झापामा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै


पछिल्लो समय झापामा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधिले ढिलो रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डाक्टर केकिन राईले बताए ।

‘अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’, उनले भने, ‘यहाँ भने त्यस्तो छैन ।’आयुर्वेदको महत्व बुझ्दै गएपछि यसमा अझ आकर्षण बढ्दै जाने उनको भनाइ छ ।

झापामा आर्थिक वर्ष २०७३/७४ मा ३४ हजार १६ जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा तीन हजार ६ सय ४७ ले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७२ /७३ मा जिल्लामा ३० हजार ३ सय ६९ जनाले उपचार सेवा लिएका थिए भने आव २०७१/७२ मा २६ हजार जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले बताएको छ ।

यस आवमा साउनमा दुई हजार ३ सय २, भदौमा एक हजार ९ सय ९०, असोजमा एक हजार ६ सय १२, कात्तिकमा एक हजार ६ सय ६५, मङ्सिरमा दुई हजार ९१, पुसमा एक हजार ८ सय ८९, माघमा एक हजार ९ सय ३८, फागुनमा दुई हजार १ सय २४ चैत दुई हजार २ सय ६, वैशाखमा दुई हजार ९६, जेठमा दुई हजार ६ सय ११ र असारमा दुई हजार ४ सय ५ जनाले आयुर्वेदिक स्वास्थ्य सेवा लिएका छन् ।

यो तथ्याङ्क जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र सातवटा औषधालयको हो । जिल्लाको बाहुनडाँगी, बुधबारे, शनिश्चरे, दूधे, बैगुनधुरा, चकचकी र शरणामतीमा आयुर्वेद औषधालय र लखनपुर, सुरुङ्गा र खुदुनाबारीमा गाउँघर क्लिनिक सञ्चालनमा रहेको छ ।

त्यस्तै, स्तनपायी आमा (मातृशिशु स्वास्थ्य) कार्यक्रम, निःशुल्क स्वास्थ्य आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम र घुम्ती शिविरबाट नौ हजार ८५ जनाले सेवा लिएको कार्यालयका तथ्याङ्क शाखाका मनोजकुमार पण्डितले जानकारी दिए ।

यता, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चालनमा ल्याएको अतिरिक्त सेवा प्रभावकारी बन्दै गएको छ । दैनिक २०/२५ जना बिरामी आउने गरेकोमा अतिरिक्त सेवा शुरू भएपछि ४०/४५ जना आउने गरेका छन् ।

कार्यालयले पञ्चकर्म र क्षारसुत्र सेवा सञ्चालनमा ल्याएपछि दैनिक आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको कार्यालयका कविराज तीर्थराज आचार्यले जानकारी दिए । गत वैशाखदेखि सञ्चालनमा ल्याइएको उक्त सेवाबाट १० जना पायल्स र फिस्टुला रोगीको क्षारसुत्रबाट उपचार गरिएको छ । औषधिसहित रू. चार हजारमा पायल्स र फिस्टुलाको उपचार गरिएको आचार्यले जानकारी दिए । उनका अनुसार अन्यत्र उपचार गराउँदा कम्तीमा रू. १५ देखि रू. २० हजारसम्म खर्च हुन्छ ।

हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर अन्तर्गत सातवटा इलाका स्तरीय आयुर्वेद औषधालय र निजीस्तरमा एक अस्पताल, एक पोलिक्लिनिक र १९ वटा क्लिनिक गरी २१ वटा क्लिनिकबाट आयुर्वेद सेवा सञ्चालन भइरहेको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.