नेपालको मदिरा उत्पादक कम्पनी 'दि नेपाल डिस्टिलरिज'ले ४० युपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ।
कम्पनीले आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै उक्त मदिरा बजारमा ल्याउने बताएको छ।
४० युपीको मदिरामा एबिभी ९अल्कोहलको मात्रा० ३४.२३ प्रतिशत रहेको हुन्छ। यस्तो उत्पादनको अन्तशुल्क २५ वा ३० युपीको तुलनामा निकै नै कम भएका कारण पछिल्लो समय यसतर्फ उत्पादकहरुको आकर्षण छ।
अन्तशुल्क कम भएकै कारण यो सेगमेन्टको मदिराको मूल्य पनि उपभोक्ता मैत्री छ।
यो सेगमेन्टमा बलियो उपस्थिति जनाउने प्रतिबद्धतासहित प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए।
'नेपाली मदिरा बजारमा ४० युपी सेगमेन्टमा प्रिमियम मदिराको माग धेरै छ। त्यसैले एकदमै उचित मूल्यमा आफ्ना उपभोक्ताहरूलाई कसरी प्रिमियम मदिरा उपलब्ध गराउन सकिन्छ भनेर हामीले बजारको पर्याप्त अध्ययन गरेका छौं,' लामिछानेले भने।
'दुई वर्षभन्दा बढी समयसम्म गरिएको अध्ययन र उपभोक्ताहरूको प्रतिक्रियालाई आधार मानेर चाँडै ४० युपी सेगमेन्टको ह्विस्की फ्लेभर र रम फ्लेभरको प्रिमियम मदिरा बजारमा ल्याउने घोषणा गर्दछौं,' उनले थपे।
नेपाल डिस्टिलरिजले मुख्य रुपमा २५ र ३० युपीको मदिरा उत्पादन गर्दै आइरहेको छ। कम्पनीको पोर्टफोलियोमा आफ्ना उत्कृष्ट उत्पादनहरू खुकुरी रम र न्युड सुपेरियर भोड्का समावेश छन्।
लोकप्रिय ब्राण्ड 'खुकुरी रम' नेपालबाट विभिन्न देशमा सबैभन्दा बढी निर्यात हुने मदिराजन्य उत्पादन हो। यसले लामो समयदेखि विदेशी मुद्रा आर्जनमा समेत टेवा पुर्याउँदै आएको कम्पनीको भनाइ छ।