वाइड बडी विमानको लागि निगमले पठायो ८ अर्ब रुपैयाँ

वाइड बडी विमानको लागि निगमले पठायो ८ अर्ब रुपैयाँ




राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले वाइड बडी विमान खरिदको लागि पहिलो किस्ता स्वरुप आठ अर्ब रुपैयाँ पठाएको छ। पहिलो किस्ता कूल मूल्यको ३५ प्रतिशत पठाउने सर्त बमोजिम आज ७ करोड ९० लाख अमेरिकी डलर एरबसको इक्क्रो खातामा पठाइएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।

यसअघि गएको चैत २५ गते अमेरिकी कम्पनी एआरआर कर्पोरेसनसँग विमान खरिद सम्झौता गरेको निगमले पहिलो किस्ता स्वरुप उक्त रकम आज पठाएको हो। यसअघि निगमले बैनावापत एआरआरलाई १० लाख अमेरिकी डलर पठाइसकेको छ।

निगमले यअघि उक्त रकम पठाउनको लागि नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको थियो। राष्ट्र बैंकले निगमलाई बिहिबार नै स्वीकृति दिएको थियो।

निगमले विमान खरिदको लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग समान १२ अर्ब रुपैयाँ ऋण लिने भएको छ। १५ वर्षमा तिर्नेगरी यही हप्ता दुवै निकायसँग ऋण सम्झौता गरेको निगमले आधाआधा रकम लिएर पहिलो किस्ता पठाएको हो। यो रकम सिँधै एयरबसको खातामा पुग्ने कंसाकारले जानकारी दिए।

गएको कात्तिकमा विमान किन्न प्रकाशित गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुईवटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो। यसअनुसार निगमले दुईवटा विमान किन्न २१ अर्ब ५८ करोड नेपाली रुपैयाँ खर्चनुपर्ने छ।

एएआरले पोर्चुगलको हाइफ्लाई एयरलाइन्सको लागि भन्दै एयरबसमा अर्डर गरेको दुईवटा ‘ए३३०–२००’ सिरिजका नयाँ विमान उपलब्ध गराउने प्रस्ताव गरेको छ। निगमले भने एक हजार घण्टासम्म उडेका विमान किन्न सकिने भन्दै टेन्डर आव्हान गरेको थियो।

एएआरसँग भएको सम्झौता अनुसार पहिलो वाइड बडी सन् २०१८ को मे र दोस्रो विमान जुनमा काठमाडौं आइपुग्ने छन्। निगमले दोस्रो किस्ता भने विमान आउनुभन्दा एकहप्ता अगाडि पठाउने कंसाकारले जानकारी दिए।

सन् २०१८ को मार्चसम्म दुईवटा ‘एयरवस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना बनाएको नेपाल एयरलाइन्सले पहिलो वाइड बडी विमान २०७४ को असोज महिनासम्म र त्यसको ६ महिनापछि अर्को विमान काठमाडौं ल्याउने भनिएपनि अब नयाँ कार्यतालिका अनुसार पहिलो विमान ०७४ मंसिर र अर्को फागुनमा आउने महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।

निगमले खरिद गर्ने जहाजमा २–२–२ फर्म्याटका ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म बिजनेस क्लास, २–४–२ फर्म्याटका ३० देखि ३६ इन्चसम्मको पिच भएका इकनोमिक क्लासका सिट सहित जम्मा २५० देखि २८० सम्म सिट हुनेछन्।

विमान आएपछि जापान कोरिया,अष्ट्रेलिया, सिंगापुर, ग्वान्जाउ उडान भर्ने निगमको तयारी छ। तर पहिलो वाइडवडीको पहिलो उडान भने कोरियाको इन्चोन एयरपोर्टमा गर्ने निगमले बताएको छ। हाल निगमले एउटा बोइङ र दुईवटा एयरबसबाट हप्तामा भारतका तीन शहरमा २०, हङकङ, बैंकक र क्वालालम्पुर ३र३ र दुबई,दोहामा ४÷४ वटा उडान गरी कूल ३७ वटा उडान भर्दै आएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.