मुसहर समुदाय च्याउखेतीतर्फ आकर्षित


धुुर्मुस–सुन्तली फाउन्डेसनले बर्दिवासमा चार करोडको लागतमा निर्माण गरेको एकीकृत नमूना मुसहरबस्तीका मुसहर च्याउखेतीतर्फ आकर्षित भएका छन्।

विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)बाट च्याउखेतीको तालीम पाएपछि सो मुसहर समुदाय मजदुरी गर्न छाडेर च्याउखेतीतर्फ लागेको हो। थोरै जग्गा र कम समयमै बढी उत्पादन हुने भएपछि च्याउखेती गर्न थालेको स्थानीय मानकी सदाले बताइन्।

वर्षौंदेखि विभिन्न समस्याले पिल्सिएका यहाँका बासिन्दाको दिनचर्या धुुर्मुस–सुन्तली फाउन्डेसन एवं नाष्टको सहयोगका कारण परिवर्तन भएको हो । नाष्टको सहयोगले कोही बाँसको मुढा बनाउने तथा केहीले च्याउखेती गर्न थालेका छन्।

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्माण एकीकृत नमूना मुसहरबस्तीलाई नाष्टले नमूना वैज्ञानिक गाउँ बनाउन आयआर्जनका लागि सीपमूलक शिक्षा प्रदान गर्दै आएको छ। सो फाउण्डेसनले सबैलाई पाँचकोठे पक्की घर बनाइदिएको छ भने नाष्टले सीप सिकाएर ठूलो गुन लगाएको स्थानीयवासी विल्टु सदा बताउँछन्।

दुई छोरा र दुई छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना बुनेकी आशादेवीले १० धुर जग्गा भाडामा लिई च्याउखेती गर्न थालेकी हुन्। “पहिले दिनभरि परिश्रम गरेर कमाएको रकमले साँझमा नुन तेल किन्दैमा ठिक्क हुन्थ्यो । अहिले आर्थिक अवस्थामा सुधार आएको छ,” उनले भनिन्। नाष्टले मुसहर बस्ती च्याउखेती गर्नका लागि तालीम, प्राविधिक र आर्थिक सहयोग गर्दै आएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.