सिजी फुड्स र यशोदा फुड्सले उत्पादन गर्ने चाउचाउको ट्रेडमार्क मिलेपछि उत्पन्न विवादमा उच्च अदालतले अहिलेसम्मका निर्णय यथास्थितिमा राख्न आदेश गरेको छ*।
यशोदा फुड्स प्रालिबाट उत्पादित करेन्ट चाउचाउ र सिजी फुड्सको वाइवाइ चाउचाउको ट्रेडमार्क मिलेपछि वाइवाइले यशोदा फुड्सविरुद्ध उद्योग विभागमा उजुरी गरेको थियो।
वाइवाइले गरेको उजुरीमा दाबी नपुग्ने भन्दै विभागले गत जेठ २९ गते निर्णय गरेको थियो। त्यस्तै, करेन्ट (लोगो) नामक ट्रेडमार्क दर्ता हुने गरी फैसला गरेको थियो। वाइवाइले फैसला चित नबुझेसँगै उच्च अदालतमा समेत पुनरावेदन दायर गरेको थियो।
गत पुस ११ गते न्यायाधीश ध्रुवराज नन्द र बज्ररेश प्याकुरेलको इजलाशले हाललाई यो विषय यथास्थितिमा राख्न अन्तरकालिन आदेश जारी गरेको छ। सिजी फुड्सको दाबी नपुग्ने भन्दै विभागले दिएको निर्णय अन्तिम फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उच्च अदालतले आदेश गरेको हो।
उजुरी नलागेको भन्दै करेन्ट (लोगो) नामक ट्रेडमार्क दर्ता हुने भनेर विभागले दिएको निर्णय समेत कार्यान्वयनमा नलगी यथास्थितिमा राख्न अदालतले गरेको अन्तरकालिन आदेश अनुसार आफ्नो जित भएको वाइवाइले दाबी गरेको छ।
(*सच्याइएकाे)