चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीद्वारा संकटलाई अवसरमा बदल्न आग्रह


चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले उद्यमी व्यवसायीहरूले संकटलाई अवसरमा रुपान्तरण गर्न सक्नु पर्ने बताएका छन्।

उद्यमी व्यवसायीको छाता संगठन सिलोन चेम्बर अफ कमर्सको १७८ औं वार्षिक साधारण सभालाई कोलम्बोमा प्रमुख अतिथीको हैसियतमा सम्बोधन गर्दै अध्यक्ष चौधरीले लगानीकर्ताका लागि संकट अवसर पनि रहेको धारणा राखे।

‘जतिबेला एलटिटिईले कोलम्बो एयरपोर्टमा विमानहरू ध्वस्त पारेको थियो, त्यही समयमा म श्रीलंका प्रवेश गरेको थिएँ’, चौधरीले भने ‘श्रीलंकाको राजनीतिक संकटलाई कारण देखाएर यहाँ लगानी नगरेको भए सायद मैले धेरै महत्वपूर्ण कुराहरु गुमाउने थिएँ।’ सिजीकर्प ग्लोबलले श्रीलंकामा ताज समुद्र लगायतका प्रख्यात होटलहरूमा लगानी गरेको छ।

अध्यक्ष चौधरीले नेपालको माओवादी द्वन्द्वको समयमा नवलपरासीमा सिजी इन्डस्ट्रियल पार्क स्थापना गरेको, उत्तरपूर्वी भारतमा उल्फाले द्वन्द्व मच्चाइ रहँदा वाईवाईको बजार प्रवद्र्धन गरेको र अफ्रिकामा जारी द्वन्द्वका बीच लगानी विस्तार गरिरहेको आफ्नो अनुभव श्रीलंकाली लगानीकर्तासँग बाँडे।

‘लगानीको अनुकुल वातावरण तयार होला र लगानी विस्तार गरौँला भनेर प्रतिक्षा गरेको भए चौधरी ग्रुुप अहिले मल्टिन्यासनल कम्पनी हुन संभव थिएन’, उनले भने ‘एक जना उद्यमीले प्रतिकुल अवस्थालाई पनि अनुकुलतामा परिणत गर्न सक्छ र त्यसो गर्न सम्भव छ।’

अध्यक्ष चौधरीले विजनेशका परम्परागत सोचहरू असान्दर्भिक भएको विश्लेषण गर्दै नयाँ विजनेश सोचहरुले विश्वमा राज गर्न थालेको बताए। ‘आज विश्वमा सबैभन्दा धेरै ब्यापार त्यसले गर्छ जसको कुनै वेयरहाउस छैन। विश्वमा सबैभन्दा प्रभावकारी रुपमा टयाक्सी सेवा उपलब्ध गराउनेसँग आफ्नो स्वामित्वमा एउटै टयाक्सी छैन। र, सबैभन्दा धेरै होटल रूम विक्री गर्ने कम्पनीको आफ्नो स्वामित्वमा एउटा पनि होटल छैन।’ अध्यक्ष चौधरीले भने ‘जोसँग नयाँ सोँच छ, आजको विजनेश दुनियाँमा उसकै राज चल्नेछ ।’ परम्परागत सोँचबाट सञ्चालित विजनेशहरू कुनै पनि बेला असान्दर्भिक हुन सक्नेतर्फ सचेत गराउँदै अध्यक्ष चौधरीले समयानुकुल आफ्ना विजनेशलाई अपडेट गर्न नसक्ने हो भने नोकिया, ब्ल्याकबेरी वा कोडाकको जस्तै नियती भोग्नु पर्ने धारणा राखे।

सूचना प्रविधिका क्षेत्रमा भइरहेको तिब्र विकासबाट दक्षिण एसियाली युवाहरुले लाभ लिन सक्नुपर्ने उनको सुझाव छ। अहिले विश्वमा सूचना प्रविधीमा आधारित विजनेशहरुबाट धेरै युवाहरूले आफुलाई अर्बपति क्लबमा प्रवेश गराईरहेका छन्।

अध्यक्ष चौधरीले नेपाली अर्थतन्त्रमा सन्तोषजनक सुधार आएको जानकारी दिँदै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न पनि ध्यानाकर्षण गरे। आर्थिक बृद्धिदर उच्च रहेको, लोडसेडिङको समस्या नरहेको, पूर्वाधार विकासमा नेपालले फड्को मारिरहेको जानकारी दिँदै उनले नेपालमा लगानी गर्न यो उपयुक्त समय रहेको बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.