नेपालको इ–कमर्स ब्राण्ड दराजले बुधबार ‘विक्रेता सम्मेलन’को आयोजना गरेको छ।
ललितपुरको हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा विक्रेताहरू सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीसँग आवद्ध विक्रेताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिवद्धता जनाइन्।
'विक्रेताहरू दराजका मेरुदण्ड हुन्। दराजको रोमाञ्चक यात्रामा अटल सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण विक्रेताहरुमा आभार प्रकट गर्न चाहन्छु। दराज अहिले जहाँ छ, यो स्थानमा पुग्नमा तपाईंहरूको ठूलो हात छ र तपाईहरू बिना यो सम्भव हुँदैन थियो।' कुँवरले भनिन्
हालै सम्पन्न ११.११ सेलको सफल्ताको चर्चा गर्दै उनले थपिन्, 'चाडपर्वको समयमा पर्ने हाम्रो ११.११ सेलमा विक्रेताहरूले दिनुभएको साथको कारणले गर्दा हामी हरेक वर्ष अपेक्षा गरेभन्दा धेरै राम्रो गर्न सफल हुन्छौं र यो भविष्यमा पनि कायम रहनेछ। यसका साथै हामी विक्रेता तथा खरिदकर्ता सबैलाई उत्कृष्ट अनुभव प्रदान गर्दै लजिस्टिक सेवा विस्तार गरेर विश्वस्तरीय सेवा प्रवाह गर्नेछौं।'
कार्यक्रममा विभिन्न श्रव्य दृश्य सामाग्रीहरू प्रस्तुत गरेर विक्रेताहरूलाई बिक्री र व्यवस्थापनको बारेमा जानकारी पनि प्रदान गरिएको थियो।
विक्रेताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अवार्ड समारोह राखिएको थियो। जहाँ गत वर्षका १४ उत्कृष्ट विक्रेताहरूलाई विशेष विधाका ट्रफी, १० हजार रूपैयाँ बराबरको दराज भाउचरका साथै आकर्षक उपहारहरु प्रदान गरिएको थियो।
दराजका परिचालन अधिकृत विमल अर्यालले कार्यत्रममा इ–कमर्सको महत्वको बारेमा चर्चा गरे। उनले उपस्थित सहभागीहरुलाई दराजले डेलिभरी गर्ने स्थानहरु, पूर्वाधार, डेलिभरी क्षमता र गुणस्तरको बारेमा विस्तृत जानकारी प्रदान गरेका थिए।
सम्मेलनमा बोल्दै दराजका व्यवसाय निर्देशक प्रबिन रुक्शानले दराजले नेपालका साना तथा मझौला उद्योगहरुको विकाशमा गरेको योगदानको बारेमा चर्चा गरे।
त्यसैगरी कार्यक्रमका उद्घोषक श्रिजल रुपाखेतीले कार्यक्रममा आएका सबै प्रमुख अतिथि, वक्ता, विक्रेता र साझेदारहरूलाई आयोजकको तर्फबाट आभार व्यक्त गरेका थिए।