वीरगन्जमा मधेस प्रदेशकै पहिलो सुविधा सम्पन्न मल सञ्चालनमा आएको छ। वीरगन्जको आदर्शनगरमा 'स्काइलाइन' नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो।
वीरगन्जका नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्ब रूपैयाँ लगानीमा निर्मित मलमा मधेस प्रदेशकै पहिलो र एक मात्र मल्टिप्लेक्स सिनेमा हल पनि सञ्चालनमा आएको हो।
मलले क्युएफएक्ससँगको सहकार्यमा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएको हो।
बिहीबार एक समारोहबीच जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले उक्त मल उद्घाटन गरेका हुन्।
'वीरगन्ज औद्योगिक करिडोर त हो तर यहाँ परिवारसहित मनोरञ्जन गर्ने ठाउँ थिएन। यो मल प्रदेशकै सौगात हो। वीरगन्जवासी निकै उत्साहित भएका छन्,' उद्घाटन गर्दै सांसद यादवले भने।
काठमाडौं, पोखरा लगायत देशका अधिकांश ठूला सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगञ्जको 'स्काइलाइन मल' मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो।
सञ्चालकका अनुसार मलमा भारतमा चार सयभन्दा बढी ठाउँमा स्थापित होटल चेन 'सरोभर पोर्टी' पनि सञ्चालनमा आउन लागेको छ। सरोभरले वीरगन्ज र आसपासका वासिन्दालाई अन्तर्राष्ट्रिय स्तरको सेवाको मौका दिने मल सञ्चालकहरूको भनाइ छ।
दसतले मलमा पसलहरूसहित भोज तथा कार्यक्रम आयोजना गर्न बैंक्वेट हल, क्यासिनो, स्विमिङ पुल, रूफटप रेस्टुरेन्ट लगायत सुविधा छ। हालका लागि आंशिक रूपमा सञ्चालित मल केही समयभित्रै पूर्ण रूपमा खुल्ने सञ्चालकले बताएका छन्।
बिहीबारदेखि मलमा रहेको क्युएफएक्स सिनेमा हल भने सञ्चालनमा आउन लागेको छ। भारतीय फिल्म 'जवान' देखाएर सुरूआत हुन लागेको हलमा तीन वटा छुट्टाछुट्टै अडिटोरियम स्क्रिन छन्। यहाँ एकैपटकमा तीन वटासम्म फिल्म देखाउन सकिने सञ्चालक सदस्य आकृति अग्रवालले जानकारी दिइन्। कुल तीन सय ८२ सिट रहेको हलका दुइटा अडिटोरियममा रिक्लाइनर सिट पनि छ।
दर्शकले क्युएफएक्स वीरगन्जमा टिकट बुक गर्न क्युएफएक्सको आधिकारिक एप, वेबसाइट प्रयोग गर्न सक्ने छन्। 'खल्ती वालेट' बाट पनि टिकट बुकिङ सुविधा छ । त्यस्तै मलकै पहिलो तलामा रहेको बक्स-अफिस काउन्टरबाट पनि टिकट बुकिङ गर्न सकिन्छ।
मल सञ्चालनमा आएसँगै कोभिडका कारण सुस्ताएको वीरगन्ज बजारमा आर्थिक गतिविधि चलायमान हुने अग्रवालले विश्वास व्यक्त गरिन्। आर्थिक नगरी वीरगन्जमा अरू सुविधा भए पनि मल नहुँदा बासिन्दाले खल्लो महसुस गरिरहेकाले उनीहरूकै मागअनुसार मल सञ्चालनमा ल्याइएको उनले बताइन्।