सरकारी स्वामित्वमा रहेका उदयपुर र हेटौंडा सिमेन्ट पूर्ण क्षमतामा चल्न सकेका छैनन्। यी उद्योग कहिले चल्छन् त कहिले बन्द हुन्छन्।
हेटौंडा सिमेन्ट उद्योग दुई महिनादेखि बन्द छ।
यो उद्योग चलाउन सरकारले थप लगानी गर्नुपर्ने उद्योगका महाप्रबन्धक बसन्त कुमार पाण्डेले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बताएका छन्।
हेटौंडा सिमेन्ट उद्योग पुरानो भएकाले आधुनिक उद्योगसँग प्रतिष्पर्धा गर्न नसकेको उनको भनाइ छ।
'हाम्रो उद्योग एकदमै पुरानो छ, नयाँ उद्योगसँग प्रतिष्पर्धा गर्नसक्ने अवस्था छैन,' पाण्डेले भने।
उनका अनुसार यसमा प्रयोग भएका मेसिन समय क्रमअनुसार परिवर्तन गर्नुपर्छ। त्यसका लागि सरकारले खर्च गर्नुपर्ने उनको भनाइ छ।
'अहिले सरकारले लगानी गर्ने हो भने त्यो पैसा तीन चार वर्षमै फिर्ता गर्न सकिन्छ,' उनले भने।
उद्योगमा थप लगानी गर्नुका साथै उद्योग सञ्चालन गर्ने मोडालिटी पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
अहिले उदयपुरमा २५ देखि ३० करोड खर्च गर्ने हो भने १० अर्ब बराबरको सम्पत्ति जोगाउन सकिने उदयपुर सिमेन्ट सञ्चालक समितिका अध्यक्ष केशव कुमार बस्नेतले बताए।
'उद्योग पुरानो ढाँचाको छ, अत्याधुनिक मेसिन जडान गर्नुपर्छ,' उनले भने, 'पुरानो मेसिनमा उद्योग चलाउँदा हामीलाई झन् घाटा भइरहेको छ।'
उद्योगको अवस्था निरीक्षण गर्न आजै अर्थमन्त्री उदयपुर गएको समेत उनले जानकारी दिए।
'उद्योग निरीक्षण गर्न अर्थमन्त्री ज्यू जाँदै हुनुहुन्छ,' उनले भने, 'केही सकारात्मक प्रतिक्रिया आउँछ।'
बैठकमा सांसद रमा कोइरालाले सरकारले चलाएका उद्योग कसरी धरासायी बन्न पुग्यो? यसको जवाफ मन्त्री, सचिव र उद्योग सञ्चालकले दिनुपर्ने बताइन्।
'मैले घर बनाउने बेला हेटौंडा सिमेन्ट लिन लाइन लाग्नु पर्थ्यो। त्यस्तो उद्योग अहिले कसरी धरासायी बन्यो,' उनले भनिन्, 'यसको जवाफ मन्त्री, सचिव र उद्योग सञ्चालकले दिनुपर्छ।'
उद्योगलाई समयक्रम अनुसार अपडेट गर्नुपर्ने जिम्मा उद्योग सञ्चालककै रहने उनले बताइन्।
'उत्पादन गर्ने बेच्ने भएपछि त्यसलाई पुनर्संरचना गर्ने काम पनि उद्योगकै हुन्छ,' उनले भने।