भएपनि निगमले माग पुरा गरेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बताए।

उनले सेतोपाटीसँग कुरा गर्दै भने, ‘हाम्रो आंशिक माग पुरा भएका छन् र अन्य मागका सम्बन्धमा तीन महिनाभित्र आवश्यक अध्ययन गरेर सुधार गर्ने प्रतिवद्धता जनाएकाले हामीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हौँ।’

उनले निगमसँगको सहमतिपश्चात ट्यांकर तेल लोड गर्न सम्बन्धित निगमको डिपो पठाइसकेको जानकारी दिए। साँझसम्मबाट सबै निजी पम्पहरुबाट सहजरुपमा तेल पाइने उनले दाबी गरे।

त्यस्तै पम्प खोल्नुपूर्व व्यवसायीले एक लाखदेखि ९ लाखसम्म बुझाउनु पर्ने धरौटी रकमको ब्याज ‘क’ वर्गको बाणिज्य बैंकले दिनेसरह हुनुपर्ने, पुराना पम्पहरुलाई अभिवृद्धि हुने अवसर दिनुपर्ने लगायतका मागहरुका सम्बन्धमा तीन महिना भित्र अध्ययन गर्ने गरी निगमसित सहमति भएको व्यवसायीहरुले बताएका छन्।

निगमले हाल प्राविधिक नोक्सानी बापत प्रति चार हजार लिटर पेट्रोलमा ३५ लिटर तथा सोही परिणामको डिजेलमा २४ लिटर तेल भरपाई दिँदै आएको छ। यससँगै अब भने व्यवसायीले पेट्रोलमा ४५ तथा डिजेलमा २७ लिटर भरपाई प्राप्त गर्नेछन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.