सरकारी अनुदान पाएपछि झापामा धमाधम चिया कारखाना खोलिँदै

सरकारी अनुदान पाएपछि झापामा धमाधम चिया कारखाना खोलिँदै


झापा जिल्लाका साना चिया किसान धमाधम चिया कारखाना खोल्न जुटेका छन् । सरकारको ५० प्रतिशत अनुदान लिएर उनीहरु आफैँ कारखाना खोल्न जुटेका हुन् ।

चिया उद्योगीसँग सधैँ हरियो चियापत्तीको उचित मूल्य नपाएको भन्दै गुनासो गर्दै आएका किसानले आफ्नै पहलमा चिया कारखाना शुरू गरेपछि लामो समयदेखि चिया उद्योगी र चिया किसानको विवाद केही मत्थर भएको छ । विसं २०६८ मा पहिलो पटक पृथ्वीनगरका साना चिया कृषकले सात करोड ३५ लाख रुपैयाँको लागतमा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएका थिए । तीन वर्ष लगाएर सञ्चालनमा ल्याएको सो कारखानाको दैनिक १५ हजार किलो हरियोपत्ती प्रशोधन गर्ने क्षमता भए पनि हाल दैनिक पाँच हजार किलो मात्रै प्रशोधन गर्ने गरेको छ ।

चिया कारखानाका लागि सरकारले तीन करोड १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएपछि कृषकले आफ्नै पहलमा चिया उद्योग स्थापना गरेका हुन् । जिल्लामा हालसम्म ३० वटाभन्दा बढी चिया प्रशोधन कारखाना छन् । केही कारखाना सहकारीको माध्यममबाट सञ्चालनमा आएका छन् । साना चिया किसानले सहकारीमार्फत हल्दिवारी र बाहुनडाँगीमा समेत चिया कारखाना सञ्चालनको तयारी थालेका छन् । पाराखोपी साना किसान चिया सहकारी संस्थाले कारखाना स्थापना गरिसकेको छ ।

वनस्पति विषादी, जीवाणुमा आधारित विषादी तथा नवीनतम बाली संरक्षणको प्रविधि अपनाएर यहाँका कृषकले चियाखेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए । कृषकले खेती गर्न शुरू गरेसँगै वर्षेनी रासयनिक विषादीको प्रयोग घट्दै गएको छ । पछिल्लो समय जिल्लामा कृषक र सरकारीस्तरबाटै प्रांगारिक मल उत्पादनका लागि जोड दिँदै आइपीएम (एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति) प्रविधिबाट कृषकले चिया तथा तरकारीखेती गर्न थालेका कारण विषादीको प्रयोग घटेको खरेलको भनाइ छ ।

कृषकले विषादीको सट्टा जैविक तथा वनस्पति विषादी प्रयोग गर्दै उत्पादन गर्ने गरेका कारण विषादीको आयातसमेत घटेको छ । तत्कालीन महेशपुरको पराजुली टि स्टेट, जलथल–४ र हल्दिवारी–३ मा आइपीएम प्रविधिबाट चियाखेती गर्न तालिम प्रदान गरेसँगै यहाँका चिया कृषकले रासायनिक विषादी प्रयोग गर्न छाडेका हुन् ।

चियामा प्रांगारिक प्रमाणीकरणका लागि सरकारले ५० प्रतिशत अनुदान दिने भएपछि सुरेन्द्रनगर साना किसान चिया सहकारी संस्था बाहुनडाँगी, तारखी साना किसान सहकारी संस्था आपडाँगी र पथरीयामा रहेको चिया बगानले प्रांगारिक चियाखेती गर्दैआएका छन् ।

बाहुनडाँगीमा चिया कारखाना सञ्चालन गर्ने तयारी

बाहुनडाँगीमा आठ करोड रुपैयाँभन्दा बढीको लागतमा चिया प्रशोधन कारखाना सञ्चालन गर्ने तयारी भइरहेको छ । सरकारको ५० प्रतिशत अनुदान र अन्य रकम किसान आफैँले जुटाएर कारखाना सञ्चालन गर्न aलागिएको हो । स्थानीय साना चिया कृषक सक्षम निरौलाका अनुसार चार किस्तामा रकम निकासा भइसकेको र सो रकमले चिया कारखाना निर्माण गरिएको छ ।

पहिलो किस्तामा सरकारले एक करोड ९५ लाख रुपैयाँ, दोस्रो किस्तामा २३ लाख रुपैयाँ, तेस्रो किस्तामा ७५ लाख रुपैयाँ र चौथो किस्तामा ६४ लाख रुपैयाँ प्रदान गरेको छ । कात्तिकबाट चिया प्रशोधन कारखाना सञ्चालनमा आउनेछ ।

शुभ चिया किसान सहकारी संस्थामार्फत कृषकले आफ्नै पहलमा चिया प्रशोधन कारखाना सञ्चालन गर्न लागेका हुन् । चिया कारखाना सञ्चालनमा आए सो क्षेत्रका एक हजारभन्दा बढी कृषक लाभान्वित हुने छन् । विसं २०६४ मा स्थपना भएको सो सहकारीले सञ्चालनमा ल्याउन लागेको चिया प्रशोधन कारखानाले दैनिक पाँच हजार किलो तयारी चिया उत्पादन गर्ने र वार्षिक एक करोड रुपैयाँ नाफा गर्ने लक्ष्य राखेको निरौलाले बताए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.