पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन्, पदमबहादुर खपाङ्गी। सधैं विदेशी भूमिमा पसिना बगाएरमात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किएका थिए। त्यतिबेला फालेलुङ भएर नेपाल र सिक्किमसँगको सिमानामा पर्ने तीन सिमाना भञ्ज्याङ जाने पर्यटकीय मार्ग पनि कालोपत्र हुँदै गरेको थियो।
तीन सिमानामा हरेक वर्ष चौंरी महोत्सव गाउँपालिकाले आयोजना गर्ने गरेको थियो। महोत्सव हेर्न छिमेकी जिल्ला र सिक्किमबाट समेत पर्यटक आउने गर्दथे। महोत्सवको प्रचारसँगै बर्सेनि पर्यटकको संख्या पनि बढिरहेको थियो। यस भञ्ज्याङबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल र कञ्चनजङ्घा हिमशृंखलाको साथै चौंरी गाईको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यो स्थान पर्यटकको रोजाइमा पर्न थालेको छ।
पदमबहादुर विदेशमा रहँदा उनकी श्रीमती डिनाले गाउँमै सानो किराना पसल सञ्चालन गरेका थिए। यसले घरखर्च चलाउन सजिलो भएको थियो। डिनाले किराना पसलसँगै सदरमुकामबाट पाउरोटी खरिद गरी बेच्ने पनि गर्थिन्। सदरमुकामबाट पाउरोटी ल्याई बिक्री गर्दा ल्याएको समयमा सबै पाउरोटी बिक्री भई नसक्दा मिति सकिने र ५० किलोमिटर टाढा भएकाले फिर्ता पनि नहुने समस्या थियो। यसले कहिलेकाहीँ उल्टै नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्थ्यो।
घर फर्केपछि श्रीमतीले सुरू गरेको किराना पसलले मात्रै ४० वर्षका पदमबहादुरलाई चित्त बुझेन। कुनै व्यवसाय गर्ने विचार उनको मनमा पलायो। मनमनै उनले पाउरोटी उद्योग सञ्चालन गर्ने सोच बनाए पनि सीपको अभावमा अलमलमा परेका थिए।
यतिकैमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलले बेकरीसम्बन्धी छदिने सीप विकास तालिम आयोजना गरेको खबर स्थानीय बुद्धिजीवी सुरेन्द्र अधिकारीबाट थाहा पाए। यस कार्यक्रमले गत वर्षको माघ १५ देखि २० गतेसम्म सदरमुकाम फुङ्लिङमा सञ्चालन गरेको तालिममा सहभागी भए।
तालिमले उनलाई बेकरी उद्योग स्थापना गर्न प्रेरणा मिल्यो। उनको योजनालाई श्रीमतीले पनि समर्थन गरेपछि उनले बेकरी बनाउन आवश्यक मेसिन तथा औजार खरिदको लागि पैसा जोहो गरे।
आफूसँग भएको पैसाले मात्र नपुग्ने भएपछि उनले श्रीमतीका नाममा फालेलुङ गाउँपालिकामा रहेको छिमेक लघुवित्तबाट रु तीन लाख २० हजार ऋण निकाले। तालिम सहजकर्ता ज्ञानबहादुर भारतीको सल्लाह अनुसार काठमाडौं गई करिब रु छ लाख ५० हजारको लगानीमा मध्यम खालको मेसिन र अन्य आवश्यक सामान लिएर गाउँ फर्किए।
मेसिन ल्याएपछि गाउँपालिका, जिल्ला घरेलु कार्यालय पाँचथर र आन्तरिक राजस्व कार्यालय पाँचथरमा नेपाल सरकारको नियमानुसार गत वैशाखमा पाउरोटी उद्योग दर्ता गरी सञ्चालन गरे। तालिम लिएपछि तीन महिना त दर्ता प्रक्रियादेखि सामान खरिद गर्नमा नै समय बित्यो।
