महिला उद्यमीका कथा
रेश्मा महर्जन र संगीता श्रेष्ठ एक दशकअघिसम्म हस्तकला सम्बन्धी एउटा कम्पनीको कारखानामा काम गर्थे। उनीहरूले झन्डै दुई दशक सँगै बिताए। केही कारणले त्यो कम्पनी बन्द भयो।
कम्पनी बन्द भएर रोजगारी गुम्यो। तर त्यसैले उनीहरूका लागि अवसरको ढोका खोलिदियो।
कामको सिलसिलामा भेटिएर गाढा बनेको उनीहरूको सम्बन्ध व्यावसायिक साझेदारीमा परिणत भएको छ।
'हामी दुवैले १८ वर्ष एउटै ह्यान्डिक्राफ्ट कम्पनीमा बितायौं। कामको ज्ञान र अनुभव बटुल्यौं,' रेश्माले भनिन्, 'त्यो कम्पनी बन्द भएपछि हामी आफैले काम थाल्यौं।'
-1742756095.jpg)
रेश्मा र संगीताले हस्तकलामा व्यावसायिक साझेदारी गरेको सात वर्ष भयो।
उनीहरूले ललितपुरको झम्सीखेलमा र पाटनमा 'नेचर क्राफ्ट' नामको पसल चलाएका छन्।
नेचर क्राफ्टमा विशेष गरी तराई–मधेसमा पाइने वनस्पति पटेर, मकैको खोस्टा, काँस लगायत वनस्पतिबाट बनेका सामग्री पाइन्छ। त्यस्तै धागोबाट बनेका सामान पनि पाइन्छ। यसले घर, कार्यालय र रेस्टुरेन्ट सजावटका तथा दैनिक प्रयोगका सामान बनाउँछ। बस्ने मुडा, सुकुल र म्याट; डस्टबिन, गमला राख्ने प्लान्टर, वालेट, ब्याग, बास्केट लगायत दुई सयभन्दा बढी किसिमका सामान यहाँ पाइन्छ।
'यी सबै सामान हातैले बनाइन्छ,' रेश्माले भनिन्।
हाल नेचर क्राफ्टमा पाइने सामानको मूल्य ५० रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म छ। लेडिज ब्याग, मुडा र गमला प्लान्टर धेरैको रोजाइमा रहेको उनले बताइन्।
पटेरबाट बनेको लेडिज ब्याग निकै आकर्षक भएकाले स्वदेशी र विदेशी दुवैले मनपराएको रेश्माको भनाइ छ। यसको डिजाइन पनि उनैले गरेकी हुन्।
मकैको खोस्टाबाट बनेको ब्याग देखेपछि उनले पटेरको ब्याग बनाएकी थिइन्। यो ब्याग बजारमा आएको छोटो समयमै धेरैले रूचाएको उनले बताइन्।
'कस्तो हुँदो रहेछ भनेर परीक्षणका लागि पटेरको ब्याग बनाएका थियौं। बजारमा पुग्नासाथ माग बढ्यो। अहिले पनि धेरै बिक्री भइरहेको छ,' उनले भनिन्।
पटेरको ब्याग पहिलो पटक आफूहरूले नै बजारमा ल्याएको उनको दावी छ। उनीहरू पटेरको मुडा पनि बनाउँछन्।
आजकाल धेरै घर, कार्यालय र रेस्टुरेन्ट प्राकृतिक देखाउन हस्तकला सामग्रीले सजाउने गरेको संगीताको अनुभव छ।
-1742756094.jpg)
-1742756092.jpg)
यस किसिमका सामग्री बनाउन नेचर क्राफ्टमा दुई सय जनाभन्दा बढी महिला संलग्न छन्। ललितपुरस्थित त्यागलमा रहेको कारखानामा दस जना महिला काम गर्छन्। धेरैजसोले घरमै सामान बनाएर पठाउँछन्। नवलपरासी, दाङ, कपिलवस्तु, मोरङ लगायत तराईका विभिन्न जिल्लाका महिलाहरू पनि नेचर क्राफ्टमा आबद्ध छन्।
रेश्मा र संगीताले गाउँधरमै तालिम दिएर महिलाहरूलाई उत्पादनमा लगाएका हुन्।
नेचर क्राफ्टले ग्राहकको चाहना अनुसार कस्टमाइज्ड गरेर पनि सामान तयार गरिदिन्छ।
