चितवनका साढे आठ सय पसल तथा उद्योगमा अनुगमन


जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षमा ८४२ वटा पसल तथा उद्योगको अनुगमन गरेको छ ।

कार्यालयले आज आयोजना गरेको उपभोक्ता सचेतना जागरण कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्कअनुसार अनुगमनका क्रममा १२४ वटा नमुना सङ्कलन गरी क्षेत्रीय गुणनियन्त्रण कार्यालय पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमप्रसाद शर्माका अनुसार पठाइएका मध्ये २५ वटाको नमुना जाँच प्राप्त भइसकेको छ । बाह्र वटाको मुद्दा दर्ता भइसकेको छ भने १३ वटाको निर्णयका लागि सरकारी वकिल कार्यालय पठाइएको छ ।

आव २०७३÷७४ मा सबैभन्दा बढी कात्तिकमा १४० वटा पसल तथा उद्योगको अनुगमन गरिएको थियो । सबैभन्दा धेरै पटक किराना पसलमा अनुगमन गरिएको थियो । फेन्सी, मेडिकल, कन्सल्टेन्सी, डेरी, तरकारी, फलफूल, माछामासु, होटल, एग्रोभेट, मिठाइ पसल, रेस्टुरेन्ट, पाउरोटी उद्योग, पेट्रोलपम्पलगायत क्षेत्रमा अनुगमन गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अनुगमनलाई प्रभावकारी बनाउँदै यसमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए। बजारमा मूल्य समायोजनलगायत काम प्रभावकारी बनाउनका लागि व्यवसायीलाई उनले निर्देशन दिए।

अनुगमन बढाएसँगै दर्ता गरेर मात्र व्यापार सञ्चालन गर्नुपर्छ भन्ने भावनाको विकास भएको, मूल्य सूची टाँस्ने काम गरिएको, गुणस्तरमा सुधार आएको, म्याद नाघेका वस्तु विस्तारै हराउँदै गएको र अधिकांश स्थानीय उत्पादनमा लेबल लाउने काम गरिएको प्रजिअ भट्टले बताए। गत आवमा ६०८ ठाउँमा अनुगमन गरिएको थियो भने ४२ वटा मुद्दा समेत दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.