उद्योग विभागले कच्चा पदार्थका रूपमा चिनी प्रयोग गर्ने उद्योगहरूले चिनी आयातका लागि आवेदन दिने सक्ने बताएको छ।
बिहीबार एक सूचना जारी गर्दै विभागले उद्योगलाई आवश्यक पर्ने चिनी आयातका लागि एक साताभित्र आवेदन दिन आग्रह गरेको हो।
नेपाल सरकारको अनुरोध बमोजिम भारतबाट नेपाललाई कोटा अन्तर्गत २५ हजार मेट्रिक टन चिनी प्राप्त हुने भएको छ।
सो परिमाणमध्ये कच्चा पदार्थको रूपमा प्रयोग गर्ने उद्योगहरूले आफूलाई आवश्यक पर्ने चिनी आयातका लागि विभागका आवेदन दिनु पर्नेछ।
आवेदन दिँदा उद्योगको नाम, ठेगाना, सम्पर्क नम्बर, दर्ता नम्बर, दर्ता भएको निकाय र दर्ता मिति, उद्योगको वार्षिक खपत परिमाण, गत वर्षको खपत परिमाण, कोटा अन्तर्गत आयात गर्न इच्छुक परिमाण र हाल उद्योग सञ्चालनमा रहेको वा नरहेको अवस्था उल्लेख गर्नुपर्ने विभागले बताएको छ।
सूचनामा उल्लेख भएअनुसार आवेदन विभागको इमेलमार्फत् वा भौतिक रूपमा विभागमा गएर दिन सकिनेछ।
चिनी आयात गर्दा उद्योगीले न्यूनतम परिमाण दुई हजार ६ सय मेट्रिक टन गर्नुपर्ने सूचनामा उल्लेख छ।