नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि विराटनगरमा मतदान सुरू भएको छ।
आइतबार साँझ ८ बजेदेखि मतदान सुरू भएको महासंघ कोशीका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए। महासंघ कोशीको अध्यक्ष बन्न यसपटक विराटनगरका दुई जना चर्चित उद्योगीहरू चुनावी प्रतिष्पर्धामा उत्रेका छन्।
महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र महासंघकै केन्द्रीय सदस्य नविन रिजाल अध्यक्षको उम्मेदवार बनेका छन्।
पाँच पदाधिकारीमध्ये अध्यक्षबाहेक सबै पदमा निर्विरोध हुँदा अध्यक्ष र सात जना सदस्यका लागि मात्रै निर्वाचन हुँदैछ।
निर्विरोध चयन भएका तीन जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष र दुई जना सदस्य सबै राजेन्द्र राउत प्यानलका हुन्।
निर्वाचन समितिका अनुसार जिल्ला नगरतर्फको उपाध्यक्षमा झापा धुलाबारीका ऋषिराज तिम्सिना निर्विरोध निर्वाचित हुँदा वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा विराटनगरकै श्रवणकुमार अग्रवाल पनि निर्विरोध चयन भएका छन्। एसोसिएट सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि निर्विरोध चयन भएका छन्।
महासंघ कोशीमा जिल्ला नगर उद्योग वाणिज्य संघहरूबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी २०५ मतदाताले महासंघको नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
१ जना अध्यक्ष, ३ जना उपाध्यक्ष (जिल्ला/नगर, वस्तुगत र एसोसिएट) र १ जना कोषाध्यक्ष गरी ५ जना पदाधिकारी र त्यस्तै जिल्ला नगरबाट ५ जना सदस्य, वस्तुगतबाट २ र एसोसिएटतर्फबाट २ जना सदस्यसहित १४ सदस्यीय प्रदेश समिति छानिनेछ।