लगातारको ताकेतापछि नवलपरासीका उखु किसानले अनुदान बापतको रकम पाएका छन्।
विगतमा सरकारले दिनुपर्ने रकम समेत समयमा नपाएपछि उनीहरूले सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए। स्थानीयले त्यसक्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरी समक्ष समयमा यस्तो रकम उपलब्ध गराइिदन ध्यानाकर्षण गराएका थिए।
किसान र जनप्रतिनिधिले ताकेता गरेपछि यसपटक पश्चिम नवलपरासीका किसानहरूले समयमै अनुदान पाएका छन्।
उनले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई निरन्तर ताकेता गर्दै आएका थिए।
नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार 'सन्तु'ले सांसद विनोद चौधरीको पहलका कारण किसानले अनुदान वापतको रकम पाएको बताए।
कृषि मन्त्रालयले कृषि विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख १५ हजार ५५८ रूपैयाँ अनुदान रकम वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासीले जनाएको छ।
'दसैं अगाडि नै कृषि विभागबाट १५ करोड रूपैयाँको अख्तियारी आएको हो। त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर डकुमेण्ट रुजु गरेर वितरण सुरू गरिसकेका छौं,' जिल्ला कोलेनिका प्रमुख परशुराम नेपालले भने।
उनका अनुसार पश्चिम नवलपरासीमा ६ हजार १९४ किसानका लागि अनुदान रकम आएको हो।
कृषि मन्त्रालयले आर्थिक बर्ष ०७९/८० का लागि अनुदान रकम प्रतिक्विन्टर ७० रूपैयाँ तोकेको छ। सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकम वितरण गरिएको हो।
चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले उल्लेख गरे। 'उखु किसानलाई दिने रकम निकासा भइसकेको छ। उनीहरूको बैंकिङ खातामा रकम निकासा गरेका छौं,' उनले भने ।
उखुबापतको अनुदान रकम पाएपछि किसान खुसी छन्। उनीहरूले जनप्रतिनिधिले ताकेता गरिदिएको कारण आफूहरूलाई अनुदान पाउनको लागि सहज भएको बताएका छन्।