उद्योण वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वदेशी मौलिक एवंम रैथाने उत्पादनको प्रवर्द्धनका लागि सरकारले विशेष कदम चालेको बताएका छन्।
शुक्रबार वल्डमार्ट युनिक सोलुसनद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छा घरले आयोजना गरेको उत्पादन तथा परिकार मेलाको (चौरासी व्यञ्जन)अवलोकनको क्रममा मन्त्री रिजालले यस्तो बताएका हुन्।
उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी कानुनलाई फुकाउने प्रयास भइरहेको समेत जानकारी बताए।
मन्त्री रिजालले मौलिक बजार तथा मौलिक भान्छाको अवलोकनको क्रममा यस्ता नयाँ र इनोभेटिभ उद्योग तथा व्यवसायलाई मन्त्रालय आफैं प्रवर्द्धनमा लाग्ने पनि बताए।
'स्वदेशमा बसेर उद्योग व्यवसाय गर्न चाहने युवाहरूका लागि प्राथमिकतामा राखेर मन्त्रालयले नयाँ उद्यमीको लागि लक्षित गरेर स्टार्टअप कार्यक्रम ल्याएका छौं,' मन्त्री रिजालले भने, 'प्याकेजिङमा सुधार गर्दै नेपाली उत्पादनको बजारीकरण आजको आवश्यकता हो।'
मौलिक बजार तथा मौलिक भान्छा घरले नेपाली उत्पादन र बजारीकरणको क्षेत्रमा नयाँपन सुरू गरेको समेत बताए।
अवलोकनको क्रममा मौलिक बजार तथा मौलिक भान्छा घरका सञ्चालक सुमन दाहालले एक स्थानीय तह एक उत्पादन ब्रान्डिङ गर्ने लक्ष्य अनुसार हाल सात प्रदेशको १५ पालिकाबाट सामान संकलन भइ बजारीकरण सुरू भएको जानकारी दिए।
मौलिक बजार मौलिक भान्छाघरले अर्गानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, सबै स्थानीय तहहरूमा खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहालय साथै ७ प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक भान्छाघर सञ्चालन गरिरहेको छ ।
मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकारहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने मौलिक बजार तथा भान्छाघरले यही माघ १ गते देखी ७ गते सम्म दुईहजार भन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य सहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो।
कार्यक्रममा माघे संक्रान्ति तथा ७ प्रदेश विशेष परिकार र ८४ व्यञ्जनका साथै सांस्कृतिक कार्यक्रमको साथमा सातै प्रदेशका स्थानीय पालिकाको उत्पादनको स्टल र ४२ व्यञ्जनको बुफेट समेत रहनेछ।
-