उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
मन्त्री रिजालले मंगलबार मन्त्रालयमा सचिव, सहचिव, महानिर्देशक तथा मातहतका विभिन्न सार्वजनिक निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।
आर्थिक वर्ष २०८०–८१ को मंसिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो।
देश विकास र जनताको काम गर्न कसैले पनि 'तर, पनि, यदी' जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो।
'कानुन विपरीत जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्', मन्त्री रिजालले भने, 'आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी इमान्दारीका साथ काम गर्नुहोस्, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस्।'
देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रह गरे।
यो समयमा अपेक्षित काम हुन नसकेको भन्दै मन्त्री रिजालले भने 'तपाईंहरूको कामबाट म खुसी छैन, इमान्दारीका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस्। विश्वासका साथ सबैलाई जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी पूरा गर्नुस्।'
ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरूपण गर्नेतर्फ आफ्नो ध्यान जाने भन्दै हअब कहीं पनि ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे।
आर्थिक वर्ष २०८०–८१ को मंसिर महिनासम्मको खर्चमा चालुतर्फ ३१.०२ प्रतिशत अर्थात् १ अर्ब ५० करोड ३२ लाख रूपैयाँ, पुँजीगत तर्फ ३.०६ प्रतिशत अर्थात् १० करोड १० लाख रुपैयाँ गरी कुल १९.७१ प्रतिशत अर्थात् १ अर्ब ६० करोड ४२ लाख रूपैयाँ खर्च भएको छ।