अकबरे खुर्सानीबाट तीन लाख आम्दानी


फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गरे। शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उनले कृषि पेशा नै अँगाले। परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि उनले अकबरे खुर्सानी रोप्न थाले।

अहिले नेम्बाङले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरी वार्षिक तीन लाखसम्म आम्दानी गर्दै आएका छन्। उत्पादन भएको खुर्सानी राँके र घुर्विसे बजारमा बिक्री गर्छन्। उनको खुर्सानी बिक्रीका लागि झापा, सुनसरी तथा काठमाडौँसम्म पुग्छ।

अकबरे खुर्सानीसँगै नेम्बाङले व्यावसायिक रुपमा सुन्तला र अलैँची खेती समेत गर्दैआएका छन्। अलैँची खेतीबाट उनले वार्षिक पाँच लाखसम्म तथा सुन्तला खेतीबाट वार्षिक एक लाखसम्म आम्दानी गर्दै आएका छन्। नेम्बाङ राष्ट्रपति कृषक पुरस्कार २०७२ बाट समेत सम्मानित भइसकेका छन्।

“जोश, जाँगर र हिम्मत गरे पैसा कमाउन विदेश गइरहनु पर्दैन,”उनले भने। गाउँमै २० रोपनी जग्गा किनेर अहिले उनी व्यावसायिक रुपमा अकबरे खेती र अलैँची खेती गर्दै आएका छन्। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.