झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन, विदेशमा नेपाली चियाको माग बढ्दो


जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा कुल ११ हजार ४४३ हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ । तीन हजार ६९५ हेक्टर क्षेत्रफलमा दुई हजार ९२७ साना चिया कृषकले चियाखेती गरिरहेका छन् ।

कार्यालयको तथ्याँकअनुसार आव २०७०/७१ मा दुई करोड १० लाख ७६ हजार ३६६ किलो तयारी चिया उत्पादन भएको थियो । आव २०७१/७२ मा दुई करोड ३१ लख ८६ हजार ७२६ किलो तयारी चिया उत्पादन भएको थियो । चियाखेतीतर्फ किसान आकर्षित भएसँगै उत्पादनमा वृद्धि भएको अधिकारीको भनाइ छ । नेपालमा उत्पादित सिटिसी चिया प्रतिकिलो १ सय ५० रुपैयाँका दरले विक्री हुने गरेको छ भने अर्थोडक्स चिया प्रतिकिलो ३ सय रुपैयाँ का दरले विक्री हुँदैआएको छ ।

विषादीरहित चिया उत्पादन

नेपाली चिया अन्तरराष्ट्रिय बजारमा लोकप्रिय बनेसँगै किसान विषादीरहित चिया उत्पादनमा जुटेका छन् । केही वर्ष अघिसम्म अधिकतम विषादी प्रयोग गर्दै चिया उत्पादन गर्ने यहाँका कृषक अहिले प्रांगारिक चिया उत्पादनमा जुटेका हुन् ।

प्रांगारिक चियाले अन्तरराष्ट्रिय बजारमा सजिलै प्रतिष्पर्धा गर्न सक्ने भएकाले झापाली चिया कृषकले विषादीरहित चिया उत्पादन शुरू गरेको कृषि विकास अधिकृत अधिकारीले बताए । उनका अनुसार पूर्वी नेपालको इलाम र पाँचथर प्रांगारिक चिया उत्पादनका लागि चिनिन थालेपछि यहाँका कृषकले पनि प्रांगारिक चिया उत्पादनमा जोड दिएका हुन् ।

भारतीय चियाको तुलनामा नेपालमा उत्पादित चिया सस्तो हुने भएकाले यहाँको चिया भारत जाने र भारतबाट तेस्रो मुलुक निर्यात हुने गरेको छ । नेपालमा उत्पादित चियाले टे«डमार्क नपाएका कारण भारतीय व्यापारीले यहाँ उत्पादन भएको चिया भारत लैजाने गरेको र भारतीय ब्राण्डमा नेपाली चिया विक्री गर्ने गरेको चिया किसानको भनाइ छ ।

नेपाली तयारी चिया भारतको मण्डी हुँदै तेस्रो देशमा निर्यात हुने गरेको छ । नेपालको प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानाडा, जापान, चीनलगायतका मुलुकमा निकासी हुने गरेको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.