सरकारले भारतबाट चिनी ल्याउने भएको छ। जिटुजीमार्फत् २५ हजार टन चिनी ल्याउने भएको हो।
सो परिमाणको चिनी तिहारअघि नै आइपुग्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए।
'तिहारलाई लक्षित गरेर चिनी ल्याउन लागिएको हो। एक हप्ताभित्रै आइपुग्छ,' उनले भने।
उनका अनुसार सरकारी स्वामित्वका साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी ल्याउँछन्। चिनी बजारमा कसरी पठाउने भन्ने विषयमा भने छलफल भइरहेको छ।
'सुपथ मूल्यमा त बेच्छौं नै, त्यो बाहेक खुद्रा पसलमा कसरी दिने भन्ने विषयमा छलफल भइरहेको छ,' उनले भने।
बजारमा चिनी अभाव भएपछि भारत सरकारसँग जिटुजीमार्फत् ५० हजार टन चिनी दिन अनुरोध गरेको थियो।
विभागका अनुसार अहिले भारत सरकार २५ हजार टन चिनी दिन राजी भएको छ।