महिला उद्यमीका कथा
साढे दुई वर्षअघि बुटवलकी ओसिन थापा गुरूङले चप्पल बनाउने तालिम लिएकी थिइन्। एक साताको त्यो तालिममा उनले तीन वटा डिजाइन सिकिन्।
तालिमपछि उनले सीप उपयोग गर्ने सोचिन्।
'चप्पल बनाउन सिकेर मात्र त भएन। सीप प्रयोग गर्न सकेँ भने उद्यमी बन्न सक्छु भन्ने लाग्यो,' ओसिनले भनिन्।
उनले आफ्नो घरमै चप्पल बनाउने निधो गरिन्।
पहिलो खेपमा कच्चा पदार्थका लागि आफूसँग भएको पाँच हजार रूपैयाँ लगानी गरिन्। बुटवल बजार गएर रबर, गम, रेग्जिन, भेलभेट कपडा लगायत आवश्यक सामग्री किनिन्।
बिहान–बेलुका घरको काम सकेर दिउँसो चप्पल बनाउन थालिन्। एक दिनमा एक जोर चप्पल बनाइन्। चप्पलको फोटो आफ्नो फेसबुकमा राखिन्। आफन्त र चिनजानका मानिसले अर्डर गरे।
'सुरूमा भेलभेटको चप्पल बनाएकी थिएँ। बिक्री भइहाल्यो। त्यति छिट्टै बिक्ला भन्ने त सोचेकै थिइनँ,' ओसिनले सुनाइन्।
यसपछि उनी उत्साहित भइन्। तालिममा सिकेकै डिजाइनमा थप चप्पल बनाइन्।
आफ्ना चप्पललाई उनले 'ह्यान्डमेड (सियोना) लेडिज–स्लिपर्स' नाम दिइन्। बिस्तारै दैनिक दुई जोरसम्म चप्पल बनाउन थालिन्। तर उनले जानेको तीन वटा डिजाइन मात्र थियो। त्यसैले उनी बजार घुमिन्, चल्तीका डिजाइन हेरिन्। सोही अनुसार युवावर्गका लागि सोचेर नयाँनयाँ डिजाइनमा चप्पल बनाउन थालिन्।
'नयाँ डिजाइनमा काम गर्दा थुप्रै पटक बिग्रियो। जति बिग्रिए पनि बनाइरहेँ। बिस्तारै हात बस्दै गयो। आफै डिजाइन गरेर विभिन्न किसिमका चप्पल बनाउन सक्ने भएँ,' उनले भनिन्।
काम सुरू गरेको करिब ६ महिनापछि उनलाई अर्डर अनुसार डिजाइन गरेर चप्पल बनाउन भ्याइनभ्याइ हुन थाल्यो। उनी चप्पल लिएर बुटवलका व्यापार मेलाहरूमा पनि पुग्न थालिन्। हातले सिएर बनाउने भएकाले चप्पल धेरैले मन पराए। व्यापार बढ्दै गयो।
उनको घरमा काम गर्ने ठाउँ सानो भयो। एक्लै भ्याउन पनि कठिन भएपछि उनले व्यावसायिक रूपमै अगाडि बढ्ने सोचिन्। घरनजिकै एउटा सटर भाडामा लिइन्। तीन जना महिलालाई चप्पल बनाउन सिकाइन् र काम दिइन्।


अचेल ओसिन खासगरी डिजाइनको काम गर्छिन्। सिउने काम कर्मचारीले गर्छन्। अहिलेसम्म उनको धेरैजसो व्यापार सामाजिक सञ्जालबाटै चलेको छ। बुटवलमा एउटा पसल पनि छ।
हाल उनी ३५ वटा डिजाइनका चप्पल बनाउँछिन्। ग्राहकको चाहना अनुसार 'कस्टमाइज्ड' पनि गर्छिन्।
'हामीले हातैले बनाउने चप्पल डिजाइनदार त हुन्छ नै, लगाउन पनि निकै सजिलो छ। तुलनात्मक रूपमा सस्तो छ। धुन पनि मिल्छ,' उनले भनिन्।
ह्यान्डमेड (सियोना) लेडिज–स्लिपर्सको भाउ ३५० रूपैयाँदेखि एक हजार रूपैयाँसम्म पर्छ।
अहिलेसम्म फ्ल्याट चप्पल मात्र बनाइरहेकी ओसिन अब हिल चप्पल पनि ल्याउने तयारीमा छन्। ग्राहकले धेरै माग गरेकाले यस्तो चप्पल बनाउन लागेको उनले बताइन्।
ओसिनकी सानी छोरी छिन्। उनले आफू र छोरीलाई हेरेर चप्पलको 'मामुछोरी सेट' बनाएकी छन्। भेलभेटको यो 'मामुछोरी सेट' चप्पल धेरैले रूचाएका उनले जानकारी दिइन्।
उनका अनुसार हाल दैनिक २० जोरसम्म चप्पलको अर्डर आउँछ। कहिलेकाहीँ अलि ठूलो संख्यामा पनि अर्डर हुन्छ। धेरैजसो अर्डर बुटवल, दाङ र काठमाडौंबाट आउँछ।
ह्यान्डमेड (सियोना) लेडिज–स्लिपर्सको कारखाना बुटवलको ज्योतिनगरमा छ। एकै डिजाइनको भए दिनमा ५० जोरसम्म उत्पादन हुन्छ। ग्राहकको रोजाइ अनुसार डिजाइन बनाउन भने अलिक बढी समय लाग्छ।
'तालिममा सिकेको सीप उपयोग गरेर थोरै लगानीमा सुरू गरेको व्यवसायबाट निकै खुसी छु,' उनले भनिन्।
अचेल ओसिन आफै चप्पल बनाउने तालिम दिन्छिन्। स्थानीय तहहरूले नै उनलाई बोलाउँछन्। पहिलो व्यावसायिक तालिम ओसिनकै टोलबाट सुरू भएको थियो। उनले तालिम दिएकामध्ये केहीले आफ्नै व्यवसाय सुरू गरेका छन्।
'आजकाल त तालिममा निकै व्यस्त हुन्छु। आफूमा भएको सीप धेरैलाई सिकाउन पाउँदा खुसी लाग्छ,' २९ वर्षीया ओसिनले भनिन्, 'जे गरे पनि हरेक महिला आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ। म धेरैलाई उद्यमी बनाउन चाहन्छु।'
(ह्यान्डमेड (सियोना) लेडिज स्लिपर्सको फेसबुक पेजमा जान यहाँ र इन्स्टाग्राममा जान यहाँ क्लिक गर्नुहोस्।)