'कहिलेकाहीँ ग्राहकले हामीसँग नभएको डिजाइनको सामान खोज्नुहुन्छ। यस्तो सामान बनाउन म दिदीबहिनीलाई भेट्न जान्छु र सिकाएर फर्किन्छु। उहाँहरू त्यसै अनुसार बुनेर पठाउनुहुन्छ।'
धेरैजसो सामान काठमाडौं उपत्यकामै खपत हुन्छ।
उनका अनुसार रेस्टुरेन्टमा प्राकृतिक भाव दिन र देखाउन खोज्ने व्यवसायीहरूले नेचर क्राफ्टका सामान लैजान्छन्। घर सजाउन र उपहारका लागि किन्नेहरू पनि धेरै छन्।
रेश्मा र संगीताले नेचर क्राफ्टको पसलमा अन्य उत्पादकका सामान पनि राख्ने तयारी गरेका छन्। अबको केही महिनामा नेचर क्राफ्टमा कम्तीमा २५ वटा भेन्डर हुनेछन्। नयाँ ब्रान्डलाई पनि सँगै लैजानुपर्छ भन्ने सोचले अरूलाई पनि साथमा लिने तयारी थालेको संगीताले बताइन्।
'अहिले पनि अन्य केही ब्रान्डका सामान छन्। सबै मिलेर स्थानीय उत्पादन र हस्तकला प्रवर्द्धन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,' उनले भनिन्।
रेश्मा र संगीताले नेचर क्राफ्ट सन् २०१९ मा दर्ता गराएका हुन्।
आफै कम्पनी स्थापना गर्ने निर्णय हुँदा रेश्मा र संगीतासँग अन्य दुई साथी पनि थिए। चार जना मिलेर पाँच हजारका दरले २० हजार रूपैयाँ जम्मा गरे। त्यही पैसाका भरमा एउटा कोठामा सामान बनाउन थाले। व्यापार अघि बढ्यो।
कम्पनी दर्ता भएपछि सामाजिक सञ्जालमा पेज बनाए। कोभिडको समयमा उनीहरूले हस्तकलाका सामग्रीको राम्रो व्यापार गरे। एउटा कोठा भाडामा लिएर १० जना महिलालाई काम दिए।
-1742756093.jpg)
-1742756094.jpg)
'सुरूमै हामीले केही रेस्टुरेन्टमा सामान दियौं। विदेश निर्यातको अवसर पनि पायौं। त्यसले हामीलाई निकै सजिलो बनायो। अहिलेसम्म राम्रो छ,' रेश्माले भनिन्।
व्यापार बढ्दै गएपछि उनीहरूले उपयुक्त ठाउँमा पसल खोल्ने र त्यहीँबाट व्यवसाय विस्तार गर्ने योजना बनाए। त्यस बेलासम्म अन्य दुई जना साथी साझेदारीबाट अलग भइसकेका थिए।
रेश्मा र संगीता व्यावसायिक साझेदारीमा निरन्तर अघि बढे। उनीहरूले हस्तकलाका सामग्रीको बजार कति व्यापक छ भन्ने कुरा पहिले काम गर्दा नै थाहा पाएका थिए। यस कारण पनि नेचर क्राफ्ट अघि बढाउन केही सहज भयो।
यसरी एउटा कोठाबाट सुरू भएको व्यवसाय आज दुइटा पसल (आउटलेट) भएका छन्। अझ विस्तार हुने क्रममा रहेको संगीताले बताइन्।
पसलहरूको जिम्मेवारी संगीताको छ। रेश्मा उत्पादन, बजार र तालिममा केन्द्रित हुन्छिन्।
'दुई सयभन्दा बढी महिलालाई रोजगारी दिन सक्नु गर्वको कुरा हो,' संगीताले भनिन्, 'हामीले गाउँघरमै महिलाहरूलाई काम दिएका छौं। उनीहरूका लागि आम्दानीको स्रोत बनाइदिनु पनि ठूलो कुरा हो।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
-1742756094.jpg)
-1742756095.jpg)
-1742756093.jpg)
-1742756093.jpg)
-1742756092.jpg)
-1742756091.jpg)
-1742756092.jpg)
-1742756092.jpg)
-1742756092.jpg)
-1742756091.jpg)