वौदिका इंक प्रालि अन्तर्गत सञ्चालित जिम्बु थकाली गत वर्षको उत्कृष्ट करदाताको सूचीमा समेटिएको छ।
आन्तरिक राजस्व विभागको टंगाल कार्यक्षेत्रमा सबैभन्दा बढी कर जिम्बु थकालीले तिरेको हो।
१२औं कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको छ।
आन्तरिक राजस्व कार्यालय टंगालकी कर अधिकृत कमला खरेलले सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै जिम्बु थकालीलाई सम्मान गरेकी हुन्। जिम्बु थकालीको तर्फबाट प्रभा शेरचनले सम्मान लिएका छन्।
वौदिका इंक प्रालि अन्तर्गत जिम्बु थकाली ब्रान्डका ३ वटा रेस्टुरेन्ट सञ्चालनमा छन्। टंगाल, झम्सिखेल र बानेश्वरमा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ। हाल सञ्चालनमा रहेका ३ वटा रेस्टुरेन्टमा १४० जनाले रोजगारी पाइरहेका छन्।
आन्तरिक राजस्व विभागले केन्द्रमा विभिन्न १६ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको थियो। त्यस्तै विभाग अन्तर्गतका कार्यालयहरूले सम्बन्धित क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने एक/एक करदातालाई सम्मान गरेका छन्।
यसले करदाताको मनोबल बढाउन सहयोग पुग्ने व्यवसायीहरूले बताएका छन्।