फाकफोकथुम गाउँपालिकाका–१ मा चिया कारखाना निर्माण भइरहेको छ ।
उन्नति समावेशी परियोजनाको सहयोगमा छ करोड रुपैयाँको लागतमा सिद्धदेवी टिस्टेट कम्पनी प्राइभेट लिमिटेडले चिया प्रशोधन गर्ने कारखाना निर्माण गरिरहेको छ । आउँदो असोज महिनादेखि कारखानाबाट हरियोपत्ती प्रशोधन गर्ने लक्ष्य रहेको प्रबन्धक लोचन खत्रीले जानकारी दिए ।
सो कारखानाबाट दैनिक ५०० किलो शुद्ध अर्ग्यानिक चिया उत्पादन हुने अपेक्षा गरिएको छ । कारखानामा १०० जना कामदार रहने कम्पनीले जनाएको छ । कारखाना निर्माणले बगानमा उत्पादन भएको चिया नजिकै विक्री हुने भन्दै किसानमा हर्षित भएका छन् ।
विसं २०४८ देखि सो क्षेत्रमा विभिन्नस्थानबाट बिरुवा संकलन गरी चियाखेती शुरुवात गरेका थिए । हाल धेरैजसो आफ्नै बगानको बेर्ना उत्पादन हुने र अपुग बिरुवा इलाम पानीटार बगानबाट ल्याउने गरिएको म्यानेजर खत्रीले बताए । फाकफोकमा तक्दा, बेनेकबोन, गुप्ती, चाइनिज चियाका बिरुवा लगाइएको छ । सो बगानले कञ्चनजंघा टिस्टेट प्रालि पाँचथरलाई हरियो चियापत्ती विक्री गर्दै आएको थियो । आगामी दिनमा यस बगानबाट उत्पादित चियालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग समन्वय गरी अग्र्यानिक परीक्षणपछि जर्मनी, अमेरिका, जापानलगायत मुलुकमा बिक्रीका लागि पहल गरिने उनको भनाइ छ ।
एक हजार २०० रोपनी क्षेत्रफलमा रहेको चिया बगानको केही ओसिलो ठाउँमा अलैँचीसमेत लगाइएको छ । सडक वरिपरि सल्लो तथा बगानको छेउमा अर्गेली लगाइएको छ । सीमावर्ती पाँचथरको फाल्गुनन्द–४ कृषक चन्द्रकुमार नेम्वाङले निजी लगानीमा ४५ रोपनी क्षेत्रफलमा चिया लगाएका छन् । उनले यहाँबाट अग्र्यानिक चिया उत्पादन गरी विदेश निर्यात गर्दै आएका छन् । यसअघि ग्रामीण क्षेत्रमा कारखाना नहुँदा किसानले हरियो पत्ती उत्पादनमा घाटा व्यहोर्दै आएका थिए । रासस