उनको उद्योगमा वर्षायामको समयमा दैनिक औसतमा ३५ केजी बराबरको मैदाको पिठोको पाउरोटीका विभिन्न सामग्री उत्पादन हुने गर्दथ्यो।
हिउँदमा भने पाउरोटीको माग घटेका कारण दैनिक २० केजी बराबरको मैदाको पिठोबाट उनले सामग्री उत्पादन गर्दै आएका छन्।
सदरमुकामबाट ल्याएको बासी पाउरोटी खान बाध्य स्थानीय उपभोक्ता र पर्यटकहरू गाउँमै बनेको ताजा पाउरोटी पाउँदा निकै खुसी छन्। उनी खाद्य तथा गुणस्तर नियन्त्रण विभागमा पनि दर्ता गरी गुणस्तरीय उत्पादनको सुनिश्चित गराउने सोचमा छन्।
गाउँमा केन्द्रीय प्रसारण नभए पनि उद्योग सञ्चालन गर्न आवश्यक विद्युत पनि स्थानीय लघुजलविद्युत आयोजनाबाट प्राप्त भएको छ। स्थानीय खेवाथाम खोलाबाट उत्पादित लघुजलविद्युत (४० किलोवाट क्षमता) आयोजनाको बिजुली प्रयोग गरेबापत आफूले आयोजनालाई पनि मासिक रु तीन हजारसम्म विद्युत महसुल बुझाउने गरेको उनको भनाइ छ।
उद्योग सञ्चालन गर्न खपाङ्गी दम्पतीले पूरै समय दिएका छन् भने आवश्यकता अनुसार पदमबहादुरले आफ्नो भाइहरूलाई पनि दैनिक ज्यालादारीमा बोलाउने गर्छन्। स्थानीय माध्यमिक र आधारभूत विद्यालयको वरिपरि रहेका पसलबाट हरेक दिन पाउरोटीलगायत अन्य सामग्रीको माग हुने भएकाले बिहान समयमा पसलपसलमा पुर्याउन एक जना ज्यालादारी कामदार पनि राखेका छन्।
उत्पादन गरेको सबै सामग्री बिक्री भएको देख्दा उनी आफ्नो व्यवसायप्रति सन्तुष्ट छन्। बजार माग धान्नै नसकिने गरी बढेको छ भने स्थानीय उपभोक्ताहरू पनि ताजा र गुणस्तरीय पाउरोटी स्थानीय स्तरमै पाएर दङ्ग छन्। व्यवसाय बढेसँगै व्यवसाय र लेखा व्यवस्थापन गर्न आफूलाई थप सीपको आवश्यकता भएको उनी बताउँछन्।
लेखा व्यवस्थापनको अभावमा यति नै नाफा भयो भनी बताउन नसके पनि छिमेक लघुवित्तको मासिक किस्ता २४ हजार तिरी लगभग रु ३० हजार नाफा भएको छ। व्यवसायलाई अझै बढाउँदै लैजाने सोचमा रहेका पदमबहादुर गाउँपालिकासँग पनि उद्योग व्यवसाय प्रवर्द्धनमा थप सहयोगको अपेक्षा राख्छन्।
हिउँदको समयमा अपेक्षित रूपमा पाउरोटी खपत हुन नसकेपछि खपाङ्गीको परिवारलाई व्यवसाय चलाउन हम्मे परिरहेको छ। गाउँमा सुरू भएको व्यवसाय निरन्तर चलाउन गाउँपालिकासँग उनले सहयोगको अपेक्षा राखेका छन्। गाउँपालिकाबाट सहयोगका लागि केही सहयोग प्राप्त हुन्छ कि भन्ने अपेक्षाले उनले सबै कागजात मिलाएर गाउँपालिकामा गत मङ्सिरमा निवेदन दिएका छन्।
यस वर्ष सहयोगको कार्यक्रम नभएकाले अर्को वर्ष सहयोग उपलब्ध गराउने बचन उनले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूबाट पाएका छन्।