उद्योगी–व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन हुँदैछ।
विराटनगरमा आज हुने महासंघको ८ औं प्रदेशसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।
महासंघ कोशीको अध्यक्ष बन्न यसपटक विराटनगरका दुई जना चर्चित उद्योगीहरु चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
महासंघ कोशीका हालका अध्यक्ष राजेन्द्र राउत र महासंघकै केन्द्रीय सदस्य नविन रिजाल अध्यक्षको प्रतिस्पर्धामा छन।
दुवै जनाले एक महिनाभन्दा लामो समयदेखि प्रदेशभरि चुनावी अभियान चलाइरहेका छन्।
निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता हुनेछ।
बेलुकी ६ बजेदेखि ८ बजेसम्म मतदान हुनेछ भने मतदान सकिएपछि मतगणना र परिणाम घोषणा हुनेछ।
अध्यक्षका आकांक्षीहरु राउत र रिजाल दुवैले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गर्दैछन्। यी दुई उद्योगीबीचको चुनावी प्रतिस्पर्धा नयाँ भने होइन।
८ वर्षअघि मोरङ व्यापार संघको निर्वाचनमा पनि उनीहरू फरक–फरक प्यानलबाट भिडेका थिए, जहाँ रिजाल पक्ष विजयी बनेको थियो।
यसपटक राउत पुरानो हारको बदला लिने योजनामा हुँदा रिजाल भने पुरानै सफलता दोहोर्याउने लक्ष्यमा हुनेछन्।
हालका अध्यक्ष राउत महासंघ अध्यक्ष चन्द्र ढकाल निकट समूहका हुन् भने रिजाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पक्षसँग आबद्ध छन्।
महासंघ कोशीमा हुन लागेको निर्वाचनमा कूल २०५ जना मतदाता छन्।
जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी २०५ मतदाताले महासंघको नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
१ जना अध्यक्ष, ३ जना उपाध्यक्ष (जिल्ला/नगर, वस्तुगत र एसोसिएट) र १ जना कोषाध्यक्ष गरी ५ जना पदाधिकारी छानिनेछन्। त्यस्तै जिल्ला नगरबाट ५ जना सदस्य, वस्तुगतबाट २ र एसोसिएटतर्फबाट २ जना सदस्य छानिने छन् । यसरी आइतबार हुने निर्वाचनबाट महासंघको १४ सदस्यीय प्रदेश समिति छानिनेछ।