नेपाल आयल निगमले ग्यासको पूरा सिलिण्डर ढुवानी तथा आपूर्तिबारे कुनै ठोस निर्णय नभएको बताएको छ।
हालसम्म इरान–इसराइलबीचको द्वन्द्व कहिलेसम्म लम्बिने हो भन्ने यकिन नभएका कारण पूरा ग्यास सिलिण्डर बजारमा लैजानेबारे नसोचिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
'पूरा ग्यास बजारमा लैजानेबारे निगमका छलफल नै भएको छैन,' उनले भने, 'पूरा लैजाने अवस्था नै छैन।'
उनका अनुसार अहिले बजारमा आधा सिलिण्डर ग्यास नै वितरण गरिने छ।
पेट्रोलियम पदार्थको स्वदेशी उत्पादन छैन। भारत सरकारको स्वामित्व भएको इन्डियल आयल कर्पोरेसन (आइओसी) बाट आयात गरेर निगमले वितरण गर्छ।
इरान–इसराइल द्वन्द्वका कारण आइओसीबाट पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य वृद्धि भएर आएको छ। निगमले १५–१५ दिनमा मूल्य पठाउँछ।
निगमले उपलब्ध गराएको सूचना अनुसार १ मार्चमा आइओसीबाट पेट्रोलमा ३१ र डिजेलमा ५४ रूपैयाँ बढेको थियो भने खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर दुई सय १६ रूपैयाँ वृद्धि भएको छ।
तर निगमले भने नेपाली उपभोक्तालाई आइओसीबाट आएको मूल्य कायम नगरी उपभोक्ताका लागि ग्यासको मूल्य यथास्थितिमा राख्दै पेट्रोलमा १५ र डिजेलमा १० रूपैयाँ बढाएको थियो।
पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहँदा र सोही अनुसार मूल्य वृद्धि हुन नसक्दा निगमको घाटा बढेको छ।
उक्त घाटा समायोजन गर्न निगमले बुधबार राति एक बजेबाट लागु हुनेगरी पेट्रोल र डिजेलमा १५/१५ रूपैयाँ वृद्धि गरेको छ।
निगमको घाटा थप बढाएको र सोही घाटाबीच नियमित आपूर्ति कायम राख्न बुधबार मूल्य समायोजन गर्नुपरेको निगमका प्रवक्ता मनोजले जानकारी दिए।
'लगातार घाटामा रहेर व्यापार गर्न गाह्रो छ, आपूर्ति नरोकिने गरी व्यवस्थापन गर्न डिजेल/पेट्रोलको मूल्य बढाएका हौं,' उनले भने।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लाग्नु पछिल्लो समय चर्किएको इरान–इसरायल द्वन्द्व मुख्य कारण हो।
मध्यपूर्वमा बढ्दो तनावका कारण आपूर्ति श्रृंखलामा असर पर्ने र तेलको मूल्य अझै बढ्न सक्ने विश्लेषण गरिएको छ, जसको प्रत्यक्ष प्रभाव नेपालजस्तो आयातमुखी देशमा पर्ने देखिन्छ।
ऊर्जा विज्ञहरूका अनुसार यदि इरान–इसराइल द्वन्द्व लम्बिँदै गएमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य थप अस्थिर बन्नेछ, जसले नेपालमा पेट्रोलियम पदार्थको मूल्य अझै महँगो बनाउने सम्भावना रहेको छ।