नेपाल चेम्बर अफ कमर्सले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ।
भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको हो।
कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयात निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि व्यापार सहजीकरण हुनुपर्ने बताए। उनले भन्सारमा सन्दर्भ मूल्यभन्दा पनि कारोबार मूल्यलाई मान्यता दिन सरकारका प्रतिनिधिहरूलाई आग्रह गरे।
भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाइ छ।
‘भन्सार प्रक्रियालाई सहजीकरण एवं सबै भन्सारहरुमा उच्चस्तरीय क्वारेन्टीन ल्याबको व्यवस्थापन गरिनुपर्दछ,’ मल्लले भने।
व्यापार घाटा न्यूनीकरणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।
राजश्व सचिव रामप्रसाद घिमिरेले अर्थतन्त्रमा पछिल्लो समय सुधारका संकेतहरु देखिन थालेको बताए। व्यापारमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्र तर्फ जानुपर्ने र यसका लागि सहजीकरण गर्ने काम भईरहेको उनको भनाइ छ।
भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ।