नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले आफ्नो विभिन्न प्रणालीहरूमार्फत् पुस मसान्तको अन्तिम दिनमा ८४ अर्ब रूपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट गरेको छ।
गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशत बढी रहेको कम्पनीको भनाइ छ।
एनसिएचएलका प्रणालीहरूमध्ये एनसिएचएल–इसिसी, एनसीएचएल–आइपिएस र आरपिएसमार्फत् क्रमशः ४१ अर्ब, १४ अर्ब र २९ अर्ब रूपैयाँ बराबरको भुक्तानी कारोबार एक दिनमा फर्छ्यौट भएको हो।
विद्युतीय भुक्तानीको स्वीकार्यतासँगै आरपिएस अन्तर्गत कनेक्ट आइपिएस (वेब, एप तथा गेटवे), कर्पोरेट पे, बैंक शाखाहरू, मोबाइल बैंकिङ, वालेट तथा एनपिआइसँग जोडिएका विभिन्न च्यानलहरूमार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको देखिन्छ।
त्यस्तै, पुस मसान्तको अन्तिम दिनमा एनसिएचएल–आइपिएस र आरपिएसमार्फत् १ अर्ब ६ करोड बराबरको राजस्व संकलन तथा ६ अर्ब ८ करोड बराबरको सरकारी खर्चसम्बन्धी १ लाख २५ हजारभन्दा बढी भुक्तानी कारोबारहरू भएका छन्।
सरकारी भुक्तानीसम्बन्धी कारोबारहरू कनेक्ट आइपिएस, कर्पोरेट पे, नेपाल पे क्युआर गेटवे, बैंक शाखाहरू, मोबाइल बैंकिङ तथा वालेटमार्फत् गर्न सकिने व्यवस्था रहेको छ।
एनसिएचएलका भुक्तानी प्रणालीहरूमा डाइरेक्ट सदस्यको रूपमा ५३ बैंक÷वित्तीय संस्थाहरू तथा इन्डाइरेक्ट/टेक्निकल सदस्यका रूपमा १०० भन्दा बढी गैर–बैंकिङ संस्थाहरू आबद्ध भई प्रयोग गर्दै आएका छन्।
सदस्य बैंक/वित्तीय संस्थाले आफ्ना ७ हजारभन्दा बढी शाखाहरू तथा मोबाइल बैंकिङ प्लेट्फर्ममार्फत् आफ्ना दुई करोडभन्दा बढी ग्राहकहरूलाई यी सेवाहरू प्रदान गर्दै आएका छन्।